तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माणमा चरम लापरवाही

टावर निर्माणको अनियमितामा जनप्रतिनिधि नै मुछिए

२५ माघ, चोकटी (सिन्धुपाल्चोक) । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माणधिन अवस्थामा छ । ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् अबको केही समयमै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । तर त्यहि राष्ट्रिय प्रसारण लाईनको लागि धमाधम ठडाईएको टावर कमसल निर्माणका कारण सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका अन्र्तगतका दुई बस्ती जोखिमा परेका त्याहाँका स्थानीयले बताएका छन् । गाउँपालिकाको वडा नम्बर २ अन्र्तगत बनेका टावर निर्माण चरम लापरवाही र अनियमिता भएको उनीहरुको ठहर छ । यसमा त्याहाँका एक जनप्रतिनिधि मुछिएका छन् ।

तामाकोशी–काठमाडौँ प्रसारण लाइन टावर निर्माणमा चरम लापरवाही र अनियमिता भएपछि विरोधमा उत्रिएका त्रिपुरासुन्दरी–२ पबिदलका स्थानीय

नेपाल सरकार, नेपाल विद्युत् प्राधिरकण तथा एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा उच्च क्षमताको प्रसारण लाइन निर्माण सम्पन्न गर्ने अवस्थामा पुगेको ४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइनको टावर निर्माणमा तोकिएको मापदण्ड अनुसार निर्माण सामाग्री प्रयोग नगरेपछि बस्ती नै जोखिममा पर्न सक्ने भन्दै दुई नम्बर वडा अन्र्तगत पबिदलका स्थानीय आन्दोलित भएका छन् । केइसी इन्टरनेशनल इन्डिया लिमिटेडले ठेक्का पाएको खिम्ति–बाह्रबिसे पहिलो खण्ड अन्र्तगत गाउँपालिकाको २ नम्बर वडामा निर्माण गरिएको टावर सपोटको लागि राखिएको ग्याबिङ वाल समेत धराप बनेको कारण पबिदलमा रहेको करिब ४० घरधुरी जोखिममा रहेको स्थानीय चित्रबहादुर गुरुङले बताए । टावर रक्षाको लागि बनाईएको जाली गाह्रो राम्रोसंग नलगाईएको कारण त्यो पल्टेर सिधै बस्तीमा आउने उनले बताए ।

टावर निर्माणका लागि ल्याईएको शिवम ओपिसी सिमेन्ट वडा नम्बर २ कै लुगुर्पाको बारीको कुनामा लुकाएर राखिएको अवस्थामा करिब २०० बोरा सिमेन्ट । उक्त सिमेन्ट टावर निर्माण स्थलमा प्रयोग गरिएको सिमेन्टको खोल र उक्त सिमेन्टको लोगो एकै प्रकारको रहेको छ ।

त्याहिँका स्थानीय ताजी थामीका अनुसार टावर निर्माण गरिएको स्थलबाट बस्तीमा ढङ्गा आउने गरेको तथा सडक खनिएको ठाउँबाट बर्षायाममा भल आएर बस्ती पहिरोको जोखिममा रहेको छ । सोही वडाको तल्लो भेग २० धुरी रहेको कान्ले बस्ती समेत टावरका कारण जोखिममा रहेको त्याहाँका स्थानीयले बताएका छन् ।

टावर निर्माण सपोर्टका लागि लगाईएको ग्याबिङ वाल । जाहाँ अहिले पल्टिने अवस्थामा रहेको छ ।

