बन्द पर्खाल, दारेगौंडा मोर्चा र वीर सहिद क. अनिश
– डम्बर थामी ‘अनुपम’
” मृत्युुले होइन उसले गरेको कामको कारणले व्यक्ति सहिद बन्छ । ” – नेपोलियन बोनापार्ट
उल्लेखित सारगर्भित र उथलपुथलकारी भनाइ एक सैनिक कमान्डर तथा सम्राट नेपोलियन बोनापार्ट (अगस्ट १५, १७६९-मे ५, १८२१) को हो । कलिलै उमेरमा सेनापती तथा सम्राट बनेका बोनापार्ट सार्है चतुर, बहादुर र साहसी थिए । फ्रान्सेली राज्य क्रान्तिको कमान्ड सम्हालेका बोनापार्टले विभिन्न देशका संयुक्त फौजहरु विरुद्ध लड्दै सतिसाल झैं अडिग भएर युरोपलाई आफ्नो अधिनमा राखीरहे । उनमा यस्तो साहसिक युद्ध कौशलता थियो । र चातुर्दिक सत्ता सन्चालक पनि । उनले सन्चालन गरेका ती अविजेय अभियानहरु विश्वभरका सैनिक विद्यालयहरुमा अध्ययन अध्यापन गरिए । उनले आफ्नो शासनकालमा धेरै उदारवादी सामाजिक सुधारहरु पनि गरे । गरिब जनतामाथि महाजनहरुको आधिपत्यको उन्मूलन । सबै वर्गका जनताका लागि समान कानून । धार्मिक सहिष्णुता तथा सम्बन्ध विच्छेदलाई कानूनी मान्यता दिए ।
हामी पनि यस्तै-यस्तै ऐतिहासिक र साहसिक व्यक्तिहरुको जीवनीबाट उत्प्रेरित भएर आमूल परिवर्तनको लागि क्रान्तिको दावानलमा हाम फालेका थियौं । कतिपय वुज्रुकहरुले हामीलाई अनपढ, गवाँर ठान्थे । लहलहैको भरमा हिंडेका भन्थे । तर हामीले हाम्रो चेतनालाई हरतरहले निकै फराकिलो बनाउने कोशिश गर्थ्यौं । जीवन मरणको भीषण युद्धसँगै स्वअध्ययनलाई पनि प्राथमिकतामा राख्थ्यौं । झोलामा बारुदको पोकासँगै किताब पनि अनिवार्य हुन्थ्यो । धेरै कमरेडहरुले त क्रान्तिलाई नै पाठशाला बनाए । कखरा पढेर साक्षर पनि भए । यसरी पढ्दै जनयुद्ध पनि लड्दै जाने शिलशिलामा भर्खर पार्टीले ल्याएको एक सशक्त रणनीति “वर्गदुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने ” तिलस्मी योजना मुताविक हामी कमान्डरहरुको एउटा सशक्त टोली फौजी काममा जुटेका थियौं । यही रणनीतिक प्रत्याक्रमणको दौरानमा हामी एउटा उच्च फौजी कार्वाहीको टार्गेट छनौटको लागि रेक्की (Reccy) मा जाँदै गर्दा २०६२ साल माघ ४ गते काभ्रेको सदरमुकाम धूलीखेलमा म गिरफ्तारीमा परें । गिरफ्तारीमा परेपछि यातनाका विविध शृङ्खलाहरु भोग्दै चार दिवारभित्र दिनचर्या बिताउँदै थिएँ । बाहिर कडा सुरक्षा घेरा । हाईपोष्टमा सेन्ट्री । रात पर्ने बित्तिकै करेन्ट प्रवाह गरिएको तार बेरा । उकुसमुकुस लाग्ने बन्दी जिन्दगी पनि रमाईलै थियो । कहिले ढाकाटोपी बुन्ने । कहिले क्यारिम खेल्ने । कहिले पुस्तकालयबाट राम्रा किताब ल्याएर पढ्ने । समकालीन नेपाली कविता, राम्रो रचना मीठो नेपाली र अग्निदीक्षा