ईतिहासकै नयाँ अवसर, यसरी संसदबाट पारित भयो नेपालको चुच्चे नक्सा

काठमाडौं । नेपालले ईतिहासकै पहिलोपटक आफ्नो देशको नक्सा सहितको संविधान संशोधन विधेयक संसदबाट पारित भएको छ ।
प्रतिनिधिसभाको हिजो बसेको बैठकले बहुमतद्वारा नेपालको नयाँ नक्साको लागि भएको संविधान संशोधन पारित भएको हो । निशान छापमा रहेको नक्सा संशोधनका लागि सरकारले दर्ता गराएको संविधानको दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको थयो ।
यसरी पास भएको थियो संविधान संशोधन विधेयक
संशोधनको पक्षमा २ सय ५८ र विपक्षमा शून्य मत परेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटाले विधेयक सर्वसम्मतले पारित भएको घोषणा गरेका छन् ।
संविधानको अनुसूची ३ को व्यवस्था संशोधनका लागि प्रतिनिधिसभामा प्रस्तुत गरिएको थियो । सरकारले प्रस्तुत गरेको संशोधनमा शनिबार छलफलपछि पारित गरिएको हो ।
सबै दलका उपस्थित सांसदहरू संशोधन प्रस्तावको छलफलमा सहभागी भएका थिए । संशोधन दर्ता गरेकी सांसद सरिता गिरी भने छलफलमा सहभागी भइनन् । छलफलपछि कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले छलफलमा उठेका प्रश्नमा जवाफ दिएकी थिइन् । उनको जवाफपछि सभामुख सापकोटाले संविधान संशोधनको प्रस्तावलाई निर्णयार्थ पेस गरेका थिए । सभामुखले मत विभाजन प्रक्रिया गरी हस्ताक्षरका लागि समय निर्धारण गरेका थिए ।
सचिवालयका कर्मचारी यसअघि नै हस्ताक्षर संकलनका लागि तयारी अवस्थामा रहेका थिए । सभाकक्षका सबै ढोका बन्द गरेपछि मत संकलन गरिएको थियो । संविधान संशोधन प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपालको कालापानी र सुस्ता क्षेत्र विवादित भूमि भनेर भारतले स्विकारेको बताए ।
‘कालापानी, सुस्ताको विवादित भूमिलाई वार्ता र संवादबाट समाधान गर्न नेपाल र भारत दुवै सहमत भएका हुन् । ती क्षेत्रलाई विवादित क्षेत्रका रूपमा उल्लेख गरिएको छ,’ उनले भने, ‘त्यहाँ भारतले विमति राखेको छैन । यो भारत सरकारले स्वीकार गरेको तथ्य हो ।’

भारतले काश्मीरका सम्बन्धमा नयाँ नक्सा जारी गर्ने क्रममा कालापानी क्षेत्रसमेत समेटेपछि नेपाल नयाँ नक्सा जारी गर्ने अवस्थामा पुगेको उनले बताए ।
‘भारतको चाहना नेपाललाई जिस्क्याउने थिएन होला । उनीहरूको चाहना काश्मीरसँग सम्बन्धित मुद्दामा भारत सरकारले गरेको निर्णय स्थापित गर्ने थियो होला,’ अध्यक्ष दाहालले भने, ‘तर प्रकान्तरणले त्यसले हामी सबैलाई झकझक्यायो । भारतले आफ्नो ढंगले नक्सा प्रकाशित गरेपछि हामीलाई सह्य नभएपछि यो अवस्थासम्म आइपुगियो ।’
नेपाल–भारत सीमा विवाद दुवैतर्फका सचिवस्तरीय जोइन्ट कमिटीबाट समाधान गर्ने भनिए पनि भारतले नयाँ नक्सा जारी गरेकोप्रति उनले आपत्ति जनाए । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रको सार्वभौमिकता र अखण्डताका लागि सबै दल एक भएको बताए । संविधान संशोधन विधेयकमाथिको छलफलका क्रममा उनले कांग्रेस पूर्ण नक्साको समर्थनमा रहेको स्पष्ट पारे ।
‘केन्द्रीय समितिको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘संशोधनका पक्षमा पूर्ण समर्थन छ ।’ संसद् बैठक सुरु हुनुअघि पार्टीको संसदीय दलको बैठक बसेर समेत संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको उनले सदनलाई जानकारी गराए ।