उसोत टावर निर्माणमा घोटला समेत भएको त्यहि कार्यरत मजदुर अशोक ढकालले सिन्धुज्वालालाई बताए । दुई नम्बर वडाअध्यक्ष नै अनियमितामा संलग्न भएको उनको भनाई छ । वडाअध्यक्ष रमेश राउतको नाममा रहेको लुना निर्माण सेवाले मुख्य ठेकेदार कम्पनी केइसी संग ३ वटा (५८–१, ५८–२ र ६१ नम्बरको टावरको पेटी ठेक्का पाएको थियो । टावरको लागि लगिएको सिमेन्ट र रट समेत वडाअध्यक्ष राउतले आफ्नो घर निर्माणमा प्रयोग गरेको ति मजदुरको दावी छ । बाह्रबिसेबाट लगिएको रट सिमेन्ट समेत वडाअध्यक्ष राउतको निर्देशनमा वडअध्यक्षकै निवासमा पटक पटक लगिदिएको ट्याक्टर चालक प्रविण नाम गरेका मजुरले सुनाए । सरकारको काममा सरकारकै रक्षक रहेका जनप्रतिनिधि नै अनियमितामा लागेको आफूले भिडियो समेत बनाएको उनको दावी छ । केइसीका सुपर भाइजर रहेका रमेश भुजेलले समेत रट र सिमेन्ट लगाएत सामाग्री हराएको स्विकारे । वडाअध्यक्ष राउतले टावर निर्माणको लागि लगिएको सिमेन्ट स्थानीय एक थामी थर भएका व्यक्तिलाई घर निर्माणका लागि प्रति बोरा ७०० को दरले ८० बोरा बिक्री गरिएको एक स्थानीयले नाम नछाप्ने शर्तमा सिन्धुज्वालालाई बताए ।

पहिरोले क्षतविक्षत टावर । जाहाँ मर्मत नगरी धमाधम प्रसारण लाईन टाँगिंदैछ ।

दोलखा हुँदै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ भित्रको सबस्टेशन टावर अधिकांश सोही ठाउँका स्थानीय वडाअध्यक्षले नै कब्जा गरी निर्माणधिन टावरमा जगै देखि कमसल सामाग्री प्रयोग गरी मापदण्ड भन्दा ५०÷६० प्रतिशत नै सिमेन्ट र रटको मात्रमा लापरबाही गरी राष्ट्रिय गौरबको आयोजनालाई धारशाही पार्ने काम भएको स्थानीयको भनाई छ । एक मजदुरले नाम नबताउँने सत्रमा दुई नम्बर वडाअध्यक्षले नै आफ्नो ठेक्का भएको हुनाले आफ्नो कामदारलाई धम्काएर सिमेन्टको मात्रा स्टमेट भन्दा कम हाल्न लगाएका थिए ।

वडाअध्यक्षकै निर्देशनमा रातारात सिमेन्टी रट अन्य ठाउँमा लगि विक्रीवितरण तथा आफ्नै घर टहरा उक्त सामाग्रीबाट बनाएको स्थानीयको दावी छ । उक्त कमसल सामाग्री संरचना बनाउन प्राधिकरणको अनुगमन तथा निगरानी नभएको समेत उनीहकोरूकाे जिकिर छ । प्राधिकरणले छुट्टै प्राविधिको व्यवस्था नहुनु तथा ठेकेदार र केईसी कम्पनीको केही कर्मचारीसंग मिलेमतो भएको स्थानीयको दावी छ । सो टावर ढलेमा गाउँ, मानव बस्ती र बनजंगल समेत नष्ट भई देशले अर्बौंको क्षति व्यहोर्नु पर्ने त्याहाँका स्थानीयले चेतावनी दिएका छन् । त्यस खालको अनियमितालाई सम्बन्धित निकायले छिटो भन्दा छिटो ल्याव टेष्ट गरी सत्य सत्थ्य कुरा जनताको माझमा ल्याउन उनीहरुको माग छ ।

प्रसारण लाईनको एउटा खुट्टामा कम्तिमा ४ सय बोरा गरेर प्रति टावर न्युनतम १६ सय बोरा प्रयाेग गर्न कम्पनीले पठाउने प्राविधिक स्टेमटमा उल्लेख छ । त्यसमा वेस्टेज ८० बोरा समेत आउने प्राविधिकको भनाई छ । तर अहिले निर्माण गरिएको टावरको बेस प्रति खुट्टामा १५० देखि २०० बोरा मात्रै प्रयोग गरिएको कार्यरत केही कामदारले समेत खुलासा गरेका छन् । टावर निर्माणमा अनियमिता भएको सन्दर्भमा त्याहाँ कार्यरत मजदुरहरुले गुनासो गर्ने गरेको स्थानीय समाजसेवी ध्रुव गुरुङ बताउँछन् ।

