बैशाख १८ गते ठूलोसिरुवारी हत्याकाण्ड दिवस, यसरी सम्झना गरियो ६ सहिदहरुलाई
दिनेश दुलाल
बैशाख १८, चौतारा । २०५९ साल बैशाख १८ गते आजकै दिन थियो तत्कालिन शाही नेपाली सेनाद्वारा ठूलोसिरुवारीमा नरसंहार मच्याएको दिन । साविक ठूलोसिरुवारी गाविसका ५ र सानोसिरुवारी गाविसका एक सर्वसाधारणलाई नजिकैको जंगलमा लगेर कुटीकुटी हत्या गरेका थिए । तत्कालिन शाही सेनाले स्थानीय गणेश गौतम, टिकादत्त दुलाल, झलक बहादुर दुलाल, भक्तलाल दुलाल, छिरिङ तामाङको त्यहाँ हत्या गरेको थियो ।
त्यसै दिनलाई माओवादी केन्द्र ठूलोसिरुवारीले प्रत्येक बर्ष नर्सिङडाँडा हत्याकाण्डलाई सहिद दिवसको रुपमा मनाउँदै आएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ माओवादी केन्द्र ठूलोसिरुवारीले ६ जना हत्या गरिएको स्थल नर्सिङडाँडा सहिद पार्कमा विविध कार्यक्रम गरी मनाएको छ । २२ औं स्मृति दिवस सहिदहरुको सम्झना गर्दै पार्टीका प्रदेश विभाग, प्रदेश जिल्ला समन्वय समिती, नगर समिती, प्रदेश, जिल्ला सल्लाहकार, वडा समिती, जेष्ठ कम्युनिस्ट मञ्च, टोल, सेल, जवस मोर्चा, पार्टी समर्थक तथा शुभचिन्तक सहभागी कार्यक्रम सम्पन्न गरिएको माओवादी केन्द्र १३ नम्बर वडा किमिटि अध्यक्ष नारायणप्रसाद गौतमले जानकारी दिए ।
उक्त कार्यक्रम पार्टीका पोलिव्यरो सदस्य तथा चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगरप्रमुख सापकोटाले वर्तमान प्रचण्ड नेतृत्व सरकारले सबै जनयुद्वका सबै सहिदहरुलाई राष्ट्रिय सहिदहरुको सूचिमा राख्न सफल भएको भन्दै नर्सिङडाँडा हत्याकाण्डका सहिदहरुप्रति स्मरण गरे । नगर प्रमुख सापकोटाले चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो नगरभित्रका जनयुद्वका सहिदहरुको दृघकालिन सम्झना स्वरुप सबै वडाहरुमा सहिद पार्क तथा सहिद स्तम्भहरु निर्माणको चरणमा रहेको सुनाए । नगरले गत बर्षदेखि जनयुद्वका क्रममा सहिद र वेपत्ताका परिवार तथा जेलनेल र अङगभङग भएकाहरुको लागि निशुल्क स्वास्थ्य बीमा गरिएको समेत बताए ।
कार्यक्रमका विशेष अतिथि माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुलीले सहिदहरुको सपना पुरा गर्न पार्टी कहिल्यै बिचलित नहुने उदघोष गरे । जनयुद्वका क्रममा मारिएका सहिद वेपत्ताका परिवार, अङगभङग तथा घाईतेहरुको लागि सरकारले विशेष कार्यक्रमको प्याकेज सरकारले ल्याउन समेत उनले सुझाए । कार्यक्रमका १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतमले जनयुद्वका ठूलोसिरुवारीका ६ जना सहिदहरुको सम्झनामा वडाकै पहलमा सहिद पार्क तथा सहिद स्तम्भ निर्माणको चरणमा रहेको बताए । सहिद पार्क तथा सहिद स्तम्भको लागि झण्डै ६ करोडको डिपिआर तयार गरिएको बताउँदै वडाअध्यक्ष गौतमले उक्त अधुरो कामलाई पुरा गर्न नगर मार्फत प्रदेश सरकारलाई आग्रह गरे । कार्यक्रममा पार्टीका जिल्ला तहका नेताहरुले समेत सम्बोधन गरेका थिए ।
निर्माणाधिन सहिद स्मृती पार्कमा १२ बजे श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर शहकारी हलमा सहिद परिवार सम्मान कार्यक्रम गरिएको वडा कमिटि अध्यक्ष गौतमले जानकारी दिए । सोही कार्यक्रमको अवसरमा वर्तमान परिवेशमा आधारित राजनैतिक अन्तरक्रिया तथा समसामयिक राजनैतिक प्रशिक्षण सम्पन्न भएको उनले बताए ।