एमालेको पालिका अधिवेशन ः सिन्धुपाल्चोकमा सुरु, त्रिपुराको अध्यक्षमा बासु अधिकारी

भदौ २४, पिस्कर । नेकपा एमालेले सिन्धुपाल्चोकका स्थानीय तहमा पालिका अधिवेशन सुरुवात गरेको छ । एमालेले पालिका अधिवेशन त्रिपुरासुन्दरी गाउँपालिकाबाट सुरुवात गरेको हो । शनिबार अबेर सम्पन्न दोस्रो धिवेशनले बासु अधिकारीको नेतृत्वमा ४३ सदस्यीय पालिका कमिटि गठन गरिएको एमाले जिल्ला नेता सुकदेव रिसालले जानकारी दिए ।

अधिवेशनबाट नेतृत्व तहमा पुगेका अधिकांश नयाँ अनुहार छन् । नेतृत्वलाई लिएर सुरुमा केही विवाद भएपनि अधिवेशनले पदाधिकारी देखी सदस्य सम्म सर्वसम्मत टुंग्याएको एमालेले जनाएको छ ।

पालिका अधिवेशनको उदघाटन पार्टीका स्थायी कमिटिका सदस्य एवम् अनुशासन विभागका प्रमुख अमृत कुमार बोहोराले गरेका थिए । त्यस्तै विशेष अतिथि केन्द्रीय नेता एवम काभ्रे जिल्लाका संघीय सांसद गोकुल बास्कोटा रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि बोहोराले नेकपा एमाले कमजोर नभएको र मुलुककै सबैभन्दा शक्तिशाली पार्टी भएको बताउँदै पार्टीभित्र एकढिक्का भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए । त्यस्तै सांसद बास्कोटाले पार्टी विभाजन गर्ने र पार्टीलाई यो अवस्थासम्म ल्याउनका लागि देशी–विदेशी प्रतिक्रियावादी शक्तिले नभई माधव नेपालले पार्टी टुक्र्याउने र सरकार ढाल्ने काम गरेको आरोप लगाए । कांग्रेस र माओवादी सम्मिलित गठबन्धन सरकार मुलुकको लागि र्दुभाग्य रहेको समेत उनले टिप्पणी गरे । कार्यक्रममा पोलिटव्युरो सदस्य अरुण नेपाल, सुभाष कर्मचार्य लगाएत जिल्ला नेताहरुले सम्बोधन गरेका थिए ।

यसैबीच एमालेले बाँकी रहेका पालिकाहरुमा असोज भित्र अधिवेशन गरिसक्ने जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।