नेपाल आइडलकी गङ्गालाई जिताउन समाजसेवी भरत पराजुलीले भारी मतसहित दिए हौसला

भदौ १२, काठमाडौं । एपिवान टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौँ संस्करणको फाइनलमा पुगेकी सिन्धुकी चेली गङ्गा सोनामलाई जिताउन समाजसेवी तथा व्यवसायी भरत पराजुलीले हौसला प्रदान गरेका छन् ।

बुधबार आफ्नै कार्यालयमा आमन्त्रण गरेर पराजुलीले गङ्गालाई भारी मत सहित जितको शुभकामना दिंदै उनलाई जिताउन सार्वजनिक आह्वान समेत गरेका छन् । ब्रह्मायणी जलविद्युत आयोजनाको कार्यालयमा पराजुलीले बिजयी हुनको लागि शुभकामना दिँदै आवश्यक जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।

‘एपिवान टेलिभिजनबाट प्रसारण हुदै आइरहेको नेपाल आइडल सिजन–६ मा सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधित्व गर्दै आफ्नो सुमधुर स्वरको जादु प्रस्तुत गर्दै टप ५ मा पुग्न सफल सिन्धुकी छोरी गंगा सोनामलाई सांगितिक यात्राको भविष्य अझै सशक्त र उत्कृष्ट हुदै आफ्ना सिर्जनाहरू पस्कँदै संगीतप्रेमीको मन जितिरहनु भनी विजयीको अग्रिम शुभकामना व्यक्त गर्दछु’, पराजुलीले भने ।

सहयोग स्वरुप पराजुलीले ५ हजार १ सय भोट र कार्यालयका अन्य सहकर्मीहरूको तर्फबाट १ हजार ४ सय १० भोट गरी जम्मा ६ हजार ५ सय १० भोट सहित गंगालाई हौसला दिएका थिए ।

गंगालाई सम्पूर्ण महानुभावहरुले अत्यधिक मात्रामा भोट प्रदान गरी विजयी गराउन समाजसेवी पराजुलीले अनुरोध समेत गरेका छन् । समाजसेवी पराजुली सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–७ मांखा निवासी हुन् ।

यसैबीच फाइनल प्रवेश गरेकी सिन्धुपाल्चोककी चेली गङ्गालाई भोट गरेर जिताउन सिन्धुपाल्चोकका राजनीति दल सामाजिक व्यक्तित्व तथा सर्वसाधारणले समेत सार्वजनिक आह्वान गरेका छन् ।