पाँचपोखरी थाङपाल गाउँपालिकाको आ.व ०८२÷८३ को बार्षिक समिक्षा सम्पन्न

कार्तिक २८, थाङपालधाप । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिकाको आर्थिक बर्ष २०८२÷८३ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा पालिका भित्र क्रियाशिल विभिन्न संघसंस्थाहरुले गरिरहेका काम, आगामी योजना, संभावना, अवसर र चुनौतीका बारेमा आ–आफ्नो प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा गाउँपालिकाले गरेका कार्य सम्पदाका बारेमा पालिका प्रशासकीय अधिकृत रामप्रसाद न्यौपानेले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँ पालिकाका अध्यक्ष टासी लामाले गाउँपालिकाले सन्तोषजनक काम गरिरहेको दावी गरे । उनले शिक्षा, स्वास्थ्य, पर्यटनका क्षेत्रमा गाउँपालिकाले गर्व गर्न लायक काम गरेको सुनाउँदै शिक्षा र स्वास्थ्यमा जिल्लामा पहिलो भएको दावी गरे । हालसम्मका उपलब्धि र प्रगतिलाई निरन्तरता दिन आगामी बर्षहरुमा समेत अगाडि बढाउन सबैको साथ र सहयोगको अपेक्षा गरे ।

सबैको साथ, सहयोग, समर्थन र एकताका कारण गाउँपालिकाले आज सुविधा सम्पन्न अन्य पालिकाहरुसंग हरेक क्षेत्रमा प्रतिस्पर्धा गरिरहेको जिकिर गरे । अध्यक्ष लामाले कर्तव्यनिष्ठ भएर सेवा गर्न निर्देशन समेत दिए । कार्यक्रममा उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल, पालिकाका प्रवक्ता नारायण भट्टराई, वडा अध्यक्षहरु, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।