माओवादीबाट विद्रोह गरेका शेर्पा युवा कोटाबाट एमाले बागमती प्रदेश कमिटीमा निर्वाचित
असोज १३, सिन्धुपाल्चोक । पूर्वनिर्धारित कार्यक्रमभन्दा बढी समय खर्च गरेर एमाले वाग्मती प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । ८–९ असोजका लागि तोकिएको अधिवेशन लम्बिएर १२ गते सकिएको हो । अधिवेशनबाट सिन्धुपाल्चोकका १४ जना नेता बागमती प्रदेश कमिटीमा निर्वाचित भएका छन् । सबै नेताको आफ्नै इतिहास र योग्यता छ । जसमध्ये भोटेकोसी गाउँपालिका वडा नं ४ नारायणथान निवासी ३७ वर्षीय आङछिरी शेर्पा अधिवेशनभर सबैको नजरमा परे । उनी दुई वर्ष अघि माओवादी केन्द्रबाट विद्रोह गरेका भोटेकोशी गाउँपालिकाका अब्बल नेता हुन् ।
शेर्पा २०७१ मा खाडिचौरको अक्करमा माओवादीको जिल्ला अधिवेशन हुँदा उनले लोकप्रिय मत ल्याएर जिल्ला सदस्य जितेका थिए । उनी माओवादीको केन्द्रीय सदस्यसमेत भए । तर, राजनीतिमा उनको संघर्ष र विद्रोह जारी रह्यो । माओवादी भित्रका केही नेताहरूको तानाशाही प्रवृत्तिले लामो समय त्यहाँ रहन सकेनन् । अन्नत त्याहाँबाट विद्रोह गरेर नेकपा(एमाले) मा समाहित भए । चीनसँगको सीमानमा पर्ने उनको गाउँ र आसपासमा शेर्पालाई भविष्यको उदाउँदो नेताको रुपमा लिन्छन् ।
सिन्धुपाल्चोक एमाले हाँक्ने टिममा शेर्पा निर्विवाद पर्न सफल भए । सिन्धुपाल्चोक निर्वाचन क्षेत्रअन्तर्गत उनी युवाबाट सर्वसम्मत निर्वाचित हुन सफल भए । क्षमता, काम गर्ने शैली, नम्र भएर जनतामा जाने र स्पष्ट विचारसहित नेतृत्व लिन खरो उत्रने स्वभाव भएकोले उनी प्रदेश कमिटीमा समेटिन सफल भएका हुन् । कम्युनिस्ट राजनीतिमा दशक समय सक्रिय भएता पनि एमालेमा कम समयमै शेर्पा नेतृत्व लिने ठाउँमा पुगेका छन् । विशाल संगठन रहेको एमालेको १४ जना सदस्य छानिँदा शेर्पा युवाको प्रतिनिधित्व गरिँदै छानिनु राजनीतिक हिसाबले छलाङ भएको एमालेका नेताकार्यकर्ता बताउँछन् ।
क्षेत्र न. १ बाट सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्र प्रसाद तिमिल्सिना, बाह्रबिसे नगरपालिका पूर्वमेयर निम्फुन्जो शेर्पा, लिसंखुपाखर गाउँपालिका पूर्वउपाध्यक्ष हेमगंगा मोक्तान, क्षेत्र न. –२ बाट नेताहरु इन्द्र नेपाल, देविन्द्र बहादुर खत्री पूर्वसभासद डोल्मा तामाङ सर्वसहमत निर्वाचन भएका छन् ।
त्यस्तै सिन्धुपाल्चोक खुलाबाट इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, नेता बालकृष्ण देउजा, पूर्वमाओवादी कमाण्डर विदुर भारती सर्वसम्मत निर्वाचित भएका छन् । दलितबाट रामबहादुर सुनुवार, महिलाबाट मेलम्ची नगरपालिका उपमेयर उमा प्रधान र पूर्वजिसस उपप्रमुख बालकुमारी सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । युवा संघ नेपालका पूर्वकेन्द्रीय नेता अशोक चौँलागाइँ खुला उम्मेदवारी दिएर चुनावी प्रक्रियाबाट निर्वाचित भएका छन् । यी १४ अनुहारले अब सिन्धुपाल्चोक एमाले हाँक्नेछन् । सिन्धुपाल्चोकमा ११ पालिका मध्ये एमालेले त्रिपुरासुन्दरी गाउँपालिकामा मात्र पालिका अधिवेशन सम्पन्न गरेको छ ।