हेलम्बुको एउटै गाउँबाट डल्ले खोर्सानी बेचेर ५० लाख आम्दानी गर्ने युवाहरुको लक्ष्य
दिनेश दुलाल
साउन २२, हेलम्बु । सुन्दा अचम्म लाग्छ, तर यो साँचो हो । पर्यटकीय क्षेत्र हेलम्बु गाउँका युवाहरुले डल्ले खोर्सानी बेचेर बार्षिक ५० लाख भन्दा बढी आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

गाउँपालिका–५ भारती डिप्लोका युवाहरुले रैथाने जातको डल्ले खोर्सानीलाई आधुनिक प्रविधि अपनाउदै व्यावसायिक खेतीमा रुपान्तरण गर्दै आएका छन् ।
नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको सिमाना पर्ने गोल्फु भञ्ज्याङ् नजिक रहेको हेलम्बुको ‘भारती डिप्लोमा’ गाउँ समुन्द्री सतह देखी १ हजार ८ सय मिटर उचाईमा रहेको छ । गाउँभन्दा माथि २४ सय मिटर उचाइ रहेको लेकमा लटरम्म स्याउ फलेको देख्न सकिन्छ भने तल गाउँमा पाखोबारीमा किसानले लगाएको डल्ले खोर्सानीको हराभरा देख्न सकिन्छ ।

डल्ले खोर्सानी व्यवसायिक खेतीको सुरुवात त्याँहीका युवा बीरजित तामाङले ५ बर्ष अघिदेखि गरेका थिए । त्यसपछि हाम्रो साझा कृषि सहकारी संस्थाको समन्वय र सहयोगमा हेलम्बु कृषि शाखाले अर्थिक बर्ष २०८१÷८२ कार्यक्रमबाट आधुनिक प्रविधिद्वारा खोर्सानी रोप्न प्रयोग गरिने मल्चिङ प्लास्टिक ५०% अनुदानमा दिएको सहकारीका अध्यक्ष सानुकान्छा तामाङले बताए ।

उक्त अनुदान पाएसंगै हेलम्बु ५ को विभिन्न टोलमा त्याहाँका युवाहरुले व्यावसायिक डल्ले खोर्सानी खेती बिस्तार गरेको व्यवसायी बीरजित तामाङ बताउँछन् । बीतरजितले मात्रै ३ हजार खोर्सानी बोट लगाएका छन् । डल्ले खोर्सानीको अगुवा रहेका बीरजितले मात्रै खोर्सानीबाट गत साल ५ लाख भन्दा माथी आम्दानी गरेको बताए । ‘गत साल असिनाले गर्दा अलि कम भयो यो साल त्यो भन्दा बढी आम्दानी हुन्छ’, बीरजितले भने । उनका अनुसार हेलम्बु–५ का विभिन्न टोलमा गरी त्याहाँका युवा किसानले १५ हजार भन्दा माथी खोर्सानीको बोट हुर्काएका छन् ।
सोही गाउँको खर्पुजे, प्रम्ची डाँडा लगाएत स्थानमा लगाईएको व्यवसायिक डल्ले खोर्सानी खेतीबाट याे बर्ष ५० लाख भन्दा माथि आम्दानी हुने अपेक्षा गरेकाे अर्का व्यवसायी बीरमान तामाङले बताए । उनी जस्तै पारित, सन्ज्या र बुद्वि तामाङ लगाएत युवाहरुले यो व्यवसाय गरेका छन् । डल्ले खोर्सानी औषधीजन्य भएको हुनाले स्थानीय स्तरमै विक्री हुने र बढी भएको मात्र काठमाडौं सम्म लैजाने गरेको व्यवसायी तामाङ बताउँछन् ।
हेलम्बु गाउँपालिका कृषि शाखाद्वारा ५०% अनुदानमा एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत उक्त वडामा आधुनिक खेती गर्न प्रयोग गरिने मल्चिङ प्लाष्टिक पाए संगै त्याहाँका युवा किसान डल्ले खोर्सानी खेतीमा आकर्षित हुँदै आएको हेलम्बु कृषि शाखाका प्रमुख भुपेन्द्र वलीकाे कथन छ । गाउँपालिका कृषि शाखाले डल्ले खोर्सानी व्यवसाय गर्ने किसानलाई मल्चिङ प्लाष्टिक र प्राविधिक सहयोग गरिएको उनले बताए ।

