ठूलोसिरुवारी साना किसान कृषि सहकारीको ७ औँ वार्षिक साधारण सभा, अध्यक्षमा दाहाल

पौष २०, चौतारा । ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लिमिटेड चौतारा साँगाचोकगढी १३ को ७ औँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ ।

साधारण सभा तथा अधिवेशनबाट कुल प्रसाद दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरिएको छ । त्यस्तै दिपेन्द्र चौलागाईंको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन गरिएको छ ।
साधारणसभाले संस्थाका विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गर्नुका साथै आ.ब. ०८१÷८२ का लागि १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत पारित गरेको संस्थाका प्रमुख व्यवस्थापक होमनाथ चौलागाईंले जानकारी दिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाका सामाजिक विकास समितिका संयोजक रामप्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) ले प्रस्तुत गरेको सहकारी सम्बन्धि मनोरञ्जनात्मक प्रस्तुतिले उपस्थित सबैलाई हँसाउँदै माहोल थप उत्साहपूर्ण बनाएको थियो ।

साधारणसभाको अवसरमा “ठूलोसिरुवारीको समृद्धिमा ठूलोसिरुवारी साना किसान कृषि सहकारी संस्था लि.को भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिएको थियो । वक्तृत्वकलामा कुण्डलादेवी माध्यमिक विद्यालयबाट अस्मिता दुलाल प्रथम, अनमोल तामाङ द्वितीय भएका छन् भने सेतीदेवी माध्यमिक विद्यालयबाट प्रविशा श्रेष्ठ तृतीय र रेजिना राना मगर सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् ।
संस्थाका प्रमुख व्यवस्थापक होमनाथ चौलागाईंले सञ्चालन तथा संस्थाका अध्यक्ष तोक बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । साथै संस्थाका उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी, एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
सहकारीले आफ्नो वार्षिक प्रतिवेदन मार्फत स्थानीय किसानको आर्थिक सशक्तीकरण, कृषि विकास र समग्र गाउँको समृद्धिमा खेलेको भूमिकालाई थप मजबुत बनाउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।