कालिका इनर्जीको बृहत जनपक्षीय जलविद्युत योजना, स्थानीयले एकअर्बको शेयर पाउने

दिनेश दुलाल
भदौ २, बाह्रबिसे । कालिका इनर्जी लिमीटेडले सिन्धुपाल्चोकमा बृहत जनपक्षीय जलविद्युत योजनको खाका प्रस्तुत गरेको छ । कालिकाले जिल्लाको बाह्रबिसेमा भोटकोशी–५ जलविद्युत आयोजना निर्माण गर्ने योजना सहित सोमबार सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न गरेको हो । बाह्रबिसे नगरपालिका–९ राम्चे स्थित कल्लेरीमा पावरहाउस रहनेगरी निर्माण गरिने भोटकोशी–५ (४६ मे.वा) जलविद्युत आयोजना जनपक्षीय दृष्टिकोणले अहिले सम्मकै बृहत र व्यवस्थित आयोजना हुने कालिकाको ठहर छ ।

कालिका इनर्जीबाट निर्माण गरिने भोटकोशी–५ जलविद्युत आयोजना अन्य प्रोजेक्ट भन्दा फरक हुने आयोजनाका सञ्चालक समितिका अध्यक्ष मोहनविक्रम कार्कीले बताए । उनका अनुसार आयोजनाको ५० प्रतिशत निर्माण कार्य सम्पन्न हुनसाथ प्रभावित स्थानीयले एकसय करोडको शेयर पाउनेछन् । ‘स्थानीय प्रभावित जनताको ठूलो लगानीमा यो आयोजना निर्माण हुँदैछ, आयोजनाको ५० प्रतिशत निर्माणको काम भएसंगै उहाँहरुले एकसय करोडको शेयर पाउनुहुनेछ’, अध्यक्ष कार्कीले भने ।

अनुमानित करिब १० अर्बको लागतमा बन्ने उक्त आयोजनामा ७ अर्ब बैंकको ऋण र करिब ३ अर्ब जनताको लगानी रहने कार्कीले बताए ।
उनका अनुसार १०२ मेगावटको मध्येभोटेकोशी जलविद्युत आयोजनाको जम्बु स्थित पावरहाउसबाट निस्किएको पानी करिब ५ हजार ७ सय मिटर लामो टनेल मार्फत बाह्र्रबिसे भन्दा केही तल कल्लेरी भन्ने स्थानमा पु¥याई विद्युत उत्पादन गरिने छ ।

उक्त टनेल अहिले सम्मकै मजबुत र ठूलो लगानीमा हुने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार बाँध निर्माण नगरी पानी सिधै टनेलमा हालेपनि नियम अनुसार भोटेकोशीमा १० प्रतिशत पानी छााडिनेछ भने बजार सम्म आईपुग्दा स–सना खोल्सीको मिसिएर हिउँद याममै २० प्रतिशत पानी रहने छ ।

आयोजनाले बजार छेउको नदिलाई सुख्खा क्षेत्र हुन नदिन हरियाली वातावरण बनाउनको लागि सो क्षेत्रको ३ ठाउँमा करिब ४÷५ मिटर गहिराई रहेको चेकड्याम बनाईने छ । त्यस्तै बाह्रबिसे बजारमा ढलको व्यवस्थापन, भित्री सडकको स्तर उन्नती, सोलारबत्ती, मठमन्दिर, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएत प्रभावित क्षेत्रको विकास गरिने आयोजनाले उल्लेख गरेको छ ।

बाह्रबिसे नगरपालिकाको कर्वड हलमा स्थानीय प्रभावित जनताको उल्लेख्य सहभागितामा भएको सार्वजनिक सुनाइ कार्यक्रममा केही स्थानीयले ‘गो व्याक कालिका’ भन्ने जस्ता नारा लगाएर विरोध जनाएपनि अधिकांशले जनताको हितमा आयोजना निर्माण हुनपर्ने भन्दै सोको पक्षमा मत जाहेर गरेका थिए । आफुहरु आयोजनाको विरोधी नभएको तर जनताको सर्वोपरी हितमा आयोजना बन्नुपर्ने प्रदिप पौडेलले बताए ।

कार्यक्रममा जिल्ला सम्मन्वय समितीका प्रमुख बालकृष्ण श्रेष्ठले आयोजननाले प्रभावित जनतालाई सम्बोधन गर्नुपर्ने धारणा राखे । बाह्रबिसे नगरपालिकाका नगर प्रमुख बालकृष्ण बस्नेतले आयोजनाले प्रभावित जनताको हितमा काम नगरे त्यसको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले लिने भन्दै आयोजना निर्माणमा जेड दिए । त्यस्तै उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका अध्यक्ष बुद्वराज बस्नेतले आयोजना बन्दा जनताको आर्थिक जीवनमा ठूलो परिवर्तन आउने ठोकुवा गरे ।

कार्यक्रममा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष राजकुमार बस्नेत लगाएत विभिन्न सरकारवालाहरु, विभिन्न वडाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएत व्यापक जनताको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।
सार्वजनिक सुनाइ कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले आफ्ना माग सहित लिखित रुपमा राखेका थिए । कालिका इनर्जीका अध्यक्ष कार्कीले प्रभावित जनताको जायज मागलाई सम्बोधन गरिने बताए ।

सार्वजनिक सुनाइ कार्यक्रममा सुरक्षाको व्यवस्था कडा पारिएको थियो । आइतबार प्रभावित बासिन्दा र कालीका बिच जनप्रपतिनिधीहरुको उपस्थितीमा आयोजना निर्माणमा एकआपसमा मिलेर सहयोग गर्ने १० बुँदे सहमती अनुसार दोस्रो पटकको प्रयासमा सार्वजनिक सुनुवाई हुन सकेको हो ।
आयोजनाले ३ साता अघि सोही ठाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएपनि स्थानीयको अवरोधका कारण हुन सकेको थिएन ।
स्मरण रहोस कालिका इनर्जीका अध्यक्ष कार्कीको नेतृत्वमा भोटेकोशी गाउँपालिकामा इलेक्ट्रोपावर कम्पनीद्वारा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजना तिब्र गतिमा निर्माण भईरहेको छ । कार्कीकै नेतृत्वमा सिन्धुपाल्चोक लगाएत देशका विभिन्न ठाउँमा गरी १० वटा भन्दा बढी आयोजनाहरु निर्माण क्रममा छन् ।
जलविद्युत निर्माणमा सफल व्यवसायीको दर्जा पाएका कार्कीले नेपाल विद्युत प्राधिकरण तथा विद्युत नियमन आयोगबाट विशेष सम्मान पाईसकेका छन् ।