झनै व्यवस्थित बन्यो तातोपानी धारा, आरजुद्वारा स्नान गृहको उदघाटन

५ बैशाख (२०८२), तातोपानी । भूकम्प र भोटेकोशी बाढीले क्षति पु¥याएको तातोपानी धारा पुनर्निर्माण पछि झनै व्यवस्थित बनेको छ ।

भोटेकोशी गाउँपालिकाले आफ्नै लगानी ६ करोडमा दुई पक्की भवन तथा स्नानगृह तयार पारेपछि पहिलेको भन्दा व्यवस्थित र भव्य तातोपानी धारा निर्माण भएको गाउँपालिकाले जनाएको छ ।

नेपाल–चीन सीमा नाका सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ मा नवनिर्मित स्नान गृह भवनको परराष्ट्रमन्त्री आरजु राणा देउवाले उदघाटन गरेकी हुन् । चीनसँग सिमाना जोडिएको भोटेकोशीमा रहेको तातोपानी धारा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर स्नानगृह भवन सहित नयाँ संरचना निर्माण गरिएको गाउँपालिका अध्यक्ष पासाङ नुर्पु शेर्पाले बताए । नयाँ संरचनामा बगैँचा, स्विमिङपुल रहेको र अन्य संरचना बन्न बाँकी रहेको उनले जानकारी दिए ।

वडा नम्बर २ का वडाअध्यक्ष कुमार श्रेष्ठका अनुसार तातोपानीमा बाहिर देखिने गरी पुरानो सातवटा धारा छन् । हाल बनेका नयाँ भवनमा ४७ वटा बाथटव निर्माण गरिएको छ । तातोपानी धारा संरक्षण समितिको तथ्याङक अनुसार कात्तिकदेखि चैतसम्म सिजनमा दैनिक एक हजारसम्म पर्यटकले तातोपानी धारामा स्नान गरेर सीमानाका भ्रमण गर्छन् । त्यस्तै अफसिजनमा पनि दैनिक सय पर्यटक तातोपानी पुग्छन् ।
तातोपानी धारा व्यवस्थित भएपछि पर्यटक र भक्तजनहरु पहिले भन्दा दोब्बरले थपिने अपेक्षा स्थानीय तहले गरेको छ ।

प्राकृतिक रूपमै तातोपानीको मूल भएको सो स्थानमा परापूर्वकालदेखि नै आन्तरिक तथा बाह्य पर्यटक स्नानका लागि तातोपानी धारा आउँछन् । तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी बिमार सञ्चो हुने विश्वास गरिन्छ । यहाँ चीन र भारतका पर्यटक आउँछन् ।

परराष्ट्रमन्त्री राणा हेलिकोप्टरमा तातोपानी उत्रेकी हुन् । लगत्तै उनले नेपाल–चीन सीमा क्षेत्रको निरीक्षणसमेत गरिन् । उनलाई खासास्थित चिनियाँ अधिकारीले तातोपानी धारामा आएर स्वागत गरेका थिए ।