चक डस्टर बोकेर कक्षा कोठामा रमाउने शिक्षकहरु पञ्चेबाजामा !

दिनेश दुलाल
२६ जेठ (२०८२), चनौटे । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका स्थित भिमसेन मावि गोल्चेका शिक्षक बसन्त विनोद शर्माले विद्यालयका बालबालिकाहरुलाई पढाउँदै रमाउँथे । चकडस्टर बोकेर तल्लो कक्षा देखि माथिल्लो कक्षामा विभिन्न विषमा पढाएको निकै बर्ष भईसक्यो ।

विद्यालयमा हुने गीत, नृत्य तथा विभिन्न साँस्कृतिक कार्यक्रममा आफू पनि सिक्दै बालकालिकाहरुलाई समेत मनोरञ्जन तथा ज्ञान दिएर कयौं बालबालिकाहरुको भविष्य बनाई दिएका शर्मा भने अहिले आफैं फरक विधाको प्रशिक्षार्थी बनिरहेका छन् । उनले पञ्जे बाजाको नरसिंहा सिक्दै छन् । शर्माले शिक्षण पेशा छाडेर पञ्चेबाजाको नरसिंहा सिकेको भने पक्कै होइन । जुगल गाउँपालिकाको स्थानीय कला लोक संस्कृतिलाई जगर्ने गर्ने हिसाबले गुरुबाट गुरुलाई नै सिकाउने कार्यक्रम अन्र्तगत सम्बन्धित संघ संस्था वा विद्यालयको सहकार्यमा विद्यालय केन्द्रित संस्कृति प्रर्वद्घन प्रशिक्षण कार्यक्रमा लोपोन्मुख बाजा पञ्चेबाजाको नरसिंहा सिकेका हुन् ।

विद्यार्थीहरुलाई नियमति सिकाउने पाठ्य सामाग्रीको अध्यापन भन्दा आफैंले सिक्ने पञ्चेबाजा फरक र नयाँ अनुभव भएको उनले सुनाए । उनले आफूले थोरै दिनमा धेरै सिकेको र सिक्ने अवधि सम्म राम्रै सिक्ने आशा जागेको उनले बताए । त्यस्तै घिउल देवी आधारभूत विद्यालय सञ्चगाउँका शिक्षक जनक केसीले टेम्बो बजाउन सिकेका छन् । आफूले सिकेको सिप निकै रोचक र उपयोगी रहेको उनले सुनाए । आफूले सिकेर विद्यालयका बालबालिकाहरुलाई समेत सिकाईने उनको चाहाना छ । त्यस्तै गुम्बामा रहेको क्याब्लुङथाङ आधारभूत विद्यालयकी डोल्मो तामाङले समेत निकै उत्साहका साथ पञ्चे बाजाका विभिन्न विधाहरु सिकिरहेकी छिन । शिक्षक त्रय शर्मा, केसी र तामाङ पञ्चेबाजाका प्रशिक्षार्थी बनेका प्रतिनिधि पात्र हुन । उनीहरु जस्तै जुगलका विभिन्न विद्यालयका झण्डै तीन दर्जन शिक्षक शिक्षिकाहरु अहिले रत्नराज्य माविमा बाजा बजाउने कला सिकीरहेका छन् । त्याँहा दैनिक रुपमा विभिन्न भाकामा ताल मिलाएर बाजा बजेपछि हेर्न जाने स्थानीयको समेत लर्को छ । ‘दलित समुदायले मात्रै बाजा बजाउँछ’ भन्ने पुरानो प्रथालाई उनीहरुले तोडेका मात्र छैनन । स्थानीय कला, संस्कृतिको जगेर्ना गर्दै स्थानीय समुदायका सबै मान्छेले सीप सिकेर आर्थिक आम्दानी गर्ने बाटो समेत खोलिदिएका छन् । यो अवसर भने जुगल गाउँपालिकाले जुटाइदिएको हो ।

स्थानीय लोक संस्कृतिलाई जगर्ने गर्ने हिसाबले गुरुबाट गुरुलाई नै सिकाउने उद्देश्यले यस्तो खालको कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए । वाग्मति प्रदेश सरकार अन्र्तगत सामाजिक विकास मन्त्रालयबाट विनियोजित ८ लाख बजेट सामाजिक विकास कार्यलय धुलिखेलबाट कार्यान्वयन हुनेगरी जुगल गाउँपालिकाको व्यवस्थापन तथा रत्न राज्य माध्यामिक विद्यालयको सह व्यवस्थापनमा उक्त कार्यक्रम भएको अध्यक्ष स्याङबोले जानकारी दिए । उनका अनुसार शनिबार वाग्मति प्रदेश सांसद सरल सहयात्री पौडेलले उक्त तालिमको उदघाटन गरेका थिए । तालिम जेठ २४ गतेबाट सुरु भएर असार ३ सम्म रहने आयोजकले जनाएको छ ।

जुगलका १८ विद्यालयका ३० जना शिक्षकहरुलाई उक्त तालिम दिइएको जुगल गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदिप पराजुलीले जानकारी दिए । रत्नराज्य मावि चनौटेमा गरिएको उक्त तालिमको मुख्य व्यवस्थापक गाउँपालिका रहेपनि प्रशिक्षार्थीहरुलाई खाने, बस्ने लगाएत व्यवस्थापन र सहजीकरण विद्यालयले गरेको विद्यालयका प्रध्यानध्यापक टिकादत्त पौडेलले जानकारी दिए । तालिमको संयोजन गरिरहेका भेषराम उपाध्यायले तालिममा सहभागीहरु उत्साहका पूर्वक सहभागि भएको बताए । तालिममा प्रशिक्षक राष्ट्रिय संगितकर्मी संघ सिन्धुपाल्चोक जिल्लाका निवर्तमान अध्यक्ष इश्वर सापकोटा, हरिबहादुर भुषाल र गणेश भुषाल रहेका छन् ।

तालिममा पञ्चेबाजा, धिमेवाजा, डम्फु, खैजेडी, सारङ्गी, टुङना, बच्छे बाजा, ढ्याङग्रो, बाँसुरी, मादल, हाम्रोनियम लगाएत १६ थरीका स्थानीय लोक संस्कृतिसंग सम्बन्धित बाजाको प्रशिक्षण दिईएको प्रशिक्षक सापकोटाले बताए । उनका अनुसार शिक्षकहरुलाई १० बजे देखि ५ बजे सम्म तालिम दिईन्छ । सबै प्रशिक्षक सिन्धुपाल्चोककै रहेका छन् ।

स्थानीय लोकसंस्कृति लोप हँुदै गएको अवस्थामा जुगल यो खालको सुरुवातले लोकसंस्कृतिको जगेर्ना हुने गाउँपालिकाको ठहर छ । जुगल गाउँपालिकामा शिक्षकहरुलाई दिईएको यो खालको तालिम १२ स्थानीय तह मध्येकै सम्भवत पहिलो कार्यक्रम हो । यस्तै खालको कार्यक्रम लिसंखुपाखर गाउँपालिकामा भएपनि त्याहाँ विद्यार्थीहरुलाई मात्र दिईएको छ ।