बस दुर्घटना परेकालाई बाह्रबिसे नगरपालिकाद्वारा पाँचलाख र ईन्द्रावतीद्वारा जनही २५ हजार दिने घोषणा

दिनेश दुलाल
सिन्धुपाल्चोक । जिल्लाको भोटसिपामा शुक्रबार भएको बस दुर्घटना परेकालाई बाह्रबिसे नगरपालिकाले पाँचलाख दिने घोषणा गरेको छ ।
नगरपालिकाको बस दुर्घटना परी ज्यान गुमाएका परिवार तथा गम्भिर घाईतेहरुलाई उक्त सहयोग गर्ने घोषणा गरेको हो ।
दुर्घटानमा परी ज्यान गुमाएका परिवार तथा घाईतेहरुलाई मानवीय नाताले नगरपालिकाद्वारा सहयोग गरिएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । ’यस्तो दुःखद् घडीमा मृतकका परिवारलाई केही राहत होस भनेर हामीले नगरपालिकाबकाट पाँचलाख दिने निर्णय गरेका छौं‘, नगरप्रमुख निमफुञ्जो शेर्पाले भन्नुभयो । केही दिन भित्रै बस दुर्घटनामा परेका परिवारलाई भेटेर उक्त राहात उपलब्ध गराईने उहाँले जानकारी दिनुभयो ।
जिल्लाको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा ११ जनाले ज्यान गुमाएका थिए ।
दशैँ मनाउन गाउँ गएका यात्री राजधानी फर्कने क्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो । बा २ ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो ।

केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ । बसमा एकसय भन्दा माथि यात्री चढेका थिए । ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । बस दुर्घटनाको उद्धारका लागि समाजिक विकासमन्त्री युवराज दुलाल, ईन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, सबै सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि लगाएत स्थानीयवासीको सहयोगमा उद्वार गरिएको थियो ।
यसैबीच उक्त दुर्घटानमा परि ज्यान गुमाएका परिवारलाई जनही २५ हजारका दरले सहयोग गरिने गाउँपालिकाले घोषणा गरेको छ । गाउँपालिकाले मृतका परिवारलाई उक्त सहयोग गर्ने निर्णय गरिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो । घाइतेहरुको उपचारका लागि गाँउपालिकाको तर्फबाट सहयोगमा कुनै कमी हुन नदिने अध्यक्ष तामाङले बताउनुभयो ।
घाईतेहरुको धुलिखल अस्पतालमा ६६, शिर मेमोरियल अस्पतालमा १६, ट्रमा सेन्टरमा १५, केएमसिमा ९ र नोबेल अस्पतालमा दुई गरी जम्मा १०० जनाको उपचार गरिएको हेलम्बु यातायात प्रालिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो । जसमध्ये आधी भन्दा बढीको उपचार पछि घर फर्किएको उनले जानकारी दिए ।