सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा सबैभन्दा कम बेरुजु

१ जेष्ठ (२०८२), चौतारा । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको स्थानीय तह बन्न सफल भएको छ ।
महालेखा परीक्षकको प्रतिवेदन अनुसार सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये इन्द्रावती गाउँपालिका सबैभन्दा कम बेरुजु देखिएको हो ।

महालेखा परीक्षकको प्रतिवेदनले बेरुजुको अवस्था सुधार गर्न वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिनु पर्ने सिफारिस गरेको छ । इन्द्रावती गाउँपालिकाले समयमै लेखापरीक्षण, खर्च विवरण सार्वजनिक गर्ने, तथा अनुगमन र समिक्षालाई प्रभावकारी बनाएको जनाइएको छ ।

सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानीय तहहरूमा पनि बेरुजु देखिएको भएपनि इन्द्रावतीले उदाहरणीय प्रगति गरेको प्रतिवेदनले देखाएको छ ।गाउँपालिकाको निकै प्रयास र प्रयत्नद्वारा गाउँपालिका बेरूजु कम गराउन सफल भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले बताए । उनका अनुसार गाउँपालिकाले नियमसम्मत ढंगले योजनाका कामहरूलाई चुस्त,पारदर्शी र रितपुरक कागज प्रक्रियाका आधारमा सम्पन्न गराएर मात्र भुक्तानी दिने गरेका कारण बेरूजु कम भएको हो । गाउँपालिकाले हरेक योजनाहरूलाई गाउँसभा तथा कार्यपालिकाको बैठकबाट पास गरेर सम्झौताका आधारमा मात्र भक्तानी दिने गरेको उनको भनाई छ ।
यस्तै प्रतिवेदन अनुसार सिन्धुपाल्चोककै चाैतारा साँगाचाेकगढी नगरपालिका याे बर्ष जिल्लाको सबैभन्दा बढी बेरुजु हुने पालिका भएको छ ।

स्मरण रहोस गत साल इन्द्रावती गाउँपालिका देशकै दोस्रो उत्कृष्ट गाउँपालिका घोषित हुन सफल भएको थियो । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा इन्द्रावती गाउँपालिका देशभरकै दोश्रो स्थान हाँसिल गरेको थियो । देशभरकै स्थानीय तह अन्तर्गत ४ सय ६० गाउँपालिका मध्य इन्द्रावतीले द्वितीय स्थान हासिल गरेको थियो भने कुल ७ सय ५३ स्थानीय तह मध्य ५ औं स्थान हाँसिल गर्न सफल भएको थियो ।