सुन र नगदका लागी सिन्धुपाल्चोकमा वृद्धको हत्या भएकाे पुष्टि

साउन २२ चौतारा । सिन्धुपाल्चोकमा ७१ वर्षकी बृद्धको हत्या गर्ने युवक पक्राउ परेका छन् । जिल्लाको वाह्रविसे नगरपालिका वडा नं.७ खनियावास निवासी वर्ष ७१ की रत्न कुमारी थापाको हत्या गर्ने सोहि नगरपालिका वडा नम्बर–७ निवासी ३६ वर्षिय फुने भनिने सन्जिव देउजा पक्राउ परेका हुन् । उनको घर वृद्धाको घरबाट १० मिनेटको दुरीमा पर्छ । मृतक रत्नकुमारी जस्तापाताले छाएको कच्ची घरमा बस्दै आएको र उनका छोरा वैदेशिक रोजगारीमा छन् भने बुहारी र नातिनातिना काठमाडौं बस्छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराइका अनुसार साउन १८ गते शुक्रबार आफ्नै घर भित्र भुईमा हात बाँधेको अवस्थामा थापाको मृत लाश फेला परेको भनी छिमेकीले आफन्तहरुलाई जानकारी गराएपछि प्रहरीमा सूचना प्राप्त भएको थियो । मृत फेला परेकी थापाको प्रहरीले हत्या भएको भन्दै अनुसन्धान गरी लुटपाट गरी हत्या गर्ने अभियुक्त पक्राउ गरेको हो । साउन २१ गते अभियुक्तलाई काठमाण्डौ गोगंवुबाट पक्राउ गरी प्रारम्भिक सोधपुछ गर्दा कसूर घटाएको भनी स्वीकार गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त देउजाले बृद्धाले २ दिन अगाडी प्राप्त गरेको वाह्र हजार बृद्धभत्ता र छोरी स्वस्थानी बस्नेतले सापटी फिर्ता गरेर दिएको पचास हजार गरि बैसठ्ठी हजार लुटी हत्या समेत गरेर गाँउबाट फरार भएका थिए । साथै हत्याराले मृतकले लगाएको सुनको बुलाकी, कानमा लगाएको आधा तोलाको सुनको रिङ, घाँटीमा लगाएको सुनको तिलहरी गरि साँढे १ तोला सुन समेत लुटेर घाँटी थिचेर हत्या गरेको पाईएको प्रहरीले जनाएको छ ।

कुकुर सहितको विशेषज्ञ टोलीबाट विशिष्ट अनुसन्धान विधि र विश्लेषण साथै उच्चतम प्रविधिको प्रयोगको आधारमा घटना घटाउने अभियुक्तको पहिचान गर्न सफल भएको प्रहरी नायव उपरीक्षक भट्टराईको भनाई छ । मुलुकी अपराधी संहिता २०७४ को ज्यान सम्बन्धी कसूरको दफा १७७ र चोरी तथा डाँका सम्बन्धी कसूरको दफा २४४ बमोजिम म्याद अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।