जुगल लगाएत ५ हिमाल आरोहणका लागि सरकारले दियो अनुमति

चेत्र १४, काठमाडौं । सरकारले यस बर्षको लागि जुगल लगाएत ५ हिमालको आरोहण गर्नको लागि आरोहीहरुलाई अनुमति दिएको छ ।
वसन्त ऋतुमा हिमाल आरोहण गर्न आरोहीहरूले पर्यटन विभागबाट धमाधम अनुमति लिन थालेका हुन् । मार्च पहिलो हप्ताबाट आरोहण अनुमति दिन थालेको विभागले हालसम्म पाँचवटा हिमाल आरोहण गर्ने अनुमति दिइसकेको जनाएको छ ।

पर्यटन विभागका अनुसार सिन्धुपाल्चोकमा रहेको जुगल हिमश्रंखला, विश्वको सर्वोच्च हिमाल सगरमाथा, अमादब्लम, हिमालुङ र अन्नपूर्ण हिमालका लागि विभागले आरोहीलाई अनुमति दिएको हो ।

वसन्त ऋतु सुरु भएसँगै विभागले हिमाल आरोहणका लागि अनुमति दिन सुरु गरेको हा । हालसम्म २२ देशका ४१ आरोहीले विभागबाट आरोहण अनुमति पाएको विभागको तथ्याङ्का उल्लेख छ ।

यसै क्रममा विभागले हालसम्म सबैभन्दा धेरै अनुमति अन्नपूर्ण हिमाल आरोहणका लागि दिएको छ। जसमा दुई समूहबाट १४ जना पुरूष र १० जना महिला गरी जम्मा २४ जना आरोहीले अनुमति लिएका छन् ।

यस्तै सगरमाथा हिमालका लागि एक समूहका आठ जना आरोहीले विभागबाट अनुमति लिएका छन् । यसै क्रममा हिमालुङ हिमालका लागि एक समूहबाट तीन महिला र दुई पुरूष गरी पाँच आरोहीले विभागबाट अनुमति लिएका छन् । क्रमशः अमादब्लम आरोहणका लागि एक समूहबाट ३ पुरूष, जुगल हिमाल आरोहणका लागि एक समूहबाट एक महिलाले अनुमति लिएका छन्।

विभागको तथ्यांक अनुसार हालसम्म अनुमति लिने २२ देशमध्ये अमेरिकाका आरोहीको संख्या पहिलो नम्बरमा छ । अमेरिकाका सात जना आरोहीले विभागबाट हिमाल आरोहणका लागि अनुमति लिएका हुन्।

अमेरिकापछि अष्ट्रेलियाबाट पाँच आरोहीले आरोहण अनुमति लिएका छन् । त्यसपछि भने स्पेन र युक्रेनबाट तीनतीन जनाले आरोहण अनुमति लिएका छन् । यसैगरी बेलायत, रोमानिया, जर्मनी र फ्रान्सका दुईदुई जना र बाँकी मुलुकबाट एकएक जना आरोहीले हालसम्म विभागबाट आरोहण अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि वसन्त ऋतु सबैभन्दा उपयुक्त मानिन्छ । यस याममा सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहण गर्छन् । यसैक्रममा विभागले हिमाल अनुसार आरोहण दस्तुर पनि फरकफरक तोकेको छ।
विभागले विदेशीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा प्रतिव्यक्ति एक हजार एक सय, शरदमा पाँच हजार पाँच सय र अन्य सिजनमा दुई हजार सात सय ५० अमेरिकी डलर दस्तुर तोकेको छ। नेपालीका लागि भने वसन्त ऋतुमा ७५ हजार, शरदमा ३७ हजार पाँच सय र अन्य सिजनमा १८ हजार दुई सय ५० रूपैयाँ प्रतिव्यक्ति शुल्क तोेकको छ।

हाल सरकारले जम्मा चार सय पाँच वटा हिमाल खुला गरेको छ । कुल चार सय पाँच हिमालमध्ये २७ हिमालका लागि आरोहण अनुमति नेपाल पर्वतारोही संघले र बाँकी विभागले दिँदै आएको छ । सिन्धुपाल्चोक जिल्लामा रहेको जुगल हिमश्रंखला आरोहणको लागि संघीय तथा प्रदेश सरकारले केही बर्ष अघि मात्र अनुमति दिएको हो ।

राजधानी काठमाडौंबाट निकै नजिक जुगल हिमाल पर्वतारोहीहरुका लागि रोजाईको गन्तव्य बनेको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो बताउँछन् । उनका अनुसार यो हिमालमा आरोहण खुल्ला गरेसंगै सगरमाथा आरोही मायाँ गुरुङको नेतृत्वमा एकदर्जन आरोहीले आरोहण गरेका थिए । यसैबीच जुगल हिमाल आरोहणका लागि बसन्त ऋतु लागेसंगै बेलायत, अमेरिका, डेनमार्क तथा कोरियाबाट पर्यटक आउने गाउँपालिका अध्यक्ष स्याङबोले जानकारी दिए ।