उपन्यास चाहिँ मिहिन पाराले सबै पढें । पाना पाना पल्टाएर दोहोर्याई तेहर्याई पढें । खुबै उर्जा मिल्यो । क्रान्तिकारी इतिहासको स्मरण गरायो । समाचारहरु चाहिँ अनिवार्य सुन्ने गर्थें । एउटा पुलिस हवल्दारसँग सिदाबाट बचेको पाँच सय पैसाले समाचार सुन्नकै लागि भनेर दस ब्याण्डवाला रेडियो किनेको थिएँ । प्रायःश पर्खाल बाहिरको घटनाक्रमहरु समाचारबाटै सुनिन्थ्यो । समाचारहरु सही, साँच्चो, सत्य त आउँदैनथ्यो । विश्लेषण गरेर यसो चाहिँ भएको होला भनेर बुझ्नुपर्थ्यो । जेल भित्र एउटा कान्तिपुर दैनिक बल्लतल्ल आउँथ्यो । त्यही पनि माओवादीबारे लेखिएको समाचार जति काटेर पढ्न दिन्थ्यो । अरु त के पढ्नु थियो र ? समय जति प्रतिकूल भए पनि आफ्नो अनुकूलतामा ल्याउनु नै पर्थ्यो । बन्द पर्खालभित्र रोएर, कराएर पनि केही पार लाग्दैनथ्यो । त्यहाँ पनि आन्तरिक प्रशासन नाइके, भाइ नाईकेहरुको अधीनमा बद्नुपर्थ्यो । सानो कुरा पनि उनीहरूले जेलरलाई गएर सुनाईहाल्थे । बन्दीहरूलाई दुख दिईरहन्थे । तर जसरी पनि परिस्थितिलाई आफ्नो काबुमा राख्नैपर्थ्यो । बाहिरको माहौल के भईराखेको छ ? परिस्थिति के हुँदैछ ? भन्ने कुरा बुझिरहनु पर्थ्यो ।
२०६२ साल चैत्र ८ गते । हल्का गर्मी शुरु भए पनि धूलिखेल कारागारमा जाडो थियो । त्यो ठाउँ प्रायः चिसै हुँदोरहेछ । बिहानको खाना खाएर यत्तिकै रेडियो एच.बि.सी. मा लोकगीत सुनेर बसिरहेको थिएँ । दिन ढल्कंदै गएको पत्तै भएनछ । एक्कासि माथि डाँडाको सैनिक ब्यारेक, छेवैको डि.एस.पि. कार्यालय र अझ नजिकैको सि.डि.ओ. कार्यालयतिर पुलिस आर्मीहरुमा खैलाबैला मच्चियो । सेना, पुलिसहरु हाई अलर्टमा बसे । सदरमुकाम वरिपरि गस्ती पनि बढाए । गाउँलेहरुलाई घरभित्रै बस्न आदेश दिए । बाहिर पक्कै केही भयो ! पक्कै केही घटना घट्यो ! भन्ने अनुमान लगाएँ । बन्दी साथीहरू पनि मुखामुख गर्न लागे । मुख्य गरी आस्थाका बन्दीहरूको मुहारमा केही चमक देखियो । धुलिखेल सदरमुकाम नजिकै दारेगौंडामा आर्मी र माओवादी बीच भिडन्त भयो रे ! धेरै माओवादीहरु पनि मरे रे ! भनेर धेरै नै खैलाबैला मच्चियो । सेना पुलिसले व्यापक गस्ती बढाए । हाईपोस्टहरु कब्जा गरेर ८१ एम एम मोर्टार फिट गरे । हामीलाई पनि बाहिर ननिस्की भित्रै बस्ने आदेश जारी गरे ! अब फेरि कहाँ के भयो ? हामीलाई फेरि केरकार गर्न लैजाने भयो भनेर एकतमासले कुरा खेलीरह्यो । जहाँ घटना घटे या भिडन्त भए हामी आस्थाका बन्दीहरुलाई डि.एस.