पर्यटकीय नगरी सुकुटेमा बिउँतिदैं राष्ट्रिय बीच भलिबल प्रतियोगिता
दिनेश दुलाल
मंसिर १०, काठमाडौं (२०८१) । नेपालको खेलकुद क्षेत्रमै सुस्ताएको भलिबलको अर्को विधा बीच भलिबल पुनः सिन्धुपाल्चोकको सुकुटेबाट बिउँतिदै छ । प्रायशः विकसित मुलुकहरुमा समुन्द्री किनारमा खेलिने बीच भलिबल यसपटक सुनकोशी नदिको किनारबाट आउँदो माघ १ देखि ५ गतेसम्म भलिबल पारखीहरुलाई प्रतियोगिता गराउन जुरेको हो । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको पहलमा नेपाल भलिबल संघको संयोजन, सिन्धुपाल्चोक भलिबल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको संयुक्त आयोजना तथा व्यवस्थापनमा सातौं महिला तथा आठौं राष्ट्रिय पूरुष बीच भलिबल प्रतियोगिता कार्यक्रमको लागि आज त्रीपक्षीय सम्झौता भएको छ ।
राष्ट्रिय पर्यटन वोर्ड भृकुटी मण्डप, काठमाडौंको सभाहलमा त्रीपक्षीय सम्झौता भएको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले जनाएको छ । संघका अनुसार सम्झौता पत्रमा आयोजकको तर्फबाट सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापा र सिन्धुपाल्चोक जिल्ला भलिबल संघका अध्यक्ष रमेश कुमार खड्का तथा संघको तर्फबाट नेपाल भलिबल संघका माहासचिव रोशन श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
देशकै राष्ट्रिय खेल भलिबलको पनि फरक विधा बीच भलिबल पर्यटकीय हब सुकुटेमा सुनकोशी किनारमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता गर्न लागिएको कार्यक्रमका प्रमुख अतिथि तथा सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष महेन्द्र सिंह थापाले बताए । आफू पर्यटन व्यवसायी भएर लामो समय सिन्धुपाल्चोक जिल्लामा काम गरेकोले त्यस जिल्लालाई खेलुकल माध्यामबाट पर्यटन क्षेत्रको विकास गर्न यस खालको प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । खेलकुद मार्फत सिन्धुपाल्चोकको आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्घन, बीच भलिबलको प्रर्वद्घन र खेलाडीको व्यक्तिगत विकास समेत गर्ने उद्देश्य सहित नेपालकै ख्याति प्राप्त पर्यटकीय नगरी सुकुटेमा बीच भलिबलको आयोजना गरिएको उनको भनाई छ ।
प्रतियोगिताको अर्को आयोजक रहेको सिन्धुपाल्चोक भलिबल संघका अध्यक्ष रमेश कुमार खड्काका अनुसार प्रतियोगितामा सात प्रदेशका महिला तथा पुरुष र ३ विभागीय टिम गरी २० टिमले प्रतिश्पर्धा गर्नेछन् भने ४० जना खेलाडी सहभागी हुने छन् । सम्झौतामा उल्लेख गरे अनुसार पुरस्कारको राशी प्रथम, द्वितीय, तृतीय र चतुर्थ गरी क्रमशः ५०, २५, १५ र १० हजार रहने जनाएको छ ।
कार्यक्रमका अध्यक्ष गरेका नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले बीच भलिबलमा पछिल्लो पटक सबैको चासो बढेकोले अन्तराष्ट्रिय प्रतियोगितामै नेपालले अवसर पाउने उदघोष गरे । सिन्धुपाल्चोकको पर्यटन क्षेत्रको विकासलाई लागि सिन्धुपाल्चोकमै बीच भलिबलको आयोजना गरिएकाले त्यसलाई सञ्चारका माध्यामबाट सक्दो सहयोग उनले उपस्थित पत्रकारलाई अनुरोध गरे । जिल्ला भलबल संघको तर्फबाट संघका सचिव कुमार शाहीले सिन्धुपाल्चोकमा राष्ट्रिय बीच भलिबलको आयोजना गर्न पाउनु गौरबको विषय भएको सुनाए ।
