पत्रकार महासंघ सिन्धुशाखाको साधारणसभा तथा अधिवेशन सम्पन्न, निर्वाचन मिति केन्द्रले तोक्ने ( फोटो फिचर सहित)

दिनेश दुलाल
बैशाख १४, चौतारा । नेपाल पत्रकार माहासंघ सिन्धुशाखाको २९ औं साधारणसभा तथा १२ अधिवेशनको उदघाटन तथा बन्दसत्र सम्पन्न भएको छ ।

शाखाको साधारणसभा तथा अधिवेशनलाई शुक्रबार प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद माधव सापकोटा ‘सुवोध’ ले उदघाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि रहेका सांसद सापकोटाले उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै पत्रकारिता जगतले समाजमा भएका विकृति र विसंगतिका विरुद्व खवरदारी गरिरहने वाच डगको भूमिका निर्वाह गरेको बताए । समन्वकारी भूमिकामा रहेको सञ्चारजगतलाई विगतमा नागरिक समाजको अगुवाको रुपमा लिएको भन्दै सापकोटाले राजनीतिक दलहरुका बीचमा कटुतापूर्ण अन्तरविरोध र झडपहरु सिर्जना भईरहँदा पत्रकार माहासंघको व्यानर प्रयोग गरेर टुङ्गाएको स्मरण सुनाए । पत्रकार माहासंघ सिन्धुपाल्चोकले बागमति प्रदेशभरीकै जिल्ला शाखाहरु मध्ये उत्कृष्ट कार्य गरेको भन्दै सांसद सापकोटाले प्रसंशा व्यक्त गरे । आगमी कार्यकालको लागि ज्यादा प्रगतिशिल कार्य गर्न वर्तमान टिमले चुनौति खडा गरेको समेत उनले बताए ।

कार्यक्रमका विशेष अतिथि बागमति प्रदेश भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल राज्यले पत्रकारिताको क्षेत्रलाई चौथो अंगको रुपमा व्यवहार गरिरहेको दावी गर्दै उनले राज्यको लगानी र अपनत्व संचार क्षेत्रमा रहेको उनले ठेकुवा गरे । यसलाई व्यवस्थित गरेर लैजाने, अभिभावकत्व गर्ने कुरा अझै अपुग भएको उनको ठहर छ । बागमति प्रदेश सरकार सुरु देखिनै पत्रकारिता क्षेत्रप्रति संवेनशिल भएर केही राहतको काम गर्नुपर्छ भन्ने शुभराम्भ गरेको बताउँदै उनले संस्थागत विकासको लागि कानुनी व्यवस्था गरिएको बताए । सञ्चार जगतले बिगतमा राजनीतिक परिवर्तनको लागि गरेको भूमिका जस्तै एकपटक देश निर्माणको लागि नयाँ मिशन थालनी गर्न उनले सुझाए । देशलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने अवसर पत्रकारको काँधमा आएको समेत उनले जिकिर गरे ।

कार्यक्रममा बागमति प्रदेश सदस्य अमृता नेपाल, चौतारा साँगाचोकगढी नगर प्रमुख कृष्णप्रसाद सापकोटा, ईन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, सुनकोशी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव सृजना अर्याल, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसाल, सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्य,प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णु सापकाेटा, महासंघ बागमति प्रदेश अध्यक्ष शिव देवकोटा, बागमति प्रदेश रजिष्टार रेवती सापकोटा, पत्रकार महासंघ सिन्धु शाखाका पूर्व अध्यक्ष ऋषिराम पौडेल लगाएत विभिन्न राजनीतिक दलका प्रतिनिधि,संघसंस्थाका प्रतिनिध लगाएत विभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यममा पत्रकार माहासंघ सिन्धुशाखाले बागमति प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिका नगरप्रमुख कृष्णप्रसाद सापकोटा तथा पत्रकारितामा स्नातकोत्तर गर्ने १० जना पत्रकारलाई सम्मान समेत गरेको छ ।
यसैबीच सिन्धुुशाखाले साेही कार्यक्रमकाे अवसरमा सिन्धु पत्रकारिता नामक स्मारिका समेत विमाेचन गरेकाे छ ।

बार्षिक साधारणसभा तथा अधिवेशनको उदघाटन पछि शाखाको बन्दसत्र बसेको थियो । सचिव विदुर आचार्य र कोषाध्यक्ष नेत्र पौडेलले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन सहित पारित गरिएको छ । अधिवेशनको निर्वाचन भने केन्द्रले मिति तय गरेसंगै हुने पत्रकार महासंघ सिन्धुशाखाका अध्यक्ष जीवनप्रसाद श्रेष्ठले जानकारी दिए ।