राष्ट्रिय बीच भलिबलको पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा उदघाटन, सुकुटेलाई पर्यटन क्षेत्र घोषणा गर्ने उदघोष

दिनेश दुलाल
१ माघ, सुकुटे । सिन्धुपाल्चोको पर्यटकीय नगरी सुकुटेमा राष्ट्रिय बीच भलिबल प्रतियोगिताको आजबाट शुभराम्भ भएको छ । नेपाल भलिबल संघको संयोजनमा सिन्धु सुुकुटे पर्यटन व्यवसायी संघ सिन्धुपाल्चोक र सिन्धुपाल्चोक भलिबल संघको आयोजना तथा व्यवस्थापनमा सुरु भएको साँतौ महिला राष्ट्रिय तथा आठौं पूरुष राष्ट्रिय बीच भलिबल प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उदघाटन गरेका हुन् ।

राष्ट्रिय बीच भलिबल कार्यक्रमको उदघाटन पछिको मन्तव्यलाइ सम्बोधन गर्दै पूर्व प्रम प्रचण्डले आधिकारिक र वैधानिक रुपमा सुकुटे क्षेत्रलाई एउटा पर्यटन क्षेत्रको रुपमा घोषणा गर्न आफु लागि पर्ने उदघोष गरेका छन् । सुकुटे क्षेत्रसंगको आफ्नो सम्बन्ध पुरानो भएको बताउँदै पूर्व प्रम प्रचण्डले सुकुटे क्षेत्रको पर्यटन प्रर्वद्घन अभियानकै रुपमा पार्टीको उच्च स्तरको वैठक ३ बर्ष अघि राखिएको स्मरण सुनाए । सुकुटेलाई देशभरीकै जनतालाई चिनाउन आफू सफल भएको उनले दावी गरे । अहिले सुकुटे करिडोर पर्यटनकै रुपमा व्यापक विकास भएको देखेर आफु निकै उत्साहित भएको उनले सुनाए । सुकुटे संग जुगल हिमालको सम्बन्ध स्थापित गर्ने कुरा र त्यो मार्फत पर्यटनको विकास गर्ने कुरालाई आफूले प्रधानमन्त्रीको हैसियतले जुगल हिमालको भौतिक पूर्वाधार निर्माणको दृष्टिकोणले नीतिगत योजना पास गर्न सफल भएको उनले दावी गरे । आफूले तातोपानी नाकाको सन्दर्भमा चीनका राष्ट्रपति सिजिङपिङ संग तीनपटक तातोपानी नाका खोलिदिन आग्रह गरेको कारण नाका खुलेको दावी गर्दै तातोपानी सम्मको बिग्रिएको सडक सुधारको लागि जिल्लाका नेताहरुले आग्रह गरेपछि आईतबार भौतिक पूर्वाधार मन्त्रालयका सचिवसंग कुरा गरेर सकरात्मक जवाफ पाएको सुनाए ।

सिन्धुपाल्चोकको सुखमा र दुःखमा आफूले साथ दिएको बताउँदै प्रचण्डले सुनकोशी नदिमा राष्ट्रिय बीच भलिबल हुनु सुखद पक्ष भएको बताए । आफूले दोस्रो पटक राष्ट्रिय बीच भलिबल प्रतियोगिताको उदघाटन गर्ने अवसर पाएको बताउँदै प्रचण्डले यो अवसर दिलाउने नेपाल भलिबल संघ, सिन्धु सुकुटे पर्यटन व्यवासयी संघ तथा सिन्धुपाल्चोक भलिबल संघलाई धन्यवाद समेत दिए । आफु प्रधानमन्त्री हुँदा नै भलिबललाई राष्ट्रिय भलिबलको रुपमा सुरुवात गरिएको उनले दावि गरे ।

कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद माधव सापकोटा, बागमति प्रदेश सांसद सरल सहयात्री पौडेल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना लगाएतले सम्बोधन गरेका थिए । प्रमुख अतिथि रहेका प्रचण्डले अन्तराष्ट्रिय भलिबल संघका रेफ्री गौतम प्रसाद लासिवालाई भलिबल दिएर खेलको शुभराम्भ गराएका हुन । कार्यक्रममा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्रसिंह थापाले सुकुटे करिडोरमा सडक लगाएत पर्यटन क्षेत्रको विकास लागि पूर्व निर्माण पहल गरिदिन पूर्व प्रम प्रचण्डसंग १६ बुँदे प्रस्ताव राखेका थिए ।

माघ १ गते देखि ५ गते सम्म हुने प्रतियोगिताको पहिलो दिन १४ टिमको प्रतिश्पर्धा गराईएको आयोजक रहेको सिन्धुपाल्चोक जिल्ला भलिबलका अध्यक्ष रमेश कुमार खड्काले जानकारी दिए ।

कार्यक्रम सुरु हुनु अघि आयोजक तथा खेलाडीहरुले बाजा गाजा सहित सुकुटे बजारबाट ¥याली निकालेर कार्यक्रम स्थल पुगेका थिए ।
प्रतियोगितामा ३ विभागीय टिम तथा ६ प्रदेशबाट महिला तथा पुरुष खेलाडीहरु प्रतिश्पर्धामा उत्रने छन् ।

५ गते समापन हुने उक्त प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले विजयी तथा सहभागि खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्णबहादुर सापकोटाले जानकारी दिए ।