जब मेयरले खाद्यन्न र न्यानो कपडा दिए, १२ वर्षिय साजनको आँखा रसाय

बाह्रबिसे । बाह्रबिसे नगरपालिका वडा नम्बर ५ अन्र्तगत कल्लेरी भिरको बीचमा भुँईतले टिनले छाएको सानो घरको छ । त्यहाँ कलिला उमेरका ६ वर्ष देखि १२ वर्ष सम्मका चार बालबालिका सडकमा खेलिरहेका थिए । न तिनको बाबु–आमा छन् न अरु कोही अविभावक नै । अविभावक थिए त तिनै १२ वर्षिय साजन थापा । उनैले दुई भाई र एक बहिनीलाई करिब एकवर्ष देखि हेरचाह गर्दै आएका छन् । खाना पकाउनु तथा भाईबहिनीलाई आफुसंगै स्कुल लैजानु उनको दैनिकी जस्तै थियो । तर भिरको पहारा बीचमा रहेको भूँईतलाको घरमा न अन्नपात छ न ओढ्ने ओछ्याउने र लगाउने कपडा नै । खुट्टामा चप्पल थिएन । शरिरमा एकसरो ढाक्ने कपडा थिएन चारैजना नाङ्गै थिए ।

जाडोमा ठिउ–ठिउ काँप्दै उनीहरु हरेक रात गुडुल्कीएर सुत्थे । ३ महिना अघि बाबुको काजक्रियामा आफन्तले ल्याईदिएको चामल पनि सकिदैं थियो । आधापेट त्यहि पनि निस्तै भात खाएर जेनतेनले बाँचिरहेका थिए टुहरा बालबालिका । एकदिन बाह्रबिसे नगरपालिका मेयर निमफुञ्जो शेर्पा टुप्लुक्क बालबालिका भएको ठाउँमा पुगे । आफ्ना भाईबहिनीका साथ खेलिरहेका साजनले सुरुमा खासै वास्ता गरेन् जब मेयरले साजनलाई बोलाएर खाद्यन्न र न्यानो कपडा थमाए । अचानक पहिलोपटक सहयोग पाएपछि साजनका आँखा रसाय । र उनले मेयर शर्पालाई धन्यवाद दिंदै भने–’हामीलाई सहयोग गरिदिनुभएकोमा हजुरलाई धेरै धेरै धन्यवाद‘ ।

माथि उल्लेखित प्रसंग कुनै काल्पनिक होईनन् । बाह्रबिसे बजारबाट करिब ३ किमी टाढा कल्लेरी भन्ने ठाउँमा भिर पहराको बीचमा रहेका टुहुरा बालबालिकाको वास्तविक घटना हो । साजनका बुबा कर्णबहादुर थापा वैदेशिक रोजगारीको शिलशिलामा ५ वर्ष अघि दुबई गएका थिए । पाँचवर्षको बीचमा उनले न पैसा कमाउन सके न घर आउन । थापा विदेश गएपछि उनकी श्रीमति सावित्री थापा पनि दुईवर्ष अघि आफ्ना ४ बालबालिका घरमै छाडेर वैदेशिक रोजगारीकै शिलशिलामा श्रीमानको सल्लाहा बेगर दुबई लागिन ।

जब आफ्नी श्रीमति घरमा बालबालिकालाई छाडेर अर्कै पुरुषसंग विदेशमै आएको कर्णबहादुरले थाहा पाए । त्यसपछि उनले सहन नसकी आत्महत्या गरे थिए । केही महिना अघि मात्र कर्णबहादुरको शव नेपाल पठाएपछि मृतकका आफन्तले बुझे तर मृतक कर्णबहादुरकी श्रीमति सावित्री घर फर्किनन् । तीनछोरा र एकछोरी रहेका थापाका जेठा छोरा साजन १२ वर्षका भएपनि उनले काजक्रिया गर्न सकेनन् साजनकै वृद्व हजुरबुबाले मृतकको काजक्रिया गरे । त्यपछि दुईभाई र एकबहिनीकी अविभावक बन्न वाध्य थिए १२ वर्षिय साजन । आफ्नै नगरभित्र बालबालिकाको त्यस्तो अवस्था सुनेर मेयर शेर्पा सोमबार कल्लेरी पुगेका थिए । ति बालबालिकाहरुको अवस्थाको बारेमा बुझ्न त्याँहा पुगेका मेयर शेर्पाले आवश्यक खाद्यन्न र जाडोको न्यानो कपडा लगिदिएका थिए । बाबु–आमा नभएका टुहुरा बालबालिकाको लागि आफुले सकेको सहयोग गर्ने उनले बचन दिए । ’म बालबालबालिकाको शिक्षादिक्षा लगाएत यिनको भविश्यको लागि सहयोग गर्नेछु‘, मेयर शेर्पाले भने । अनाथ र वेशाहारा बनेका बालबालिकालाई संरक्षण गर्नु नगरपालिकाको पहिलो दायित्व भएको उनले सुनाए । आफुले केही दिनमै ति चारबालिकाको लागि उद्दार गरि संरक्षण दिने उनले बचन दिए ।