११ नम्बर वडाको रचनात्मक कार्य, किसानलाई घाँसको जोह गर्न साइलेज

दिनेश दुलाल
भदौ २१, साँगाचोक । भनिन्छ, ‘सपना देख्नेहरु एकपटक बहुलाउँछन्, सचेतपूर्वक बहुलाएका मानिसहरुले मात्रै सहि उद्देश्य प्राप्त गर्न सुन्दर सपना देख्छन् र आफ्नो कर्म गर्छन् । जुनसुकै काम सफल बनाउन मानिसले सपना देख्नुपर्छ । चाहे त्यो सानो होस या ठूलो । सपना देख्न पनि हुटहुटी चाहिन्छ । जनताका विकासको लागि सपना देखेर हुटहुटी मच्चाउने कमै जनप्रतिनिधि भेटिन्छन् ।

ति मध्ये हुन् चौतारा साँगाचोकगढी नगरपालिका– ११ का वडा अध्यक्ष रोशनराज गिरी । उनले आफ्नो वडामा चमत्कारै गरेका छन् । उनले आफ्नो वडामा सिंचाई तथा रिचार्ज पोखरी देखि किसानको शत्रु बँदेल नियन्त्रणका उपाएका कार्यहरु अनौठा प्रकारका छन् । पोखरे आसपासमा बंदेल नियन्त्रण गर्न काँडे तारको बार तथा सडक कुनामा पोखरी खन्दा उनलाई केहीले बहुलाको संज्ञा समेत दिए । तर जसले जेसुकै भनोस आफ्नो उद्देश्य पुरा गर्ने त्यो हुटहुटी कहिल्यै घटाएनन नत निराश नै भए । बरु जनताको रचनात्मक काममा उनी निरन्तर खटिएका छन् ।

नगरभरि लागु हुनेगरी पाडा सापटी अनुदान कार्यविधि बनाएर चर्चा कमाएका गिरीले पछिल्लोपटक किसानलाई घाँसको जोह गर्न ढोडबाट बन्ने साइलेज बनाउन मेसिन खरिद गरेर जनतालाई राहत पुराएका छन् । उनले वडावासीलाई चाहिने अत्यावश्यक कृषि सामग्री भण्डारण गरिदिएका छन् ।

माओवादीबाट वडाध्यक्षमा निर्वाचित भएदेखि नै उनले जनताको कामलाई आफ्नो कर्म ठानेर खटिएका छन् । गत साता मात्रै उनले चीनबाट १० लाख रुपैयाँको साइलेज मेसिन ल्याएर वडावासीको पशुपालन अभियानलाई थप व्यवस्थित पारेका छन् । वडावासी ११ सय घरधुरी मकैको ढोड र घाँस मेशिन सम्म पु¥याउन उनी आफैं खटिन्छन् । त्यसपछि साइलेज मेसिनले मकैको ढोड र घाँसलाई प्याकिङ गरेर गुइँठो बनाएपछि उक्त साइलेज किसानकोमै पु¥याईदिन्छन् । आज वडाअध्यक्ष गिरीको दैनिकी काम नै साइलेज बनाउन बितेको छ । हिउँदका लागि पनि पशु चौपायालाई हरियो घाँस खुवाउनको लागि आफूले यो उपाय अपनाएर मेशिन खरिद गरेको उनले सुनाए । उनका अनुसार यस काममा स्थानीयको खर्च वडाले नै व्यहोर्छ । वडानजिकै रहेको एक करोड लिटर अट्ने पोखरीमा बर्खाको भल जम्मा गर्न यस अघिनै उनले पोखरी बनाएका छन् । जसबाट वडामा सिँचाइ तथा वृक्षरोपण गरिएको छ ।

काठमाडौं महानगरपालिकामा फालिएका कालो तार ल्याएर वन्यजन्तु निगन्त्रण गर्ने अभियान सञ्चालन गरेर वन क्षेत्रलाई बारिएको छ । आठ किलोमिटर वन क्षेत्र कालो तारले बारिएको हो । खेतबारीमा रहेका अनावश्यक रुखबिरुवा काँटछाँट गरेर बाँदर नियन्त्रण गरिएको छ ।

उनका अनुसार वडाभित्र हालसम्म फलफूलका चार हजार बिरुवा रोपिएका छन । सिँचाइ सुविधाका लागि ठाउँठाउँमा रिचार्ज पोखरी बनाइएको छ । पत्कर संकलन गरेर ठूलो परिमाणमा कम्पोस्ट मल तयार गरिएको छ । सापटी कार्यक्रम चलाएर वडावासीलाई भैँसी, गाई र बाख्रा दिइएको छ । पशुपालनमा वडाले दिएको ऋण किसानले तीन वर्षपछि फिर्ता गर्नुपर्छ । किसानलाई चाहिने कृषि सामग्री वडा कार्यालयमा स्टोर गरिएको छ । कृषि क्षेत्रमा ६० प्रतिशत बजेट लगानी गरिएको छ । वडाध्यक्षले विभिन्न दाताबाट बजेट ल्याएर थप नमुना काम गरिरहेका छन । यतिबेला ११ नम्बर वडामा सञ्चालन भएका नयाँ काम र प्रविधिको अवलोकन गर्न अन्य स्थानीय तहका जनप्रतिनिधि पानीचौर आइरहेका छन । वडा अध्यक्ष गिरीलाई गाली गर्नेहरु समेत उनको काम देखेर नतमस्तक बनेका छन् ।