सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा

१२ माघ, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए । नेम्वाङको प्रस्तावलाघ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
सापकोटाको यात्रा–शिक्षकदेखि सभामुखसम्म

सभामुखका उम्मेदवार अग्नि सापकोटा नेकपाको स्थायी कमिटी सदस्य एवं प्रतिनिधिसभा सदस्य हुन् । सापकोटासँग १५ वर्षको शिक्षण अनुभव र शिक्षक आन्दोलनको अनुभव छ । १० वर्षे जनयुद्धमा नेतृत्वको वरिपरि रहेर खेलेको भुमिका अनि ०६२र०६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेको र शान्ति प्रक्रियापछि दुईपटक मन्त्री बनेको अनुभव पनि सापकोटासँग छ ।
सिन्धुपाल्चोकको कुबिण्डेमा २०१६ साल फागुन २४ गते जन्मिएका सापकोटा राजनीतिमा आउनुअघि शिक्षक थिए । उनले १५ वर्ष भन्दा बढि शिक्षण गरे । ७ बर्ष सिन्धुपाल्चोकको साँगाचोकस्थित जनजागृति माविको प्रध्यानाध्यापक भएर काम गरे ।
सापकोटाको औपचारिक अध्ययन समाजशास्त्रमा स्नातकोत्तर सम्म हो । शिक्षण पेशामा रहँदा नै उनी कम्युनिस्ट पार्टीमा आवद्ध भए । ०२९ सालमा कम्युनिस्ट विद्यार्थी संगठनमा आवद्ध भएका सापकोटा ०३५ सालमा मोहन बैद्य नेतृत्वको नेकपा (चौम) को सदस्य भए । ०३७ सालमा उनी शिक्षक संघर्ष समितिको सदस्य भए । जिल्ला अध्यक्ष, हुँदै पछि वामपन्थीहरुको साझा शिक्षक संगठनको महासचिवसम्म भए । विभिन्न आन्दोलनका क्रममा उनी दुई वर्ष जेल परेका थिए । सापकोटा ०४८ सालमा संयुक्त जनमोर्चा नेपालका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बने । तर, पराजित भए । शिक्षकबाट राजीनामा दिएपछि सापकोटा पूर्णकालीन राजनीतिमा लागे । ०४९ सालमा बाबुराम भट्टराई नेतृत्वको संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भए । शान्ति प्रक्रियापछि ०६४ र ०७० को संविधानसभा निर्वाचनमा सभासद निर्वाचित उनी ०७४ को निर्वाचनमा सिन्धुपाल्चोकबाट निर्वाचित बहालवाला सांसद हुन् ।
सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र मानिन्छन् । ०५१ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्दादेखि सापकोटाले प्रचण्डको साथ छाडेका छैनन् । माओवादीले जनयुद्ध सुरु गर्दाका केन्द्रीय सदस्यमध्ये सापकोटा एक हुन् । १० बर्षे सशस्त्र जनयुद्ध, शान्ति प्रक्रिया, शान्ति प्रक्रियापछिको पार्टी टुटफुटमा उनी प्रचण्डलाई छोडेर कतै लागेनन् ।
यसअघि सापकोटाले तत्कालीन माओवादी केन्द्रको प्रवक्ताको भूमिकासमेत निर्वाह गरे । झलनाथ खनाल प्रधानमन्त्री हुँदा सापकोटा सञ्चार मन्त्री भए । ०७३ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सापकोटा वन तथा भूसंरक्षण मन्त्री थिए । उनले अहिलेसम्म दुईपटक मन्त्री हुने अवसर पाएका छन् । प्रचण्डले ०५८ सालमा सरकारसँगको दोस्रो वार्तामा सापकोटालाई पनि पठाएका थिए । तीन सदस्यीय वार्ता टोलीमा कृष्णबहादुर महरा र टोपबहादुर रायमाझी सहित उनी पनि थिए । सापकोटा पार्टीभित्र शालिन, ईमान्दार र बौद्विक क्षमता भएका व्यक्तिका रुपमा चिनिईन्छन् ।