ज्ञानमन्दिर माविको ४७ औं वार्षिकोत्सव, दर्जनौंलाई सम्मान, विद्यार्थीद्वारा शैक्षिक पर्दशनी

दिनेश दुलाल
पौष ६, चौतारा (सिन्धुपाल्चोक) । चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौर स्थित ज्ञानमन्दिर माध्यामिक विद्यायलले आफ्नो ४७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षिकोत्सव, २७ औं अभिभावक सम्मेलन तथा भूपु विद्यार्थी पुर्नमिलन समारोह समेत रहेको ज्ञानमन्दिरको उक्त कार्यक्रमको पूर्व सामाजिक विकासमन्त्री एवम २ नम्बर क्षेत्र प्रदेश (क) का सांसद युवराज दुलालले उद्घाटन गरेका हुन् ।

उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै सांसद दुलालले मुलुकमा शैक्षिक परिवर्तन गर्नको लागि ठूलो चुनौति रहेको बताएका छन् ।
मुलुक बदल्न शैक्षिक जनशक्ति आवश्यक रहेपनि गुणस्तर शैक्षिक जनशक्ति उत्पादन हुन नसकेको टिप्पणी गरे । जनताको विश्वासको मतलाई वास्तविक काममा लगाउने अठोट गरेका दुलालले खादा र सम्मानमा भन्दा विकासका कामहरू तथा जनसेवाका काममा निरन्तर समय खर्चिने प्रतिवद्वता जनाए । आफ्नै पहलमा आहालडाँडामा झण्डै २ सय रोपनी जग्गा विद्यालयको नाममा गराई एक अर्ब ३० करोड लगानीमा बहुबर्षीय आयोजनाको रुपमा बहुप्राविधिक धारको आवशीय विद्यालय निर्माणको प्रक्रियामा रहेको उनले जानकारी दिए ।

त्यस्तै चौतारा अस्ताललाई ५० शैयाको सेकेन्डरी अस्पताल तथा टुडिखेल रंगशाला निर्माणको चरणमा रहेको समेत उनले सुनाए । जनताले सोचेको भन्दा फरक ढंगले देशको राजनीतिक घटनाक्रम भईरहेको उल्लेख गर्दै जनताको सेवा गर्ने कुरामा कुनै असर नगर्ने उनले जिकिर गरे । अर्को एक प्रसंगमा सांसद दुलालले जनताको जीवनस्तर सुदृढ गर्न ठूलो चुनौति भएको उल्लेख गर्दै पछिल्लो समय मुलुकमा आर्थिक रुपमा ठूलो संकट आएको बताए ।

कार्यक्रममा विशेष अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा, उपमेयर सीता थापा, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख कृष्णप्रसाद सुवेदी, विभिन्न राजनैतिक दलका प्रतिनिधि तथा शिक्षामा सरोकार राख्ने विभिन्न व्यक्तित्वहरुले विद्यालयको वार्षिक उत्सव कार्यक्रमको शुभकामना दिएका थिए ।

विद्यालयकाे वार्षिक उत्सव कार्यक्रमको अवसरमा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने एकदर्जन भन्दा बढी व्यक्तित्वहरुलाई सम्मान गरेको छ । त्यस्तै भर्खरै सम्पन्न निर्वाचनबाट प्रदेश सांसद निर्वाचित भएका युवराज दुलालाई समेत विद्यालयबाट सम्मानित भएका छन् ।
वार्षिक उत्सव कार्यक्रमको अवसरमा ज्ञानमन्दिरका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुती सहित आफूले निर्माण गरेको विभिन्न प्रयोगशाला तथा शैक्षिक प्रर्दशनी गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण दंगालको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रममा विद्यालयका प्रध्यानध्यापक पुन्यप्रसाद गजुरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबीच सोही कार्यक्रमको अवसरमा विद्यालयकी भूतपूर्व विद्यार्थी तथा जिपी फाउण्डेसन सिन्धुपाल्चोककी संयोजक रीता दुललाले ज्ञानमन्दिरमा अध्यायनरत साना बालबालिकाहरुलाई जोडोको न्यानो कपडा तथा शैक्षिक सामाग्री हस्तान्तरण गरिन । जिपी फाउण्डेसन साईप्रसको पूर्व अध्यक्ष समेत रहेकी रीताले जिल्लाका थुप्रै ठाउँहरुमा विभिन्न सहयोग गर्दै आएकी छिन् । ज्ञानमन्दिर विद्यालयका ३५ बालबालिकाहरुको लागि न्यानो कपडा वितरण गरेको उनले जानकारी दिईन ।