चौतारा साँगाचोकगढी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

दिनेश दुलाल
५ जेठ (२०८२), चौतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ ।

स्वास्थ्य शाखाको आयोजनामा “पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा कार्यक्रम” बिहिबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रम नगर प्रमुख कृष्णप्रसाद सापकोटाको अध्यक्षमा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बरका १ का सांसद माधव सापकोटाले उदघाटन गरेका हुन् । सांसद कार्यक्रमका प्रमुख अतिथि माधव सापकोटाले नेपाल सरकारको दिगो लक्ष्यको १६ औं योजनाले खोप र स्वास्थ्यलाई अनिवार्य र नैसर्गिक अधिकारकारका रुपमा स्वीकारेकाले सो लक्ष्य पूरा गर्न लागिपरेको प्रती नगरपालिकालाई धन्यवाद ज्ञापन गरे । पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणाले मात्र अपुग हुने बताउँदै सांसद सापकोटाले कसरी दिगोपन बनाउनेभन्ने चुनौति रहेको हुँदा सबैको एकतावद्धताले मात्र पूरा हुने ठोकुवा गरे । १३ वटा बुँदामा १६ औ योजनामा पूर्ण खोप सुनिश्चिता कार्यक्रम रहेको उल्लेख गर्दै सांसद सापकोटाले सुशासनको माध्यामबाट समृद्धिको दिशामा मुलकलाई लैजान सकिने तर्क राखे ।

घोषणा सभामा जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ र जिल्ला जनस्वास्थ्य प्रमुख दुर्गा बजगाईंले पूर्ण खोप घोषणाको प्रमाण –पत्र नगर प्रमुख कृष्णप्रसाद सापकोटालाई हस्तान्तरण गरेका थिए । समारोहमा जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठले नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपनलाई शुभकामना दिए ।

नगर प्रमुख कृष्णप्रसाद सापकोटाले पूर्ण खोप घोषणा गर्न मिहिनेतका साथ काम गर्नु हुने स्वास्थ्य कर्मी तथा स्वयंसेविकाहरुको उच्च प्रशंसाा गरे । सदरमुकाममा स्वास्थ क्षेत्रमा पहुँच पुगेपनि दुर्गम ठाउँमा नपुगेको अवस्था औंल्याउँदै उनले गाउँघर क्लिनको रूपमा विकास गरिएको समेत बताए ।

समारोहमा उपप्रमुख सीता थापा, प्रमुख जिल्ला अधिकारी किरण थापा, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगाई , नगरपालिकाका सामाजिक विकास समितका संयोजक रामप्रसाद गौतम र नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोका उपाध्यक्ष दीपक अर्याल लगाएतकाले मन्तव्य राखेका थिए ।

जनस्वास्थ्य कार्यालय प्रमुख बजगाईका अनुसार २०७२ साल देखि सिन्धुपालचोक जिल्लाका बालबालिकाहरलाई १४ थरीका खोप लगाइन्छ । माघ महिनाबाट सुरू भएर चैतमा सकिने उनको भनाई छ । खोपलाई युनिसेफ तथा विश्व स्वास्थ्य संगठनले सहयोग गरिएको समेत उनले जानकारी दिइन । १६ देखि २३ महिनाका बालबालिकाहरूलाई दिने खोप ऐन र संविधानले उल्लेख गरेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिका भरीका स्वास्थ्य शाखाहरुको सबै प्रकारको खोप पूरा गरेकाले पूर्ण खोप नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दिनेश नेपालले जानकारी दिए । उनका अनुसार चौतारा नगरभरीका १६ देखि २३ महिनाका ४५८ बालबालिका सबैले सबै प्रकारको खोप पूरा गरेकाले पूर्ण खोप नगरपालिका घोषणा गरिएको हो । सोही कार्यक्रमको अवसरमा नगरका १४ वटै वडा तथा त्याँहा रहेका स्वास्थ्य शाखाहरुलाई खोप सुनिश्चिताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

जिल्ला समन्वय समिति प्रमुख– जिल्ला खोप समन्वय समितिको अध्यक्ष र जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख सचिव हुने व्यवस्था छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ११ पालिकाको पूर्ण खोप सुनिश्चिता तथा दिगोपन घोषणा कार्यक्रम भईसकेको छ । अब बाँकी पाँचपोखरी थाङपाल गाउँपालिका रहेको हुनाले केही दिनभित्रै घोषणा गरिने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।