पर्यटन प्रर्वद्वन गर्ने पाँचपोखरी थाङपालको अर्को प्रयास, नागीथामडाँडामा संग्रहालय बन्ने
मंसिर २१, थाङपालधाप । सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका उसैत पर्यटकीय क्षेत्र हो । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र पाँचपोखरी विश्वको पर्यटकीय गन्तव्य भित्र सूचिकृत भएर निकै चर्चामा छ । त्यसमाथि गाउँपालिकाले थप पर्यटन प्रर्वद्वन गर्ने उद्देश्यले नागीथामडाँडालाई जोड दिएको छ । गाउँपालिका वडा नं. ४ मा रहेको नागी थामडाँडामा रहेको पेमाछाल उद्यान केन्द्रमा संग्रहालय बन्ने भएको छ । उक्त संग्रालयको शुक्रबार एक कार्यक्रमका विच शिलान्यास गरिएको हो ।

बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीले संग्रालयको शिलान्यास गरेका थिए । सोही क्रममा १५ फिट लामो नेपाल राष्ट्रिय झण्डा र १२५ वटा लुङ्ता ध्वजा समेत फहराईयो ।
शिल्यान्यास पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले आन्तरिक र बाह्य पर्यटकीय संभावना बोकेको पाँचपोखरी थाङ्पाल गाउँपालिका र पेमाछाल उद्यानले गाउँपालिकाको प्रर्यटन प्रर्वद्वन हुने बताए । गाउँपालिकाको बहुपहिचान सहितको प्रशासकीय भवन अवलोकन पछि खुसि व्यक्त गर्दै मन्त्री ठकुरीले गाउँपालिकाको प्रबर्द्धनका लागि आफुले सहयोग गर्ने बताए । मन्त्री ठकुरीले थाङपाल भ्याली माध्यमिक विद्यालयमा सरस्वतीको मन्दिर निर्माण गर्ने प्रतिबद्धता समेत जनाए ।
प्रदेश सांंसद कृष्णकुमार तामाङ गाउँपालिका भित्र रहेका विभिन्न १४ वटा गुम्बामा आफुले विभिन्न सहयोग गरेको बताए । सांसद तामाङले पेमाछल उद्यान केन्द्रमा आवश्यक बजेट बिनियोजन गर्न पर्यटन मन्त्रीको ध्यानाकर्षण गराए ।
पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले गाउँपालिकामा रहेको पर्यटकिय स्थलहरुको बारेमा अवगत गराउदै सबैको सहयोगबाट पर्यटकीय स्थलहरुको प्रर्वद्वन गर्नको लागि प्रदेश सरकारसंग माग गरे । लामाले पेमाछ्ल उद्यान केन्द्रलाई प्रदेश सरकारले गौरवको योजनाको रुपमा अगाडी बढाउनुपर्ने बताए ।
वडा नम्बर ४का अध्यक्ष कुलबहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रममा उद्यान केन्द्रका प्रमुख लामा फुर्वासिंगी लामा, गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारी,प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुँईकेल लगायतको उपस्थिती रहेको थियो ।

