
मेलम्ची–९ का सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्यन्न वितरण

मंसिर २०, मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–९ ज्यामिरेका सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्यन्न वितरण गरिएको छ ।
मेलम्ची नगरपालिकाको सहयोग तथा ९ नम्बर वडाको आयोजनामा बहुक्षेत्रीय पोषण योजना अन्तर्गत ज्यामिरेका सुनौलो हजार दिनका आमाहरुलाई मंगलबार नगर प्रमुख आईतमान तामाङले पोषिलो खाद्यन्न वितरण गरेका हुन् । पोषिलो खाद्यन्न वितरण तथा अभिमुखिकरण कार्यक्रममा आफ्नो भनाई राख्दै नगर प्रमुख तामाङले गर्भवती भएदेखि बच्चा जन्मिएर दुईवर्ष नपुगुन्जेल सम्मका आमाहरुलाई पोषण तत्वको कमीका कारण आमा बच्चा दुवैको समस्या तथा बच्चालाई कुपोषण लाग्ने समस्याका नहोस भन्ने उद्देश्यले ९ नम्बर वडा ज्यामिरेमा उक्त कार्यक्रमको आयोजना गरिएको बताए । यो कार्यक्रम नगरका सबै वडाहरुमा गरिने उनले बताए । बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको लागि नगरले निरन्तर सहयोग गरेको बताउँदै नगरप्रमुख तामाङले सहयोगलाई निरन्तरता दिने बताए ।
उक्त कार्यक्रममा ८४ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खाद्यन्न वितरण गरिएको ९ नम्बर वडाअध्यक्ष किरणदीप खड्काले जानकारी दिए । उनका अनुसार सोही कार्यक्रमको अवसरमा सहभागी महिलाहरुलाई अभिमुखि कार्यक्रम समेत गरिएको हो ।