यस्तै, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले सुगौली सन्धि नेपालका लागि अत्यन्तै अपमानजनक भएको बताए । छलफलमा भाग लिँदै उनले नेपालले ठूलो भूभाग गुमाउन परेको बताए । त्यही सन्धिमा नेपालले युरोपका नागरिकलाई काम लगाउँदा इस्ट इन्डियालाई सोध्नुपर्ने अपमानजनक अर्को प्रावधान रहेको उनको भनाइ थियो । उनले भने, ‘यो नेपाललाई गरिएको अपमान थियो ।’ सन्धिले कालीनदी पश्चिमको भाग नेपालले छोड्ने स्पष्ट किटान गरेको समेत उनले बताए । महाकाली सन्धिमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले समेतले गरेको सन्धिले सुगौली सन्धिबाट पाएको जमिन पनि गुम्ने अवस्था आएको बताए ।

‘महाकाली नदीको अधिकांश भाग साझा सीमा हुने सन्धि गरियो,’ यादवले भने, ‘सुगौली र महाकाली सन्धिमा हामीले के गरेका रहेछौं ?’ मूल पार्टीका मूल नेताहरुले जवाफ दिने बेला आएको बताए । ‘नेपालको नक्सा चुच्चे विगतमा थियो । तर किन गायब भयो ?’ उनले मूल पार्टीहरूलाई प्रश्न गर्दै भने, ‘किन चुच्चे नक्सा हट्यो, सदनलाई जानकारी हुनुपर्छ कि पर्दैन ?’ संशोधन प्रस्ताव सदनमा मतदान हुने बेलामा प्रमाण खोज्न विज्ञ समिति बनेकोप्रति आपत्ति जनाए । विज्ञ समूहमा मधेसी नागरिक नपरेकोप्रति विरोध जनाए ।

यसैगरी, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै अब नक्सा मात्रै जारी गरेर नपुग्ने बताए । उनले अतिक्रमण भएको जमिन समेत फिर्ता गर्न माग गरे । जनताको प्रतिनिधिका रूपमा उपस्थित भएका सबैले ऐतिहासिक दिनमा के गर्दै छ भन्नेमा सबैको ध्यान रहेको बताउँदै भने, ‘यो ऐतिहास बैठक नै हो ।’ उनले यो सामान्य प्रस्ताव नभएको भन्दै देशको भूमिको रक्षामा सबै एकमत हुनुपर्ने बताए । सबै नेपालीको भावना र राष्ट्रियता र अखण्डतासँग जोडिएको सवाल भएकाले नेपालको नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक राख्ने अवसर मिलेको उनले बताए ।

‘कसैको एकलौटी राष्ट्रियता हुँदैन, राष्ट्रियता भनेको सबैको हो । कुनै एक वर्ग वा क्षेत्रको हो भने त्यो पंगु हो,’ महतोले भने, ‘आज (शनिबार)बाट राष्ट्रवाद र राष्ट्रघातको नयाँ परिभाषा हुनुपर्छ ।’ यस्तो संकटको घडीमा एकता देखाउने हो भन्दै उनले नेपालीले नदेखाए कसले देखाउने हो भन्दै संविधान संशोधनमा सर्मथन जनाए ।

‘यो संविधानको बारेमा हाम्रो फरक मत छ, आदिवासी, मधेसशी, थारू, दलित वा अन्यको हुन सके,’ उनले भने, ‘यो हाम्रो पनि बनाइदिन प(यो ।’ संशोधन गर्ने समय आउँछ र गरौंला भनेर आफूले आस गरेको भन्दै उनले विगतमा भएको सम्झौता सम्झाए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले संविधानमा फरक मत हुदाँहुदै पनि सरकारले पेस गरेको संविधान संशोधन प्रस्तावमा समर्थन गरेको बताए । छलफलमा भाग लिँदै उनले देशको साझा कुरा भूगोलको भएकाले एक ठाउँमा उभिएको बताए । नेपालको नक्सामा नेपाली भूभाग समेटिनुपर्छ भनेर आफूहरूले सबैभन्दा पहिले उठाएको स्मरण गराउँदै संविधान संशोधनको पक्षमा रहेको बताए ।

‘सबैभन्दा पहिलो कुरा देश हो । त्यही कुरा भएकाले राप्रपाको निःसर्त सर्मथन छ,’ उनले भने, ‘कुनै किन्तु परन्तु छैन ।’
राप्रपाले संविधान संशोधन पेस भएलगत्तै समर्थन गरेको भन्दै उनले इतिहासमा भएको गल्तीलाई थोपरेर नहुने बताए ।
‘नक्सा संविधानमा राखेर मात्र हुँदैन । अब यसलाई हेरौंला होइन । अब एक कदम अगाडि बढेर वार्तामार्फत हाम्रै समयमा समाधान गर्नुपर्छ,’ उनले भने, ‘ऐतिहासिक प्रमाणका आधारमा भारतसँग ठोस वार्ता प्रधानमन्त्रीले गर्न जरुरी छ ।’