मेलम्ची नगरपालिकाद्वारा बाढी प्रभावितलाई आर्थिक सहयोग प्रदान

साउन २९, मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाले बाढी प्रभावितहरुलाई आर्थिक सहयोग प्रदान गरेको छ । नगरपालिकाले प्रभावितहरुलाई राहत स्वरुप बैंकमा रकम जम्मा गरिदिएको हो । बाढीबाट प्रभावित भएकाहरुको क्षतिको वर्गीकरण अनुसार २५, २०, १५ र १० हजारका दरले रकम जम्मा गरिदिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार अहिलेसम्म ३ सय ११ जनाको खातामा रकम जम्मा गरिदिएको छ । जसअनुसार नगरपालिकाले २ सय ८६ र नेपाल रेडक्रस सोसाइटीले २५ हजारका दरले २५ जनालाई गरी ३ सय ११ जनाको खातामा रकम जम्मा गरिदिएको हो ।
नगरपालिकाका अनुसार मेलम्चीमा रहेका नेपाल बैंक, कुमारी बैंक, सिभिल बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंक, सिन्धु विकास बैंक लगाएत बैंकमा प्रभावितको रकम जम्मा गरिदिएको हो । प्रभावितहरुको खातामा रकम जम्मा गर्न अझै बाँकी रहेको नगरपालिकाले जनाएको छ । छुटपुट भएमा प्रभावितहरुलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।