बाह्रबिसे नगरपालिकाद्धारा ४९ विद्यालयलाई भाँडावर्तन वितरण
दिनेश दुलाल
माघ ४, बाह्रबिसे । जिल्लाको बाह्रबिसे नगरपालिकाले नगरभित्रका ४९ विद्यालयहरुलाई भाँडावर्तन वितरण गरेको छ ।
नगर भित्र रहेका विद्यालयहरुमा ८ कक्षा सम्मका बालबालिकाहरुलाई दिवा खाजा कार्यक्रमको व्यवस्था गरेको नगरपालिकाले विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को सहयोगमा बिहिबार दिवा खाजाको लागि आवश्यक भाँडा वर्तन वितरण गरिएको हो ।
नगर भरीका ४९ वटै विद्यालयका शिक्षक प्रतिनिधिहरु बोलाएर नगरप्रमुख बालकृष्ण बस्नेतले वितरण गरेका हुन् । भाँडा वितरण पछिको संक्षिप्त कार्यक्रममा बोल्दै नगरप्रमुख बस्नेतले नगरपालिकामा स्थानीय सरकारले ८ कक्षा सम्म पढ्ने बालबालिकाहरु खाजा खानबाट बन्चित नहुन भनेर दिवा खाजाको व्यवस्था गरिएको बताए । उनीहरुलाई दिवा खाजा खुवाउन पर्छ भन्ने सोच बनाएर यो व्यवस्थाको थालनी गरेको बाह्रबिसे नगरपालिकाले दिवा खाजाको लागि प्रयाप्त भाँडावर्तन नभएको भन्ने विद्यालयका शिक्षक शिक्षिकाहरुबाट गुनासो आएपछि खाद्य संस्थालाई आग्रह गरिएको बताए ।
नगरभरीका ४९ विद्यालयहरुमा पकाउने डेक्ची, कराई लगाएत सामाग्रीहरु वितरण गरिएको उनले जानकारी दिए ।
नगर प्रमुख बस्नेतले बाह्रबिसे नगरपालिका भरीका विद्यालयहरुमा स्थानीय किसानले उत्पादन गरेको अर्गानिक कृषि उपजहरुको प्रयोग गर्नुपर्छ भन्ने सोचेर त्यहि अनुसारको व्यवस्थापन गर्न लगाईएको बताए । उनका अनुसार नगरपालिकाको आर्थिक सहयोगमा विद्यालयहरुले बालबालिकाहरुलाई दिवा खाजामा सखरखण्ड, खिर, भुटेको मोकै लगाएत स्थानीय परिकारहरु खुवाउँदै आएका छन् ।
यसैबीच सोही दिन नगरप्रमुख बस्नेतले दिवा खाजाको रुपमा प्रयोग हुने सखरखण्ड विद्यालयका शिक्षक प्रतिनिधिहरुलाई वितरण गरेका थिए । करिब १२ सय किलो सखरखण्ड विद्यार्थी संख्या हेरेर वितरण गरिएको नगरले जनाएको छ ।
भाडा वितरण कार्यक्रममा विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक चक्र जिसीले विद्यालयको सर्वेक्षणको आधारमा खाने तथा पकाउने भाँडा वर्तनको समस्या महसुुस गरेर बाह्रबिसे नगरपालिकाको सल्लाह अनुसार सबै विद्यालय र विद्यार्थीलाई पुग्नेगरी दिवा खाजाको लागि तत्काल आवश्यक पर्ने भाँडावर्तन व्यवस्थापनका लागि विश्व खाद्य कार्यक्रम काठमाडौंलाई अनुरोध गरेपछि संस्थाले प्रत्येक विद्यालयलाई पुग्नेगरी थाल, चम्चा, कराई, डेक्ची, बाल्टी, डाडु पन्यु र जग उपलब्ध गराएको जानकारी दिए । उक्त सामाग्रीलाई जनप्रतिनिधिकै रोहबरमा नगरका ४९ विद्यालयहरुमा वितरण गरिएको उनले बताए । उनका अनुसार बिहिबार बाह्रबिसे नगरपालिकाको खेलमैदानमा नगरभरीका ४९ विद्यालयका शिक्षक प्रतिनिधिहरु बोलाएर वितरण गरिएको थियो । उनका अनुसार विश्व खाद्य कार्यक्रमले सिन्धुपाल्चोक जिल्लाका ४ सय ८७ विद्यालयका ३८ हजार बालबालिकाको लागि यि सामाग्रही वितरण गरिसकिएको छ ।
स्मरण रहोस नेपाल सरकारको नीति कार्यक्रम अनुसार स्थानीय सरकार तथा विश्व खाद्य कार्यक्रमको सहकार्यमा प्रत्येक विद्यालयहरुमा बालबालिकालाई दिवा खाजा कार्यक्रम चलिरहेको छ ।