पी ले बोलाएर सोध्ने गर्थ्यो । केरकार गर्थ्यो । “भन ! नभए गोलीले उडाउँछु ” भनेर धम्की दिन्थ्यो । भरे रातको बाह्र बजे हामीलाई सोधपुछको लागि लैजान्छ होला ! भन्ने लाग्यो । उनीहरू यति वेबकुफ थिए कि हामी त्यहीँ भित्रै हुँदाहुँदै कसरी बाहिरको घटना थाहा हुन्छ ? बाहिरको योजना कसरी थाहा हुन्छ ? अचम्म लाग्थ्यो । यसरी आतंकै आतंकमा दिन बित्यो । अब भरे फेरि के हुने हो ? भनेर मनमा त्रास उत्पन्न भयो । सात बजे नै बेलैमा खाना खाएर ओछ्यानमा पल्टिएँ । रातभर निद परेन । युद्धको ऐठनले सताईरह्यो । रातमै हतकडी लगाएर कुन बंकरमा लगेर केरकार गर्ने हो ? भन्ने लाग्यो । यसरी मनमा कुरा खेलाउँदा खेलाउँदै बल्लतल्ल उज्यालो भयो । बिहान छ बजेपछि रेडियो खोलेर समाचार सुन्न लागें । समाचारले एक्कासि आर्मी र माओवादी बीच दारेगौंडामा भीषण भिडन्त भएको । माओवादीका बटालियन कमान्डर अनिश भन्ने ढलेको समाचार फुक्यो । अनायास त्यस्तो अपशकुन समाचार कानमा ठोकिएपछि म छाँगाबाट खसे जस्तै भएँ । सुतेको जमिन पनि भासिँदै गए जस्तो लाग्यो । जेलको चारै पर्खाल घुमे जस्तो लाग्यो । तर समाचार साँच्चो हो या झूटो ! यथार्थ थाहा पाउन गार्हो भयो । पत्रीका पढ्दा र वेथान स्मृति व्रिगेडको प्रेस विज्ञप्ति पढ्दा घटना साँच्चै रहेछ । फौजी योजना अन्तर्गत नै भिडन्त भएको रहेछ । बल्ल थाहा भयो । क्रान्तिमा यसरी कमान्डरहरुकै बलिदानीलाई ब्यहोर्नु पर्ने बाध्यता आईपर्दोरहेछ । तर सहन गर्नैपर्छ भनेर चित्त बुझाएँ । त्यतिबेलाको बन्द पर्खालभित्र कैद भएको समय आँसु, हाँसो, रोदन, क्रन्दन, पीडा, आक्रोश र शोकबाट नै गुज्रियो । तर मेरो जिन्दगीलाई यी कुराहरूले झन् इस्पात बनायो ।
क्रान्तिकारी योद्धा तथा कुशल कमान्डर क. अनिशसँग २०५६ साल श्रावण महिनामा सिन्धुपाल्चोक जिल्लाको मांखा क. कृष्ण प्रसाद आचार्य (रोहित) को घरमा पहिलो चिनजान भएको थियो । शुरुमा अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनमा काम गरेका थिए । त्यसपछि पार्टी संगठन र छापामार दस्ता (गुरिल्ला स्क्वायड) मा काम गरे । स्क्वायडमा काम गर्दा नै मैले पनि सहकार्य गर्ने मौका पाएको थिएँ । क. अनिशसँग पहिलो फौजी कार्वाही तथा माईनिङ नै २०५६ साल भाद्र १५ गतेको मेलम्ची सिमखेत एम्बुश हो । उनले त्यहीँ फ्ल्यांक अट्याक (Flank Attack) आएको दुश्मनमाथि फायर गरेर पछि हट्न बाध्य बनाएका थिए । उच्च फौजी चेतना राख्ने । कथा, कविता, संस्मरण, गीत लेख्न रुचाउने । साहित्यमा असाध्यै रुचि राख्ने । मृदुभाषी, मिलनसार, सहयोगी भावना भएका क. अनिश एक कुशल कमान्डर थिए । (सहयोद्धाहरुको दिल दिमागमा बस्न सक्ने खुबी थियो । सबैलाई खुशी बनाएर युद्ध लडाउने क्षमता थियो । गलत प्रवृतिका विरुद्ध पनि खरो रूपमा उत्रने बानी थियो ।) त्यसपछि हाम्रो सहकार्य २०५६ सालदेखि २०६२ साल माघसम्म भयो । दर्जनौं लडाइँहरु सँगसँगै लड्यौं । गाउँ, बस्ती, भीर, पाखा सँगसँगै हिंड्यौं । सँगसँगै गीत गायौं । नाच्यौं । एउटै थालमा खायौं । एउटै ओछ्यानमा सुत्यौं । म जेल पर्ने बेलामा पनि हामी सँगै गएका थियौं । तर अघिपछि भएर मात्रै उनी जोगिए । यसरी क्रान्तिकारी सहृदयी साथी क. अनिधले म जेल परेको करिब दुई महिनापछि दारेगौंडा भिडन्तमा वीरतापूर्वक लड्दा लड्दै शहादत प्राप्त गरे । त्यो भिडन्त जनमुक्ति सेनाका योद्धाहरु सेल्टरमा बसेर फौजी योजना बनाउँदा बनाउँदै भएको रहेछ । भकुण्डेबाट आएका सेनाहरुको एन्टी घेरामा परेका रहेछन् । र सबभन्दा पहिला क. अनिश नै ढलेका रहेछन् । त्यसपछि भीषण भिडन्त भएछ । घरभित्र घर बाहिर । चोटाकोठा, मझेरी, पिंढी, आँगन जताततै भएको भिडन्तमा जनमुक्ति सेनाको जीत भएको रहेछ । सो भीषण भिडन्तबाट जनमुक्ति सेनाले G-36 एक थान, LMG दुई थान, टू ईन्च मोर्टार एक थान, ईन्सास १४ थान, SLR पाँच थान र हजारौं राउन्ड गोली अनि टू ईन्च मोर्टारका सेलहरु कब्जा गरेका रहेछन् । यति धेरै हतियार सदरमुकाम कब्जा गरे बराबरको थियो । त्यस भिडन्तबाट जनमुक्ति सेनाले G-36 भन्ने नयाँ हतियार सेनाको मेजरले बोकेको हतियार कब्जा गरेका थिए । त्यो फौजी कार्वाहीले फौजी र राजनीतिक रूपमा धेरै महत्त्वपूर्ण स्थान लियो ।
बुबा शरण वाईबा र आमा राममाया वाईबाको कोखबाट भोटेचौर-२ चिसापानी (हाल मेलम्ची न.पा.-१) जन्मेका क.अनिश सानैदेखि विद्रोही स्वभावका थिए । उनी एमालेको विद्यार्थी संगठनमा काम गर्दागर्दै विद्रोह गरेर अखिल (क्रान्तिकारी) मा आबद्ध भएका थिए । त्यसपछि छापामार योद्धा हुँदै जनमुक्ति सेनाको नियमित फर्मेशनमा आबद्ध भएर दर्जनौं लडाइँ लडेका थिए । उनको जेठी दिदी तिर्थमाया वाईबा (क.चेतना) २०५९ साल श्रावण १७ गते दोलखा जिल्लाको बोत्ले हत्याकाण्डमा सहिद भएकी थिइन् । उनको भाइ पदमसिंह वाईबा २०६१ साल पौष ३ गते मुडे भिडन्तमा सहिद भएका थिए । यसरी एउटै परिवारबाट तीन जनाको शहादत भयो । क्रान्तिमा रगतको कोटा चुक्ता गर्यो । उनले पनि दर्जनौं शृङ्खलाबद्ध लडाइँ लडेका थिए । मेलम्ची सिमखेत एम्बुश, मैनापोखरी रेड, भकुण्डेवेंशी रेड, खानीभन्ज्याङ रेड, चैनपुर, भिमान, रुम्जाटार, लाहान, यदुकुहा, चरिकोट, बनेपा कमान्डो, झुरझुरे, पनौती, अमलेखगञ्ज, सिराहा, सान्दाने, नार्के, घर्तीछाप, साँखु, काभ्रेभन्ज्याङ, खाडीचौर । यी लडाइँहरुमा उनले उच्च बहादुरिता प्रदर्शन गरेका थिए । यसरी क्रान्तिको लागि उच्च शहादत प्राप्त गरेका अथक योद्धा क. अनिशप्रति हार्दिक श्रद्धाञ्जली ।।
२२ फेब्रुअरी २०२२