जेलनेल र यातना भोगेका सापकोटा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवार
पौष २३, काठमाडौं । १० बर्षे माओवादी जनयुद्वका क्रममा जेलनेल र यातना भोगेका पूर्व माओवादी योद्वा प्रेमप्रसाद सापकोटा ‘राजेन्द्र’ ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

हालै गठित नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकका नेता सापकोटा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
आधा दशक राजबन्दीको रुपमा विभिन्न जेलमा रहेर रिहाई पछि पार्टीमा पूर्ण कालिन भएर पार्टीको लामो समयदेखि संगठन निर्माण र जनपक्षीय राजनीतिमा निरन्तर सक्रिय सापकोटालाई राष्ट्रियसभामा वाग्मति प्रदेशबाट सर्वसहमत उम्मेदवारी बनाएको थियो । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड तथा सहसंयोजक माधव कुमार नेपाल लगाएत नेताहरुले सापकोटालाई राष्ट्रियसभा सदस्यको उम्मेदावार बनाउने सहमति भएसंगै उनी आज नै राष्ट्रिय सभा निर्वाचन कार्यालय हेटौंडा पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।
सिन्धुपाल्चोक जिल्लाको कुविण्डे निबासी सापकोटा पार्टीभित्र तथा जनमानसमा समेत स्वच्छ छबीका नेता मानिन्छन् । उनलाई विपक्षी जनप्रतिनिधिहरुले समेत मत दिने आंकलन गरिएको छ । ११ गते हुने निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्नेछन् ।

