पाँचपोखरी थाङपाल गाउँपालिकाको नयाँ थालनी, प्रदेश मन्त्री नै म्याराथन धावक

थाङपालधाप । पाँचपोखरी थाङपाल गाउँपालिकाले तेस्रो हाफ म्याराथन बिहिबार सम्पन्न गरेको छ ।
’पर्यटनका निम्ति खेलकुद‘ भन्ने मुल नाराका साथ बिगत तीन बर्ष देखि म्याराथन गराउँदै आएको उक्त गाउँपालिकाले यो पटक भने नयाँ रेकर्ड बनाएको छ । गाउँपालिकाले पहिलोपटक संघीय सांसद र प्रदेशमन्त्री लगाएत सहभागिता गराएर पाँचपोखरी तेस्रो हाफ म्याराथन गराएको हो । मन्त्री समेत सहभागी उक्त म्याराथन प्रतियोगिता स्थानीय तहमा नेपालकै पहिलो अभ्यास भएको गाउँपालिकाको दावी छ । नेपाल टुरिजम बोर्डको सहयोगमा, पाँचपोखरी थाङपाल खेलकुद समिति मार्फत गाउँपालिकाको आयोजनामा उक्त म्याराथन भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि ३ नं प्रदेशका पर्यटन मन्त्री अरुण नेपाल, संघीय सरकारका पूर्व कानुनमन्त्री शेरबहादुर तामाङ, ३ नं प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल तथा ३ नं प्रदेश सांसद इन्द्रमायाँ गुरुङ सहभागि रहेका थिए । त्यस्तै उक्त कार्यक्रममा मेलम्ची नगरपालिका प्रमुख डम्बरबहादुर अर्याल, बाह्रबिसे नगरपालिकाकी उपप्रमुख शुसिला पाख्रिन, युवा परिषद सदस्य सचिव डा. बाबुराम ढुंगाना, म्याराथन धावक बैकुण्ठ मानन्धर लगायत पाँचपोखरी थाङ्पाल पर्यटन प्रवर्द्धन समिति, पाँचपोखरी थाङ्पाल खेलकुद समिति, पत्रकार, सुरक्षाकर्मी, तिर्थयात्री, स्थानीय क्लब लगाएत सहभागि रहेको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए । कार्यक्रम स्वयंसेवक तथा स्थानीय सहयोगले भव्य रुपमा सम्पन्न भएको अध्यक्ष लामाले बताए । उनका अनुसार म्याराथुन प्रतियोगितामा १५७ धावकले भाग लिएका थिए । पुरस्कारको रासी प्रथमलाई ५० हजार, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार, चौथोलाई १० हजार तथा पाँचौंलाई ५ हजार प्रदान गरिने छ ।