लिदीका पहिरो पीडित ४१ ले पाए जग्गाधनी पुर्जा

दिनेश दुलाल
माघ १७, चौतारा । सिन्धुपाल्चोकको लिदीका पहिरो पीडित ४१ परिवारले जग्गा धनी पूर्जा (लालपूर्जा) प्राप्त गरेका छन् । ३० साउन ०७७ मा आएको पहिरोमा परी विस्थापित भएका परिवारलाई आज एक कार्यक्रमका बीच प्रतिनिधिसभा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुवोध’ ले पीडितलाई जग्गाधनी पुर्जा प्रदान गरेका हुन् । जुगल गाउँपालिकाद्वारा चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४ देउरालीमा जग्गा व्यवस्थापन गरी लिदिका ४१ परिवारलाई देउरालीमै बोलाएर वितरण गरिएको हो ।

लिदि पहिराे पीडितलाई जग्गाधनी पुर्जा वितरण गर्दै सिन्धुपाल्चाेक प्रतिनिधसभा निर्वाचन क्षेत्र नम्बर १ का माधव सापकाेटा

पहिरो पीडितलाई पुर्जा हस्तान्तरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सांसद माधव सापकोटा ‘सुवोध’ ले पहिरो पीडितलाई जग्गा प्राप्ती भएपनि बस्ती विकास गरेर आय आर्जन कसरी गर्न सकिन्छ भनेर योजना बनाउन पर्ने धारणा राखे । तीन तहका सरकारले पीडितहरुको लागि जग्गा किन्न ३ लाख प्राप्त गरी घरबनाउन ५ लाख सुनिशचित भएको बताउँदै सांसद सापकोटाले पीडितहरुलाई एक्ला एक्लै घर बनाउने भन्दा पनि बास्तुकला तथा संस्कृति झल्कनेगरी एकीकृत नमुना बस्ती निमार्णा गर्न सुझाब दिए । घर पूर्ण नआई पैसा नआउने बताउँदै सांसद सापकोटाले भने, ‘हतार गरेर एउटा टहरो मात्रै हाल्ने काम नगर्नुहोस ।’ भैंसी पालन तथा गलैचा लगाएत आयआर्जनका काममा ४१ घरधुरी नै लाग्नुपर्ने उनको जोड थियो ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले आफूहरू लिदी पहिरो पीडितको लागि बिगत देखिनै लागि परेको बताउँदै तीनवटै सरकारले पैसा हालेर जग्गा किन्न तथा घर बनाउन स्रोत सुनिश्चिता गर्न सकिएको बताए । उनका अनुसार पहिरो पीडितहरुको जग्गा तथा आवासको लागि संघले ६०, प्रदेशले ३० र जुगल गाउँपालिकाले १० प्रतिशत छुट्याएको हो । बस्तीको अन्य पूर्वाधारको लागि गाउँपालिकाले चौतारा साँगाचोकगढी नगरपालिकासंग समन्वय गरेर पुरा गर्ने समेत प्रतिवद्वता जनाए । उनका अनुसार लिदी पहिरो पूर्ण विस्थापित २ सय ९ रहेकोमा बाँस खर्कमा ६८, चनौटेमा २७ रहेका छन् ।

अध्यक्ष स्याङबोका अनुसार स्थानीय सरकारले पीडितहरुको जग्गा तथा आवासको लागि १० प्रतिशत छुट्याउँदा ८० हजारको दरले ४ करोड भन्दा माथि हुन्छ । त्यति ठूलो रकम पालिकाले मात्रै उपलब्ध गराउन पालिकालाई प्राप्त भएको बजेटले सम्भव नहुने बताए । उनका अनुसार लिदीका अझै ७३ पहिरो विस्थापित छन् ।

स्मरण रहोस सेनाको २६ नम्बर बाहिनीले निर्माण गरेको उक्त आवासको अघिल्लो भदौमा बाहिनीपति सहायक रथी विष्णु राउतले ३१ अस्थायी आवास भवन, सात शौचालय, एक बाथरुम, एक क्यान्टिन र एक स्वास्थ्य चौकीको भवन जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।

उक्त पहिरोमा परी जुगल गाउँका ३९ जनाको मृत्यु हुनुका साथै २८ घरपरिवार पूर्ण रूपमा विस्थापित भएका थिए । सोमबार भएको जग्गाधनी पुर्जा वितरण कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा, पूर्व मेयर अमानसिं तामाङ लगाएत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरु सहभागी भएका थिए । पुर्जा पाएसंगै लिदी पहिरो पीडित भने निकै खुशी देखिएका छन् । आफूहरुलाई जग्गा तथा आवास निर्माण गरिदिएसंगै स्थानीय सरकारले आय आर्जनको व्यवस्था गरिदिनु पर्ने जग्गाधनी पुर्जा प्राप्त गरेका पीडित ज्ञानबहादुर दोङले सिन्धुज्वालाई बताए । उनका अनुसार उक्त जग्गा प्राप्त हुनुमा तत्कालिन वडा अध्यक्ष प्रतापसिं लामाको भूमिका अग्रस्थान रहेको छ ।