विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाको ३० औं वार्षिक साधारणसभा सम्पन्न

असोज १३, विन्जेल । सिन्धुपाल्चोक जिल्लाको विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य माधव सापकोटा ‘सुवोध’ को प्रमुख आतिथ्यता तथा बलेफी गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङ ‘प्रवेश’ को विशेष अतिथिमा सहकारीको उक्त साधारणसभा भएको हो ।

साधारणसभाको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सापकोटाले विन्जेल दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादनको हिसाबले जिल्लाकै प्रतिनिधित्व गरेको प्रतिक्रिया दिए । जनताको आर्थिक जीवनस्तर उकास्न दुग्ध व्यवसायले ठूलो मद्दत पुगेको भन्दै त्यसको विकास र विस्तारमा जोडदिन सरकारले विशेष ध्यान दिन आश्यक रहेको औंल्याए । त्यस्तै विशेष अतिथि रहेका गाउँपालिका अध्यक्ष तामाङले किसानलाई लक्षित गरी गाउँपालिकाले दुग्ध उत्पादक किसानहरुलाई थप हौसला प्रदान गर्न विशेष अनुदानको व्यवस्था गरिने उदघोष गरे ।

कार्यक्रममा अन्य अतिथिहरुले ३० औं साधारणसभाको शुभकामना मन्तव्य राखेका थिए । औपचारिक कार्यक्रम सकिएसंगै शेयर सदस्यहरुका बीचमा आर्थिक प्रतिवेदन पारित गरिनुका साथै नीति तथा कार्यक्रम प्रस्तुत गरिएको सहकारीका व्यवस्थापक द्वारिका नेपालले जानकारी दिए । उनका अनुसार प्रस्तुत नीति तथा कार्यक्रममा कृषक पेन्सन कार्यक्रम, सदस्यलाई भुक्तानी तथा अन्य सम्पूर्ण कारोबार वैंक मार्फत भुक्तानी गर्ने व्यवस्था, संस्थामा दुग्धजन्य संस्थामै प्रशोधन गरी विक्री वितरण गरी आफ्नै प्रशोधन केन्द्र निर्माण, कृषकलाई अवलोकन भ्रमण र पशुपालनमा जोड लगाएत विषयहरु पारित गरिएको उनले बताए ।

सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका वडा नं. ४ स्थित बिन्जेल दुग्ध उत्पादनको हिसाबले जिल्लाककै नमुना देखिएको छ । सोही अनुसार बलेफी गाउँपालिकाले पनि बिन्जेललाई नै केन्द्रित गरेको छ ।
गाउँपालिकाले कृषक स्तरमा भैंसी पालन सम्बन्धि तालिम संगै भैंसी प्रबर्द्धन कार्यक्रम समेत पालिकाले गरिसकेको छ । पालिकाले सहकारी मार्फत दुग्ध उत्पादक किसानहरुलाई अनुदान दिएको छ ।

बिन्जेल दुग्ध उत्पादक संस्थाका अध्यक्ष यदुनाथ नेपालका अनुसार अनुसार बिन्जेलमा मात्रै उक्त दुग्ध सहकारी मार्फत सिजनमा २००० लिटर सम्म र हिउँदमा १२ सय लिटर सम्म दुध उत्पादन हुने गर्छ । गाउँपालिका दुग्ध उत्पादनको हिसाबले आत्म निर्भर देखिन्छ ।
३० औं साधारणसभा कार्यक्रमको सभापतित्व यदुनाथ नेपाल रहेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष हरीप्रसाद तिमिल्सिनाले गरेका थिए भने स्वागत मन्तव्य व्यवस्थापक द्वारिका नेपालले गरेका थिए । स्थानीय राजनैतिक दल तथा संस्थामा आवद्व किसानको बाक्लो उपस्थिति रहेको थियो । सोही अवसरमा दुग्ध उत्पादक उत्कृष्ट किसान तथा सहकारीमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।