अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम
कार्तिक २८, थाङ्पालधाप । अंग्रेजी निबन्ध लेखन प्रतियोगितामा थाङ्पालधाप माध्यमिक विद्यालय प्रथम हुन सफल भएको छ ।
पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ स्थित श्री थाङ्पालधाप माध्यमिक विद्यालयको अङ्ग्रेजी विभागद्वारा आयोजित अङ्ग्रेजी निवन्ध लेखन प्रतियोगिता भएको हो ।

गाउँपालिकाकै पुरानो प्रतिष्ठित र शैक्षिक गुणस्तरमा अब्बल विद्यालयको रुपमा स्थापित थाङ्पालधाप माध्यमिक विद्यालयको अङ्ग्रेजी विभागद्वारा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा गाउँपालिका भित्रका सबै माध्यमिक विद्यालयहरु सहभागी रहेका थिए ।
प्रतियोगितामा थाङपालधाप माध्यमिक विद्यालयका आरबी पौडेल पहिलो, भिमविद्याश्रम माध्यमिक विद्यालयका कृष्ण तामाङ दोश्रो, चण्डिका माध्यमिक विद्यालयका दावा साङ्बो बोम्जन तेस्रो र श्री याङग्री एकेडेमीक सेन्टरका मिङमार स्याङ्बो तामाङले सान्त्वना स्थान हाँसिल गरेको निर्णायक एवम् श्री सरस्वती माध्यमिक विद्यालय ग्यालथुमका प्रधानाध्यापक कुमार घोरासैनीले जानकारी दिए ।
वडा कार्यालयको सहयोगमा सम्पन्न कार्यक्रम विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सुदे वाइबाको अध्यक्षतामा भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले विद्यालयको प्रयास प्रशंसनीय रहेको भन्दै आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाउँपालिकाकै नमुना विद्यालयका रुपमा रहेको यस विद्यालयले हरेक क्षेत्रमा फड्को मार्दै अगाडि बढेको अध्यक्ष लामाले दावी गरे । कार्यक्रममा प्रमुख अतिथि लामाले गाउँपालिकाले शिक्षा र स्वास्थ्यमा उल्लेख्य काम गरिरहेको उल्लेख गर्दै त्यसको फलस्वरूप अहिले जिल्लामा पहिलो भएको बताए ।
विशेष अतिथि तथा वडाध्यक्ष नारायण नारायण भट्टराईले प्रतियोगितामा सहभागी सबै विद्यार्थीलाई बधाई दिँदै वडाबाट शैक्षिक गतिविधिमा निरन्तर सहयोग गर्ने आश्वासन दिए ।
कार्यक्रमको स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक आत्मराम दंगालले राखेका थिए ।
यसवर्ष गठन गरिएको अंग्रेजी विभागले छोटो समयमै विद्यालयलाई अङ्ग्रेजीमैत्री वातावरण बनाउँदै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
विभागमा—नवीन श्रेष्ठ (अध्यक्ष), शेरबहादुर तामाङ (सचिव), राजन काफ्ले (कोषाध्यक्ष), म्लाङगाइ बोम्जन र प्रेमकुमार धिताल (सदस्य) रहेका छन् ।
एस.ई.ई. तयारीमा सहयोग पु¥याउदै विद्यार्थीको अंग्रेजी लेखन सीप अभिवृद्धि गर्ने तथा प्रतिस्पर्धात्मक भावना विकास उदेश्यले कार्यक्रम आयोजना गरिएको अङ्ग्रेजी विभागका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिए । उनले गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयलाई सहभागिताका लागि धन्यवाद समेत व्यक्त गरे । थुप्रै सिर्जनात्मक कार्य गर्दै आएको विद्यालयले आगामी दिनमा समेत यस्ता कार्यक्रममा निरन्तरता दिने बताएको छ ।

