करिब ४ सय दलित समुदायको खानेपानीको आपूर्ति पुरा हुँदै, सहजीकरणको लागि मेयरको सक्रियता

दिनेश दुलाल
पुष ६, (२०८०) चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलोसिरुवारीका ४ सय भन्दा बढी दलित समुदायको खानेपानीको आवश्यकता पुरा हुने भएको छ ।

मुहान अवलोकनको क्रममा १४ नम्बर वडाअध्यक्ष लगाएत उपभोक्तसंग छलफल गर्दै मेयर कृष्णप्रसाद सापकोटा

साविकको वडा नम्बर २ सार्की गाउँका ४ सय भन्दा बढी दलित समुदायमा केन्द्र सरकारबाट लिफ्टिङ खानेपानीको लागी विशेष अनुदानको रुपमा यो वर्ष ८० लाख रुपैया बजेट परेपछि खानेपानीको अभाव झेलीरहेका उनीहरुको माग पुरा हुने भएको छ । दुईकरोड ५० लाखको डिपीआर तयार गरी नगरपालिकाकै सिफारिस र पहल कदमीमा परेको उक्त बजेट टेन्डर आह्वानको प्रक्रियामा रहेपनि मुहान विवादका कारण टेन्डर भने हुन सकेको छैन् ।

१३ र १४ नम्बर वडाको सिमाना हाँडीखोलामा लिफ्टिङको लागि मुहान तोकिएको उक्त योजनाको १४ नम्बर वडाले दावी गरेर नगरपालिकामा उजुरी दिएपछि नगरप्रमुख कृष्णप्रसाद सापकोटा विवादित बनेको मुहान क्षेत्र अवलोकनका लागि आफैं त्याहाँ पुगेका थिए । १३ नम्बर वडाका वडाअध्यक्ष रामप्रसाद गौतम, १४ नम्बर वडाका वडाअध्यक्ष उद्वव नेपाल तथा उपभोक्ता समिति सहित शुक्रबार बिहान मुहान क्षेत्र पुगेर फर्किएका मेयर सापकोटाले लिफ्टिङको लागि दुवै वडाको मुहान क्षेत्र फरक–फरक क्षेत्रमा रहेको हुनाले कुनै समस्या नदेखिएको बताए ।

‘१४ नम्बर वडाले दावी गरेको मुहान क्षेत्र र १३ का लागि प्रस्ताव गरिएको मुहानको स्रोत अलग–अलग ठाउँमा रहेको पाईयो समस्या हल हुन्छ’, मेयर सापकोटाले भने । दुवै वडाको अधिकार क्षेत्र भित्र पर्ने सायक खोल्सीमा रहेको मुहानको स्रोत प्रयोग गर्ने र अपुग हुँदा मुख्य खोलामा बग्ने पानी प्रयोगको सन्दर्भमा समझदारी आवश्यक रहोको उनले बताए । दृघकालिन रुपमै समझदारी पत्र तयार गरी दुवै पक्षलाई केही दिनमै नगरमा बोलाएर टुङ्ग्याईने समेत उनले जानकारी दिए । १३ नम्बर वडाको अधिकार क्षेत्रभित्र रहेको सायक खोल्सीमा बग्ने पानीकै आधारमा लिफ्टिङको लागि डिपिआर तयार गरेर योजना पारिएको वडा अध्यक्ष रामप्रसाद गौतमको भनाई छ । उनका अनुसार दलित समुदायको लागि लिफ्टिङ गर्न लागिएको मुहानको स्रोत पँधेरो खोल्सा १३ नम्बर वडाभित्रै पर्दछ । जुन १४ नम्बर वडाको लिफ्टिङ खानेपानीको क्षेत्रभन्दा करिब ५ सय मिटर माथि छ ।

१४ नम्बर वडाको निर्माणधिन लिफ्टिङ खानेपानीको लागि मुख्य मुहान सिम छाँगोलाई मुख्य स्रोतको रुपमा लिएको छ भने हाँडीखोलालाई सायकको रुपमा लिएको छ । एकै स्थानमा दुई–दुई वटा लिफ्टिङ खानेपानी सञ्चालन गर्दा खानेपानी अपुग हुने समस्या देखेर आफूले नगरमा उजुरी दिएको १४ नम्बर वडाअध्यक्ष उद्वव नेपालले बताए । ‘हाम्रो उद्देश्य योजना विथोल्ने नभई खानेपानी विवादित नहोस भनेर सचेतना मात्रै गराएका हौं’, वडाअध्यक्ष नेपालले भने । उनका अनुसार केन्द्र सरकारकै योजनामा १४ नम्बर वडा अन्र्तगत डडुवा ठाँटीको लागि लिफ्टिङ खानेपानी आयोजना दुईवर्ष देखि निर्माणको चरणमा छ । यस अघि निर्माण थालिएको लिफ्टिङ खानेपानी आयोजनालाई असर नपर्नेगरी दृघकालिन रुपमै समझदारी गर्न चाहेको वडाअध्यक्ष नेपालको भनाई छ ।

दलित बस्तीको लागि सुरु गर्न लागिएको लिफ्टिङ खानेपानी पँधेरो खोल्सीकैले पुग्ने पँधेरोखेला दोभान लिफ्टिङ खानेपानी आयोजनाका अध्यक्ष देवबहादुर सार्कीको भनाई छ । मुख्य खोलाको भर नपरीकन पँधेरो खोल्सीकै पानी हिँउदमा समेत दुई ईन्ची सम्म पुग्ने भएकाले प्रयाप्त हुने उनको दावी छ । उक्त आयोजनाले १४ नम्बरबासीलाई कुनै असर नपर्ने सोही उपभोक्ता समितिका सचिव चन्द्रबहादुर धिमालकोटीको भनाई छ । उनका अनुसार पँधेरो खोला दोभानमा खानेपानीको ईन्टेक राखेर त्यसैको पाँचसय मिटर तल ६५ घनमटिरको ट्यान्की निर्माण गरी करिब ३ किलोमिटर माथि सेतीदेवी मावि विद्यालय आसपास लिफ्टिङ गरेर पु¥याईने छ । उक्त योजनाले सार्कीटोल र नेपाली टोल लगाएत डौँठेसम्मका उपभोक्ताहरुलाई खानेपानीको पहुँच पु¥याईने वडाको योजना छ । स्मरण रहोस यो समेत गरेर १३ नम्बर वडा ठूलोसिरुवारीमा ६ वटा लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा हुनेछन् ।
यसैबीच मुहान अवलोकनको सन्दर्भमा ठूलोसिरुवारी पुगेका मेयर सापकोटाले केहीदिन अघि निधन भएका मानबहादुर रानाको परिवारसंग किरियापुत्री भेटघाट तथा निर्माणधिन जलकिनी–डौंठे मोटरबाटोको अवलोकन समेत गरेका थिए ।