निर्माण सम्मन्न भएपछि पनि कम प्रयोग गरी सिमेन्ट बचाएर कम्तिमा २०० स्टोर गरिएको भेटिएको र स्थानीय एकघरको ढलानको लागि ८० सिमेन्ट बेचिएको खुलासा भएको छ । स्मरण रहोस निर्माण स्थलमा भेटिएको शिवम ४३ क्रेट ओपिसी सिमेन्टको खाली बोरा र स्टोर गरिएको सिमेन्ट बोरा उस्तै रहेको छ ।

यस सन्दर्भमा २ नम्बर वडाअध्यक्ष तथा लुना निर्माण सेवा प्रा.लीका अध्यक्ष रमेश राउतले पेटी ठेक्का पाएको निर्माण कम्पनी आफ्नो भएपनि आफूले कामको जिम्मा लिएको नभई साथीभाईलाई दिएको बताए । ´मेरै निर्माण कम्पनी हो तर मैले काम गरेको छैन, साथीहरुले गरेका हुन के के भयो मलाई थाहा छैन्’, वडाअध्यक्ष राउतले भने ।

त्रिपुरासुन्दरी गाउँपालिकाको लुगुर्पा बस्ती

टावर निर्माणमा अनियमिता भएको सन्दर्भमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग बुझ्दा उनले यसको वास्तविकता साईड ईन्चार्जसंग बुझेर जानकारी दिने बताए । टावर निर्माणमा अनियमिता भए छानविन गरेर कारवाही गरिने समेत कार्यकारी निर्देशक घिसिङले बताए ।

स्मरण रहोस राष्ट्रिय प्राथमिकता प्राप्त तामाकोशी–काठमाडौँ २२०÷४०० केभी क्षमताको प्रसारण लाइन आयोजनाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य सार्वजनिक निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्नेछ । यस्तै रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । न्यू खिम्तीदेखि काठमाडौँसम्म कूल ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण भईरहेको छ ।

कूल १०६.५ किलोमिटर निर्माण गर्नुपर्ने प्रसारण लाइनको काम ३ वटा खण्ड (प्याकेज) मा बाँडेर अगाडि बढाइएको छ । जसमा खिम्ती–बाहबीसे ४६ किलोमिटर, बाह्रबीसे–लम्सीफेदी ४६.५ किलोमिटर र लप्सीफेदी–चाँगुनारायण १४ किलोमिटर छ । बाह्रबीसे–लप्सीफेदी र लप्सीफेदी–चाँगुनारायण दोस्रो तथा खिम्ती, बाह्रबीसे र लप्सीफेदीमा निर्माण हुने सबस्टेसनलाई तेस्रो प्याकेजमा बाँडिएको छ ।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण हुने यस आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशतभन्दा बढी पूरा भएको नेपाल विद्युत प्राधिकरणको भनाई छ । निर्देशनालयका अनुसार केइसी इन्टरनेशनल इन्डिया लिमिटेडले ठेक्का पाएको खिम्ति–बाह्रबिसे पहिलो खण्ड छ । उसले सन २०१९ जुलाई २० देखि निर्माण सुरु गरेको थियो ।

यस खण्डको काम सन २०२१ अक्टोबर ११ भित्र सक्नुपर्ने भएपनि कोराना माहामारी, स्थानीय अवरोध जस्ता गतिविधिले निर्माण अवधि लम्बिएको हो । यस खण्डको निर्माण निर्माण गर्न १ करोड ७३ लाख १६ हजार अमेरिकी डलर अर्थात ७१ कोड ७७ लाख १६ हजार रुपैंया लागत अनुमान गरिएको थियो । जसमा ११५ वटा ४०० केभीका टावर ठडा गरी ‘कोड मस’ तार तानिने छ । जसमा एक एक वटा अर्थ वायर र २४ वटा ओपिजिडब्लु रहनेछ । यस खण्डको रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा क्रमश ३, ८५ र २७ वटा टावर निर्माण भएका छन् ।