लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सन्दर्भमा चौतारामा लोकगीत प्रतियोगिता सम्पन्न

दिनेश दुलाल
मंसिर २४, चौतारा । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सन्दर्भमा चौतारामा लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । नगर अपाङ्गता समन्वय समितिको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रभातफेरी सहित संदेशमूलक लोकगीत प्रतियोगिता भएको हो ।

प्रथम भएका रामदेवी माध्यमिक विद्यालयका महिला शिक्षक समूह

‘प्रविधिको सही प्रयोग गरौं ः लैङ्गिक हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान समापन दिन बुधबार प्रभातफेरी चौतारा भिन्तुनाचोकबाट सुरु भएको ¥याली ठुडिखेलचोक पुगेर सभामा परिणत भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिकाले सहयोग तथा नगर अपाङ्गता समन्वय समिति आयोजनामा भएको उक्त कार्यक्रमको नगर प्रमुख कृष्णप्रसाद सापकोटाले उदघाटन गरेका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका मेयर सापकोटाले परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरूमा महिलाको उल्लेख्य सहभागितासहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको बताउँदै कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलकलगायत महिलाविरुद्धका प्रथा, परम्परा र अन्धविश्वासका कारण कैयन् महिला अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य भएको स्मरण गर्नुहुँदै इतिहासमा भएका बलिदानीपूर्ण संघर्षले त्यसको अन्त्य गरेपनि अझै पूर्णता नपाएको बताए ।

कार्यक्रममा उपप्रमुख सीता थापाले पितृसत्तात्मक समाजका कारण हुने महिला हिंसाको स्वरुपमा परिवर्तन हुँदा महिला तथा बालबालिकाका साथै पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक पनि हिंसामा पर्ने गरेकोले लैङ्गिक हिंसाविरुद्धको दिवस मनाउनको सार्थकता रहेको औंल्याईन ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सामाजिक विकास संयोजक रामप्रसाद गौतम, इन्सेक प्रतिनिधि नातिबाबु धिताल लगाएतले शुभकामना राखेका थिए ।
लैंङ्गिक हिंसाको अन्त्यको लागि २५ नोभेम्बर देखि १० डिसेम्बर (मङ्सिर ९ गतेदेखि २३ गतेसम्म) सम्म विभिन्न कार्यक्रम गरी १६ दिने अभियान सञ्चालन गरिएको हो ।

समापन कार्यक्रममा गरिएको लोकगित प्रतियोगितामा कुल १४ समूह सहभागी भएका थिए । प्रतिस्पर्धामा रामदेवी माध्यमिक विद्यालयका महिला शिक्षक समूह प्रथम, दयाका हातहरू दोश्रो , अपाङ्गता समावेशी समूह तृतीय र आहालडाँडा महिला समूह र सिद्धिगणेश महिला समूह सान्त्वना भएका छन् ।

विजेता समूहहरूलाई १५,०००, १०,०००, ७,५००, र सान्त्वना तहमा ३,०००–३,००० रुपियाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिले जनाएको छ ।

कार्यक्रममा नगर उप–प्रमुख सीता थापाले विजयी समूहहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन । आयोजक नगर अपाङ्गता समन्वय समितिले अभियानले लैङ्गिक हिंसाबारे जनचेतना अभिवृद्धि गर्न तथा स्थानीय स्तरमा मानव अधिकार संरक्षणमा सहयोग पुगेको जनाएको छ ।