शिक्षामा बुहारीमैत्री बन्दै चौतारा साँगाचोकगढी नगरपालिका
माघ २, चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले आफ्ना नगरभित्रका बुहारीहरुलाई उच्च शिक्षा अध्ययन गर्नका लागि छात्रवृत्ति उपलव्ध गराउने भएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक नगर विकास योजना अनुसार महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा नगरपालिकाद्वारा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत बुहारीहरुलाई छात्रवृत्ति उपलव्ध गराउन लागेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै माघ ९ गतेभित्र नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा आवेदन दिन आग्रह गरेको छ । नगरपालिका भित्रका शैक्षिक संस्था र जलबीरे भ्यालि क्याम्पसमा अध्ययनरत बुहारीहरुले शीघ्र निवेदन दिन उपप्रमुख सीता थापाले आग्रह गरिन ।
थापाको अनुसार निवेदकले सम्वन्धित वडाको सिफारिस, नागरिकताको प्रतिलिपि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, अध्यायनरत शैंक्षिक संस्था एवम् क्याम्पसको सिफारिस, प्रविणताप्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, अध्ययनरत शैक्षिक संस्थाको भर्ना रसिद वा परीक्षामा सहभागी हुने प्रवेश पत्रको प्रतिलिपि र निवेदन सहित शाखामा आवेदन दिनु पर्नेछ । सम्भव त सिन्धुपाल्चोक जिल्लाका १२ स्थानीय तहमध्ये बुहारीमैत्री शैक्षिक कार्यक्रम चौतारा साँगाचोकगढी नगरपालिकाको पहिलो कार्यक्रम हुने भएको छ ।