माओवादी केन्द्रलाई छपक्कै लाग्यो स्थानीय चुनाव, गाउँ गाउँमा कार्यकर्ता संगठित गर्ने अभियान

फागुन २९, चौतारा (सिन्धुपाल्चोक) । बैशाख ३० गते हुने स्थानीय तहको चुनाव नजिकै गर्दा राजनैतिक दलहरु चुनाव केन्द्रित कार्यक्रममा होमिएका छन् ।
२०७४ सालको स्थानीय तहको चुनावमा तेस्रो बनेको माओवादी केन्द्रले २०६४ सालको झल्को दिनेगरी गाउँ गाउँमा संगठन विस्तारलाई तिब्रता दिएको छ ।

सोही अनुसार शनिबार नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका–६ कार्यकर्तालाई भेला तथा प्रशिक्षण मार्फत संगठित गरेको छ । विभिन्न समितिको सपथ ग्रहण तथा स्थानीय चुनाव विशेष राजनीतिक प्रशिक्षण कार्यक्रमको उदघाटन पूर्व सामाजिक विकासमन्त्री तथा प्रदेश (ख) का सांसद युवराज दुलालले गरेका थिए ।

पिपलडाँडा, गौराती तथा गिदानेबाट भेला भएका संयौं स्थानीयलाई सांसद दुलाल लगाएत जिल्लाका नेताहरुले प्रशिक्षित गरेका थिए । स्थानीय कार्यकर्तालाई चुनाब बारे प्रशिक्षित गर्दै पूर्व सामाजिक विकासमन्त्री युवराज दुलालले माओवादी केन्द्रले २०६४ साल बिउँताउने उद्घोष गरे । २०६४ सालमा माओवादी केन्द्रलाई जसरी जनताले फस्ट पार्टी बनाएका थिए, त्यहि अबस्था अब २०७९ सालमा हुन्छ’, केन्द्रीय सदस्य समेत रहेका दुलालले भने ।
माओवादी केन्द्रले गठबन्धनलाई निरन्तरता दिन चाहेको यदि त्यस्तो हुन नसके एकल लडेपनि यस पटक सिन्धुपाल्चोकका अधिकांश स्थानीय तह माओवादी केन्द्रले जित्ने उनले दावी गरे ।
शनिबार शहिद स्मृति प्रतिष्ठानको भवनमा गरिएको उक्त कार्यक्रममा ६ नम्बर वडाका विभिन्न समितिहरुमा रहेकाहरुलाई नेता दुलालले सपथ खुवाएका थिए ।