सिन्धुपाल्चोकमा भैंसीलाई पनि कांग्रेसमय बनाउने मोहन बस्नेतको उदघोष

पौष ११, बाह्रबिसे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम पूर्व सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा भैंसीलाई पनि कांग्रेसमय बनाउने उदघोष गरेका छन् ।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले शुक्रबार बाह्रबिसेमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले एकताका स्याङजामा गाइभैंसी कांग्रेसमय भएको चर्चा पाएझैं सिन्धुपाल्चोकमा पनि यसपटकको चुनावमा सोही चर्चा पाउने ठोकुवा गरे । ‘अब सिन्धुपाल्चोकमा मान्छे मात्रै होइन भैंसी पनि कांग्रेस बन्छ’, बस्नेतले भने ।

केन्द्रमा जो सुकै भएपनि सिन्धुपाल्चोकमा आफु नै सरकार भएको ठोकुवा गर्दै उनले फागुन २१ गतेको चुनावमा सबै दललाई पराजय गराएर देखाउने चुनौति दिए । जेन–जी आन्दोलनको क्रममा आफ्नो घर विपक्षी दलका कार्यकर्ताले आगोजनी गरेको ठोकुवा गर्दै नेता बस्नेतले बम बनाउन र बन्दुक चलाउन आफुले पनि जानेकोले कोही संघ नझुक्ने भन्दै चेतावनी दिए । सिन्धुपाल्चोकमा सबै विकास आफुले नै गरेको समेत उनले दावी गरे । टेरामक्स प्रकरणमा २५ लाख धरौटीमा छुटेर संसद पद समेत गुमाएका बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभाको लागि एकल उम्मेदवार हुन् ।

बाह्रबिसेको खोर्सानीबारी स्थित खेलकुद मैदानमा क्षेत्रीय सभापति बालकृष्ण बस्नेतको सभाअध्यक्षतामा गरिएको सभामा नेताहरु भोला बोहोरा, प्रेमध्वज लामा, दोर्जे लामा, भुपेन्द्र थापा, टंक कार्की, मसिना खड्का लगाएले सम्बोधन गरेका थिए ।