चौतारा साँगाचोकगढी नगरपालिकाको शिक्षामा नयाँ फड्को, ३८ शिक्षक समायोजनमा


बैशाख ६, चैतारा । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्नो पालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर कायम गर्न नयाँ रणनीति लिएको छ ।

नगरपालिकामा निशुल्क शिक्षा कार्यान्वयनका लागि नगरले शिक्षक–विद्यार्थी अनुपातमा शिक्षक समायोजन गरि ३८ जना शिक्षकलाई बैशाख ४ गते सरुवा गरेको छ । नगरको उक्त कदमलाई सो मातहातका विद्यालयका शिक्षकहरुले समेत शिक्षामा नयाँ फड्को संज्ञा दिएका छन् । ‘राम्रो संग आफ्नो डिउटी पुरा गर्ने शिक्षकरुको लागि निर्णय सुखद पक्ष हो’, पूर्व शिक्षक तथा पूर्व जनप्रतिनिधि उपाप्रसाद दुलालले सिन्धुज्वालासंग भने । विद्यार्थी नै नभएका विद्यालयलाई अन्य विद्यालयमा मर्ज गर्ने कुरा सकरात्मक र उपलब्धीमूलक भएको उनले बताए ।

चौतारा साँगाचोकगढी नगरपालिका क्षेत्रभित्र स्थापना भई सञ्चालन भइ रहेका विद्यालयहरुको नक्साङ्कन, भौगोलिक अवस्था, जनसांख्यिक संरचना, विद्यार्थी संख्या लगायतका विभिन्न पक्षहरुलाई ध्यान दिँदै विद्यालय जाने उमेर समूहका सम्पूर्ण बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा पु¥याउने उद्देश्यले यो कदम थालिएको नगरपालिकाले जनाएको छ । अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा तथा निःशुल्क माध्यमिक शिक्षा प्रत्याभूत गर्ने अभिप्रायले विद्यालय एकीकरण तथा शिक्षक दरबन्दी मिलान गर्न आवश्यक रहेको नगरको भनाई छ ।

नगर कार्यपालिकाको गत साता बसेको बैठकले चौतारा साँगाचोकगढी नगरपालिकाको विद्यालय एकीकरण तथा शिक्षक दरबन्दी मिलान मापदण्ड निर्देशिका, २०८० जारी गरी कार्यान्वयनमा ल्याएको हो । विद्यालय एकीकरणका मापदण्डमा उल्लेख गरिए अनुसार हाल प्रारम्भिक बालविकास तथा शिक्षाका कक्षा सञ्चालन भइरहेका विद्यालयहरुमा बालबिकास कक्षाको निरन्तरता दिने, बालबिकास कक्षामा बालबालिकाको संख्या ५ जनाभन्दा कम भएमा भूगोल हेरी नजिकको अर्को विद्यालयमा एकीकरण गर्ने तथा कक्षा ३ सम्म सञ्चालित विद्यालयमा प्रति कक्षा १० जना विद्यार्थी हुनुपर्ने । सोभन्दा कम विद्यार्थी भएका विद्यालयमा कक्षा कटौति गर्ने । तर विद्यार्थी संख्या प्रति कक्षा १० जना पु¥याउने स्पष्ट आधारसहित कक्षा सञ्चालन गर्नुपर्ने भएमा त्यस्ता विद्यालयमा पुन कक्षा सञ्चालन अनुमति प्रदान गर्ने । यदि प्रति कक्षा १० जना भन्दा कम विद्यार्थी भएका स्थानका बालबालिका अर्को विद्यालयमा जाँदा आधा घण्टा भन्दा बढी हिड्नुपर्ने भएमा त्यस्ता विद्यालयमा कक्षा कटौति नगरी बहुकक्षा विद्यालय घोषणा गरी सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै कक्षा ५ सम्म सञ्चालित विद्यालयमा कक्षा ४ देखि ५ सम्म प्रति कक्षा विद्यार्थी संख्या १० जनाभन्दा कम वा कक्षा ४ र ५ मा गरी जम्मा २० जना विद्यार्थी नभएमा दुवै कक्षा नजिकैको अर्को विद्यालयमा एकीकरण गर्ने तथा कक्षा ८ सम्म सञ्चालित विद्यालयहरुमा कक्षा ६ देखि ८ सम्म प्रति कक्षा १२ जनाभन्दा कम विद्यार्थी भएमा ती कक्षाहरु नजिकैको विद्यालयमा एकीकरण गर्ने उल्लेख छ ।

त्यस्तै कक्षा १० सम्म सञ्चालित विद्यालयमा विद्यार्थी संख्या प्रति कक्षा १५ जना भन्दा कम भएमा कक्षा ९ र १० नजिकैको अर्को विद्यालयमा एकीकरण गर्ने र कक्षा १२ सम्म सञ्चालित विद्यालयमा कक्षा ११ र १२ मा कुनै पनि ऐच्छिक विषय सञ्चालन गर्नका लागि कम्तीमा १० जना विद्यार्थी हुनु पर्ने । यदि विद्यालयमा भर्ना भएका विद्यार्थी संख्या १० भन्दा कम भएमा सो विषय सञ्चालन भएको नजिकैको विद्यालयमा विद्यार्थी पठाउने र उक्त विषयको कक्षा सञ्चालन नगर्ने उल्लेख छ । नगरपालिकाले गरेको पछिल्लो निर्णयले विद्यालय सुधारमा सकरात्मक सन्देश प्रवाह हुने शिक्षाविधहरुको बुझाई छ ।