उपत्यकामा आजबाट एक साता निषेधाज्ञा थपियो, सिन्धुपाल्चोकमा समेत कडाई

२२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ । १६ वैशाखदेखि एक साताका लागि जारी गरिएको निषेधाज्ञा आजबाट थप एक साता लम्बाइएको हो ।
तीन वटै जिल्लाका अहधिकारी बीच हिजो बसेको संयुक्त बैठकले कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञा लम्बाइएको बताएका छन् ।
थपिएको निषेधाज्ञालाई अघिल्ला दिनहरुको भन्दा कडा बनाउनुपर्ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगेका हुन् । जस अनुसार आजबाट बिहान ९ बजेसम्म मात्र खाद्य वस्तुका पसलहरु खोल्न दिने निर्णय जिल्ला प्रशासन कार्यालयहरुले गरेका छन् । यसअघि साँझपख पनि पसल खोल्न पाउने व्यवस्था हटाइएको छ ।

यसैगरी यसअघि जारी गरिएका सबै सवारी पास खारेज गरिएको छ । अब जिल्ला प्रशासन कार्यालयहरुले नयाँ पास जारी गर्नेछन् । पत्रकारहरुका लागि सूचना विभागको पास अनिवार्य गरिएको छ । सूचना विभागको पास नभएकाहरु आफ्नो कार्यालयको परिचयपत्रको आधारमा हिँडडुल गर्न पाउने छन् तर त्यसको जानकारी जिल्ला प्रशासन कार्यालयमा गराउनुपर्ने छ ।
सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।
यसैगरी सम्बन्धित पालिकाले अनिवार्य रुपले १० दिन क्वारन्टिनमा राख्ने प्रतिबद्धतासहितको सिफारिस दिए मात्रै काठमाडौं उपत्यका छाड्न पाइनेछ ।
अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीको हकमा विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले सहजीकरणको व्यवस्था मिलाउने छ । विवाहका लागि सवारी पास आवश्यक नपर्ने र दुरी कायम गर्ने गरी साविककै व्यवस्थालाई निरन्तरता दिइएको छ । फुटपाथ तथा खुल्ला ठाउँ तथा ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यापार व्यवसाय र कवाडी संकलन गर्न पनि रोक लगाइएको छ ।
यसैबीच पछिल्लो समय नयाँ कोरोनाको हटस्पोर्ट बनेको सिन्धुपाल्चोकमा समेत आवात जावतमा कडाई गरिने जनाईएको छ । जनतालाई घरबाहिर ननिस्कन र जथाभावी हिडडुल नगर्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना नै जारी गरेको छ ।
हिजो चौतारा साँगाचोकगढी नगरपालिकाले सर्बपक्षिय बैठक बैठकको आयोजना गरि निम्नानुसारको निर्णयहरु गरेको छ ।
– १७ सदस्यीय नगरपालिका स्तरिय कोभिड १९ संकट ब्यवस्थापन समिती गठन गरियो ।
– १४ वटा वडामा वडा अध्यक्षको संयोजकत्वमा ७÷७ सदस्यीय कोभिड १९ संकट ब्यवस्थापन तथा समन्वय समिती तुरुन्त गठन गर्ने
–मेलचौरमा रहेको ३० बेडको क्वारेन्टीनलाई तत्काल ब्यवस्थापन गरि आइसोलेसन को रुपमा सन्चालन गर्ने
–चौतारामा रहेको २६ बेडको आइसोलेसनलाई थप ब्यवस्थित गरि अक्सिजन सहितको उपचार केन्द्र बनाउने
–नगरपालिकाका सबै वडाका संकास्पद स्थानमा स्वाब संकलन गरि नमुना परिक्षण गर्ने
– हाल चौतारामा रहेको एउटा डेडिकेटेड एम्बुलेन्स ले अपुग हुने देखिएको ले २ वटा एम्बुलेन्स थप गर्ने
– उच्च संक्रमण भएको स्थानका ब्यक्तिहरुको अन्यत्र आवतजावतमा नियन्त्रण गर्ने
–संक्रमित को मृत्यु भएमा नगरपालिकाले तत्कालै शब बहान ब्यवस्थापन गर्ने