यस अघि सातौं महिला तथा आठौं पुरुष बीच भलिबल सम्पन्न भएपनि सिन्धुपाल्चोकमा भने पहिलोपटक राष्ट्रि बीच भलिबल प्रतियोगिताको आयोजना गर्न लागिएको हो । त्रीपक्षीय सम्झौतामा उल्लेख गरेअनुसार प्रतियोगितामा सहभागी टिम तथा रेफ्रीसंगको संयोजन र प्रतियोगिताको लागि ६ थान बल तथा २ थान नेट संघले गर्नेछ । आवश्यक खर्च, ब्यानर प्रायोजन, उदघाटन कार्यक्रमको तयारी जिल्ला भलिबल संघ र सिन्धु सुुकुटे पर्यटन व्यवसायीले गर्नेछ । खेलाडि र रेफ्री समेत गरेर करिब १०० जनाको व्यवस्थापन दुवै संघले गर्ने योजना रहेको सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका सचिव कृष्ण सापकोटाले जानकारी दिए । सचिव सापकोटाका अनुसार प्रतियोगितामा विदेशीलाई पनि सक्दो सहभागिता गराउने प्रयास गरिएको छ ।
पर्यटकीय हिसाबले हाल पिक अप सिजनको मन्दी छाएको छ । यस्तो अवस्थामा सुकुटेमा हुने प्रतियोगिताले बीच भलिबलको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा सन्देश पु¥याउने आयोजकको विश्वास छ । प्रतियोगिताबाट सिन्धुपाल्चोक खेलकुद पर्यटनलाई अघि बढाउन चाहेको संघका उपाध्यक्ष अन्जान खड्का बताउँछन् ।
स्पोर्ट्स टुरिजम मार्फत आन्तरिक तथा बाहृय पर्यटकलाई आकषिर्त गर्ने उद्देश्यले आयोजना गरिएको बीच भलिबलको साथसाथै सुकुटे बीच साङिगतिक कार्यक्रम समेत हुने संघका कोषाध्यक्ष राजन श्रेष्ठले जानकारी दिए । कार्यक्रममा कार्यक्रमको संयोजन गर्ने सघका पदाधिकारी, आयोजक दुवै संघका पदाधिकारी, खेलाडी लगाएत उल्लेख्य सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
के हो बीच भलिबल?
बीच भलिबल खासगरी समुद्र छेउको बालुवामा खेलिने फरक प्रकृतिको खेल हो । यसमा टोलीमा दुई जना खेलाडी खेल्छन् ।
नेपालमा समुद्र नभएकोले पोखराको फेवाताल छेउमा बालुवाको कोर्ट बनाएर यो खेल खेलाउने योजना सुरु बनाइएको थियो । तर पछिल्लोपटक सुनकोशी नदि किनारमा समेत यो खेल खेलाइन थालिएको छ । सोही अनुसार सिन्धुपाल्चोकको सुकुटे स्थित सुनकोशी किनारमा राष्ट्रिय भलिबल प्रतियोगिता हुन लागेको हो ।
अन्तर्राष्ट्रिय नियमानुसार बीच भलिबलमा पुरुष खेलाडीहरुले हाफ प्यान्ट्स र टीशर्ट लगाउनुपर्छ भने महिला खेलाडीहरुले टूपीस लगाएर खेल्नुपर्छ । उनीहरूसँग दुई जोडी लुगा, घाममा लगाउने क्रीम र रुमाल अनिवार्य हुनुपर्छ । दर्शकहरूको चासो बढ्ने बीच भलिबलको पछिल्लो पटक यो आकर्षक बन्दै गएको छ । नेपाल भलिवल सङ्घले पुरुष र महिलाको तीन–तीन टोली गरी छ खेलाडी छानेको छ । त्यसमा अन्तिम चरणमा एउटा टोली फ्याँकिनेछ र दुई टोलीले अन्र्तराष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छन् ।
स्मरण रहोस विसं २०६० बाट दक्षिण एशियाली बीच गेम्समा भाग लिन थालेको नेपाली पुरुष र महिला दुवै टोलीले अन्तर्राष्ट्रिय पदक जितिसकेका छन् । त्यस्तै एशियन बीच गेम्स र दक्षिण एशियाली बीच गेम्समा पनि खेलाडीहरूले भाग लिइसकेका छन् ।
दुई बर्षअघि घरेलु स्तरमा नेपाल भलिबल सङ्घले बीच भलिबलको सातौँ राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।
ओलिम्पिक खेलमा भने यो खेल सन् १९९६ मा एट्लान्टाबाट समावेश गरिसकिएको थियो । त्यसको दुई वर्षपछि सन् १९९८ को ब्याङ्कक एशियाली खेलकुदको १३ औँ संस्करणबाट बीच भलिबलले एशियाली खेलकुदमा पनि प्रवेश पाएको हो ।