प्रतिगमन विरुद्वको आन्दोलनमा सिन्धुपाल्चोक अग्रमोर्चामा

दिनेश दुलाल
फागुन ६, चौतारा (सिन्धुपाल्चोक) । प्रतिगामी कदमका विरुद्व केन्द्रीय समितिद्वारा घोषित विभन्न चरणका संघर्षका कार्यक्रमहरुमा सिन्धुपाल्चोक अग्रमोर्चामा देखिएको छ । पछिल्लो समय काठमाडौंमा केन्द्रीत कार्यक्रमहरुमा सिन्धुपाल्चोकले उल्लेखनीय जनपरिचालन गरेको सो पार्टीले दावी गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकको जिल्ला कार्यालयको हिजो बसेको बैठकका निर्णयहरु सार्वजनिक गर्न आज जिल्लाका सञ्चारकर्मीहरुलाई बोलाईएको हो । उक्त भेटघाट कार्यक्रममा प्रतिगमन विरुद्धको आन्दोलनमा सिन्धुपाल्चोकको भूमिका उल्लेखनीय रहेको पार्टीका जिल्ला अध्यक्ष झम्क नेपालले जानकारी दिए । सञ्चारकर्मीसंगको भेटघाट कार्यक्रममा नेकपा सिन्धुपाल्चोकले पार्टीको समिक्षा सहितको निर्णय, चौथो चरणको आन्दोलनका कार्यक्रम, पार्टीको आन्तरिक संगठन र विभागहरुको विस्तार लगाएतका निर्णयहरु सार्वजनिक गरिएको हो ।

कार्यालयको बैठकमा समग्र जिल्लाको राजनैतिक परिस्थिति र केन्द्रद्वारा घोषित संघर्षको कार्यक्रमको समिक्षा लगाएत पार्टीको आन्तरिक जीवनसंग सम्बन्धित वैेचारिक र संगठन सम्बन्धी महत्वपूर्ण छलफल भएको जिल्ला अध्यक्ष नेपालले जानकारी दिए ।
अध्यक्ष नेपालका अनुसार पार्टी बैठकले जिल्ला कमिटिमा ८३ जना थप मनोनित गरेको छ । अब नेकपाको जिल्ला कमिटि सदस्य २०० पुगेको छ ।

त्यस्तै पार्टीले जिल्ला सल्लाकार परिषदमा १०० र जेष्ट कम्युनिष्ट मञ्चमा १०० सदस्यीय मनोनयन गर्ने निर्णय भएको अध्यक्ष नेपालले सुनाए । त्यसैगरी पार्टीले प्रतिनिधिसभा समन्वय कमिटि, प्रदेशसभा समन्वय कमिटि तथा पार्टीका विभिन्न विभागहरुमा मनोनयन तथा सचिवको व्यवस्था गरिएको जिल्ला सचिव गोबिन्द पराजुलीले जानकारी दिए ।
अबको आन्दोलनमा जिल्ला केन्द्रित बनाएर सशक्त रुपमा लैजाने सो पार्टीले जनाएको छ ।