गंगालाई जिताउन सिन्धुपाल्चोकका सबै राजनीतिक दलका नेताले गरे आह्वान
भदौ १२, काठमाडौं । एपिवान टेलिभिजन रियालिटी शो नेपाल आइडलको छैटौं संस्करणको फाइलमा प्रवेश गरेकी सिन्धुपाल्चोककी चेली गंगा सोनामलाई भोट गरेर जिताउन सिन्धुपाल्चोकका सबै राजनीतिक दलका नेताहरूले जिल्लावासीलाई अपिल गरेका छन् ।
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बडहरे निवासी गंगा सोनाम नेपाल आइडलको विभिन्न चरण पार गर्दै टफ फाइभ अर्थात् फाइनलमा प्रवेश गरेकी छिन् ।

गंगालाई भोट मार्फत नेपाल आइडलको विजेता बनाउन सिन्धुपाल्चोक प्रतिनिधिसभा–१ का सांसद एवं माओवादी केन्द्रीय सदस्य माधव सापकोटा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत, नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेश सांसद युवराज दुलाल लगायतका नेताहरूले गंगालाई भोट मार्फत जिताउन अपिल गरेका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले गंगालाई जिताउनका लागि ५० हजार रुपियाँ बराबरको भोट गरेका छन् । त्यस्तै सांसद माधव सापकोटा लगायत सबै नेताहरूले भोट सहित सहयोगका लागि अनुरोध पनि गरेका हुन् ।
सांसद सापकोटाले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् ‘नेपाल आइडल सिजन ६ मा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१०, की २० वर्षीया गंगा सोनाम टप ५ फाइनलिस्ट बन्न सफल हुनुभएको छ । ग्रामीण परिवेशबाट उठेर आफ्नो सुमधुर आवाज र असाधारण सांगीतिक प्रतिभामार्फत दशौंलाख दर्शक एवं स्रोताको मन जितिरहनुभएकी गंगाको संघर्षपूर्ण यात्रा हामी सबैका लागि प्रेरणादायी र गर्व गर्न लायक छ ।’
उनले थप भनेका छन्–‘यही भदौ १५ गते हुने ग्रान्ड फिनाले निर्णायक घडी हो। गंगालाई विजयी बनाउन तपाईंको अमूल्य भोट अपरिहार्य छ । आउनुहोस्, नेपाल आइडल सिजन ६ मा गंगा सोनामलाई विजेता बनाउन हामी सबै मिलेर भोट गरौं । आफ्ना साथीभाइ तथा परिवारलाई पनि भोट गर्न अनुरोध गरौं ।’
यस्तै पूर्वमन्त्री मोहनबहादुर बस्नेतले समेत गंगालाई भोट मार्फत जिताउन आग्रह गरेका छन् । इन्द्रावती–१० बडहरेकी दलित समुदायमा जन्मेर टेलिभिजन रियालिटी शोमा उत्कृष्ट प्रदर्शन गरेकी गंगालाई भोट गरेर जिताउन वाग्मति प्रदेश सांसद युवराज दुलाल तथा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अनुरोध गरेका छन् । एपी वान टेलिभिजनबाट प्रत्येक साताको शुक्रवार र शनिवार नेपाल आइडल प्रसारण हुँदै आएको थियो । भदौ १५ गते ग्रान्ड फिनाले हुँदैछ ।

