हेलम्बु गाउँपालिकोको प्रशासकीय भवन निर्माणको बाटो खुल्यो, १९ करोडको श्रोत सुनिश्चित

भ्रामक समाचारप्रति पालिका अध्यक्षको ध्यानाकर्षण

७ चैत्र, किउल । गाउँपालिका भवन बन्न अनिश्चित बनेको हेलम्बु गाउँपालिको प्रशासकीय भवन बन्न अब बाटो खुलेको छ ।
खानेपानी मन्त्रालयले श्रोत सुनिश्चिता तथा खर्च व्यवस्थापन गरेसंगै ८ बर्ष सम्म नबनेको प्रशासकीय भवन अब बन्ने निश्चित भएको छ ।
गाउँपालिकाले तयार गरेको डिपिआर अनुसार बहुबर्षीय ठेक्का रहनेगरी उक्त भवनको १९ करोड ९१ लाख ९१ हजारको श्रोत सुनिश्चताको लागि अर्थमन्त्रालयमा पठाईएको हो । मन्त्रालयले पहिलो बर्ष ४ करोडको ठेक्का लाग्ने जनाएको छ ।

भवन निर्माणको लागि श्रोत समेत सुनिश्चित भईसकेको अवस्थामा प्रशासकीय भवन निर्माणका लागि जग्गा व्यवस्थापनसम्बन्धी भ्रामक समाचार आएको भन्दै गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सामाजिक सञ्जाल फेसवुक मार्फत ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन् –‘हालसालै विभिन्न सञ्चार माध्यमहरूमा हेलम्बु गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापनसम्बन्धी भ्रामक तथा तथ्यहीन समाचार प्रसारण भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले थप भनेका छन् –‘हामी स्पष्ट पार्न चाहन्छौं कि जग्गा व्यवस्थापनसम्बन्धी वास्तविकता भनेको उक्त जग्गा हेलम्बु–२, किउल निवासी एवं नेकपा (एमाले) सिन्धुपाल्चोकका जिल्ला उपाध्यक्ष अर्जुन भण्डारीका पिता ज्ञानबहादुर भण्डारीको संयोजकत्वमा गठित एक समिति अन्तर्गत रहेको छ । उक्त समितिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका राजनीतिक दलका प्रतिनिधिहरू समेत गरी कुल २६ जना सदस्यहरू रहेको जानकारी गराउन चाहन्छौं ।

केही सञ्चारमाध्यमहरूले गलत रूपमा जग्गा गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको नाममा रहेको भनी समाचार सम्प्रेषण गरेका छन्, जुन पूर्णतः गलत र आधारहीन छ । वास्तविकता के हो भने, यो जग्गा उक्त समिति अन्तर्गत नै रहेको छ र जग्गा दाताहरूलाई वितरण गर्ने जिम्मेवारी पनि समितिकै हो।

राजनीतिक प्रतिशोधका रूपमा समाचार सम्प्रेषण – यो विषयलाई राजनीतिकरण गर्दै गलत उद्देश्यका साथ समाचार सम्प्रेषण गरिनु निन्दनीय छ । सार्वजनिक हितमा कार्य गर्ने सबै राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूले मिलेर यसको समाधान खोज्नुपर्छ ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माण प्रक्रिया अघि बढ्दै – गाउँपालिकाको प्रशासकीय भवन निर्माण प्रक्रियालाई तीव्रता दिँदै टेंडर (ठेक्का) प्रक्रिया छिट्टै सुरू हुन लागेको छ । यसले गाउँपालिकाको सेवा प्रवाहमा सुधार ल्याउनुका साथै स्थानीय विकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ ।

गाउँपालिकाले एक रुपैयाँ पनि खर्च नगरी ५५ रोपनी जग्गा आफ्नो नाममा ल्याएको ऐतिहासिक उपलब्धि – नेपाल अधिराज्यभर कुनै पनि गाउँपालिकाले आफ्नो बजेटबाट एक रुपैयाँ खर्च नगरी यति धेरै जग्गा व्यवस्थापन गरेको उदाहरण बिरलै पाइन्छ । हेलम्बु गाउँपालिकाले कुनै खर्च नगरी ५५ रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएको छ, जुन गाउँपालिकाको ऐतिहासिक उपलब्धि हो। यस कार्यमा योगदान पु¥याउने सबै पक्षहरूलाई धन्यवाद दिन चाहन्छौं ।

आगामी कदम – हामी सम्बन्धित पक्षहरूलाई आग्रह गर्न चाहन्छौं किः मिडियाले वस्तुनिष्ठ पत्रकारिता गर्दै सत्यतथ्य बाहिर ल्याहोस्।
सम्बन्धित समिति र पालिका प्रशासनले जग्गा व्यवस्थापनको निकास शीघ्र निकालोस् ।
स्थानीय बासिन्दाहरू तथा सरोकारवाला पक्षहरूले तथ्यहीन समाचारप्रति विश्वास नगरी सत्य तथ्य बुझ्न पहल गरून् । प्रशासकीय भवन निर्माणको टेंडर प्रक्रिया छिट्टै सुरू हुन लागेको हुनाले सबै पक्षले सहकार्य गरी विकास कार्यलाई अगाडि बढाउन सहयोग गरून् ।’
गाउँपालिकाले ५५ रोपनी जग्गा निःशुल्क रूपमा व्यवस्थापन गरेको उपलब्धिलाई सबैले सकारात्मक रूपमा हेरी विकासको गति तेज पार्न योगदान दिऊन्। यस सन्दर्भमा, हामी पुनः सबैलाई आग्रह गर्दछौं कि तथ्यहीन समाचारको पछि नलागी सत्यतथ्य बुझ्न र सार्वजनिक हितका लागि मिलेर काम गर्न सहकार्य गरौँ।