सांसदलाई नै हप्काए सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले

खाडीचौर (सिन्धुपाल्चोक),
मंसिर–११, सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिर बहादुर बस्नेतले सिन्धुपाल्चोकका पूर्व सांसद कृष्णराज श्रेष्ठलाई आफ्नै कार्यकक्षमा दुव्र्यवहार गरेका छन् ।
बुधबार दिउसो जेष्ठ नागरिकका जिल्ला अध्यक्ष माधवलाल कर्मचार्य सहित जेष्ठ नागरिक सहयोगका लागि सुनकोशी गाउँपालिका पुगेका पूर्व सांसद श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत बस्नेतबाट कार्यकक्षमै हप्की खाएर यस्तो दुव्र्यवहार व्यहोर्नु परेको हो । ’हामी उहाँहरुसंग पूर्व सल्लाहा अनुसार जेष्ठ नागरिक कार्यक्रमको लागि सहयोग लिन गएका थियौ उहाँले एक्कासी हप्काउनु भयो‘,पूर्व सांसद श्रेष्ठले सिन्धुज्वाला अनलाईनसंग भने । पूर्व सांसद श्रेष्ठका अनुसार जेष्ठ नागरिक कार्यक्रमको लागि गाउँपालिका अध्यक्ष श्रमणकुमार जिसी र प्रमुख प्रशासकीय अधिकृत बस्नेतले गत वैशाखमै ५० हजार सहयोग गर्ने मौखिक सहमति गरेका थिए । त्यसपछि सम्झौताको लागि जिल्ला अध्यक्ष कर्मचार्य सहित पूर्व सांसद सुनकोशी गाउँपालिका गएका थिए । १२ वजे अध्यक्षको कार्यकक्ष छिरेका पूर्व सांसद् सहितको टोलिलाई पालिका अध्यक्ष जिसीले कुनै कुरा नगरीकन प्रमुख प्रशासकीय अधिकृतकाहाँ जान भनेका थिए । त्यसपछि पूर्व सांसद् प्रमुख प्रशासकीय अधिकृत बस्नेतको कार्यकक्षमा पुगेका थिए । पूर्व सहमति अनुसार आएको भनेर पत्र देखाउन नपाउँदै अधिकृत बस्नेतले लाने भए १० हजार लैजानुहोस नत्र तपाईहरु गईहाल्नुहोस भन्दै हप्काएका थिए । त्यसपछि पूर्व सांसद श्रेष्ठ मलिनो हुँदै बाहिरिएका थिए । आफुले नरम भएर पूर्व सहमतिको कार्यन्वयन गर्न आग्रह गर्दा प्रमुख प्रशासकीय अधिकृतबाट हप्की खानुपरेको पूर्व सांसद श्रेष्ठले सुनाए । ’म पूर्व सांसदलाई त यस्तो व्यवहार हुन्छ कर्मचारीबाट सर्वसाधारणले कस्तो व्यवहार पाउलान ?‘ प्रतिप्रश्न गर्दै पूर्व सांसद श्रेष्ठले भने । उक्त घटनाका बारेमा प्रमुख प्रशासकीय अधिकृत बस्नेतसंग मोबाईलबाट कुरा बुझ्न खोज्दा उनले ’खोई तपाईहरुका कुरा के–हो के–हो ? भन्दै फोन राखेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेत दुई वर्ष अघि देखि सुनकोशी गाउँपालिकामा कार्यरत छन् । कर्मचारी समायोजनमा समेत सुनकोशी नै रोजेका उनी गाउँपालिका अध्यक्ष जिसीको भरपर्दो विश्वास पात्र मानिन्छन् ।