‘संगठानात्मक अराजकताले पार्टीको आन्तरिक जीवनलाई कमजोर बनायो’–बोहोरा
दिनेश दुलाल
पुष २३, बाह्रबिसे (सिन्धुपाल्चोक) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सल्लाकार समितिका संयोजक अमृत कुमार बोहोराले पार्टीभित्र देखिएको संगठानात्मक अरजकताले पार्टीको आन्तरिक जीवनलाई कमजोेर बनाएको बताएका छन् ।
नेकपा(एमाले) सिन्धुपाल्चोकको नवौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा नेता बोहोराले उक्त भनाई राखेका हुन् । पार्टीभित्र व्यक्तिवादी प्रवृति, अहंता र अवसरवादी प्रवृति मौलाएको स्विकार्दै नेता बोहोराले भने– ‘पार्टीको आन्तरिक जीवनलाई कमजोर बनाउने संगठानात्मक अराजकताले हो ।’ बाह्रबिसेमा शुक्रबार भएको पार्टीको नवौं अधिवेशनको उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै सल्लाकार संयोजक बोहोराले पार्टीभित्र नेताको फेरो समात्ने समात्नेहरुको बाहुल्यता बढेको भन्दै त्यसको अन्त्य गर्नु पर्नेमा जोड दिए । पार्टी भित्र इमान्दार, त्याग र समपर्ण गर्नेहरु पाखा लाग्दै गएको प्रति चिन्ता जाहेर गर्दै नेता बोहोराले भने ‘अब नेताहरुलाई खुशी पार्नेलाई होईन राजनैतिक उद्देश्य, विचार र पार्टी संगठनको मुल मर्म अनुसार चल्नेलाई जिम्मेवारी दिनुपर्ने धारणा राखे ।
विगतमा पार्टी भित्रको गुटबन्दीले पार्टी भित्र ठूलो क्षति पु¥याएको स्मरण गराउँदै नेता बोहोराले नेताहरु स्वयम निर्मम बनेर जनता र कार्यकर्ता बीचमा आत्मआलोचित हुनपर्ने धारणा राखे ।
कार्यक्रममा नेता बोहोराले पार्टी केन्द्रको दशौं माहाधिवेशनले पारित गरेका महत्वपूर्ण विचार तथा योजनाहरुलाई आत्मासात गर्न आग्रह गरे । एमालेले लिएको समाजवादको आधार तयार पार्ने योजना र बहुदलीय जनवादका अवधारणाहरुलाई व्यवहारिक कार्यान्वयन गर्न आवश्यक रहेको औंल्याए ।
अधिवेशनलाई पार्टीका स्थायी कमिटि सदस्य तथा पूर्व कानुनमन्त्री शेरबाहदुर तामाङ, बागमति प्रदेश सहईन्चार्ज अरुण नेपाल, केन्द्रीय सदस्यद्वोय दावा तामाङ तथा सरेश नेपाल लगाएतले सम्बोधन गरेका थिए ।
शुक्रबार हुने अधिवेशनको उद्घाटन सत्र सकेर बन्दसत्र पछि मात्रै पदाधिकारी तथा सदस्यहरुको मनोनयन दर्ता प्रक्रिया सुरु हुने जनाईए कार्यक्रम लम्बिने भएको छ । शुक्रबार उदघाटन सत्र सकेर अन्त्य गरेको एमालेले पदाधिकारीको लागि २५ गते मात्रै नविनेशन दर्ता गर्ने भएको छ । सके सहमति नसके पालिका स्तरीय चुनावी प्रक्रियाबाट कमिटि छनौट गरिने सो पार्टीको निर्वाचन कमिटिले जानकारी दिएको छ ।
चारजनाको जिल्ला अध्यक्षमा दावी परेसंगै एमालेमा जिल्ला नेतृत्व सहज रुपमा छान्न मुश्किल पर्ने विश्लेषकहरु बताउँछन् । सिन्धुपाल्चोकमा एमाले सहमतिमा नभई चुनावी प्रक्रियामा जान सक्ने आकलन गरिएको छ । हाल चर्चामा रहेका जिल्ला अध्यक्षका आकांक्षीहरु तीनजना गाउँपालिका अध्यक्ष र एकजना जिल्ला पार्टीका सहसंयोजक समेत छन् । एमाले पार्टीका पुराना नेताका रुपमा रहेका कमल नेपाल, केदार क्षेत्री र होमनारायण श्रेष्ठ गाउँपालिका अध्यक्ष हुन् भने बालकृष्ण देउजा पार्टीको जिल्ला सहसंयोजक हुन् ।
जिल्ला पार्टीको सचिव भईसकेका नेपालले जिल्ला अध्यक्ष झम्क नेपालले पुनः नदोहोरिने संकेत दिएसंगै आफू स्वतः अध्यक्षको दावेदार भएको बताउँछन् ।
त्यस्तै लामो समय पार्टीको सचिवालय सदस्य रहेका केदार क्षेत्रीको पनि अध्यक्षको लागि उति नै दावी गरेका छन् । उनले केन्द्रीय माहाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिने घोषणा गरेपनि पछि हटेका थिए ।
नेपाल र क्षेत्री एउटै पार्टी रहँदा उनीहरु माधव नेपाल गुटका हुन् । त्यस्तै देउजा र श्रेष्ठ भने ओली गुटका हुन् । यसअघि सिन्धुपाल्चोकमा ओली भन्दा माधव गुट बलियो थियो । यद्यपि माधव नेपाल पक्षको सानो समुह चोईटिएर नेकपा (एकिकृत समाजवादी) बनेसंगै सिन्धुपाल्चोकमा सिंगो एमाले बनेको हो । १० बँुदे सहमतिका आधारमा बनेको एमालेमा पूर्व गुटको पुरानै धङधङी बाँकी रहेकाले त्यसको प्रभाव यो माहाधिवेशन सम्म प्रत्यक्ष पर्ने राजनैतिक जानकारहरु बताउँछन् । पुरानै समिकरण कायम रहे पूर्व नेपाल गुटका भनेर चिनिएका अनुहार मध्येबाटै अध्यक्ष निर्वाचित हुन सक्ने एमालेका एक जिल्ला नेताले सिन्धुज्वालालाई बताए ।
जिल्लाका प्रभावशाली नेता पूर्व सांसद सुभाष कर्माचार्य केही दिन अघि मात्र एमाले परित्याग गरिसकेकाले त्यसको केही असर पर्न सक्ने ती नेताको ठम्याई छ । उनी नेपाल र क्षेत्री समुहकै हुन् ।
एमालेको संगठन विभागले उमेदवारको हदबन्दी तोकेका कारण पुराना नेता बाहेक पदाधिकारीको लागि चर्चामा आएका नयाँ अनुहारको सन्दर्भमा फेरबदल हुनसक्ने एमालेका जिल्ला तहका एक नेताले ठोकुवा गरे ।
उनका अनुसार सामाजिक संजालमार्फत उमेदवार घोषणा गरेका केही नयाँ अनुहारहरुको हकमा एमाले संगठन विभागले जिल्ला सदस्य र पदाधिकारी उमेदवारको मापदण्ड तोके पछि समिकरणमा फेरबदल हुने देखिएको हो । संगठन विभागले तोकेको हदबन्दी अनुसार पदाधिकारीको लागि दुई कार्यकाल जिल्ला कमिटी सदस्य भई काम गरेको वा एक कार्यकाल सचिवालयमा काम गरेको हुनुपर्ने उल्लेख छ ।