
पुरानै शैलीमा चौताराको ऐतिहासिक कृष्ण मन्दिरको निर्माण सम्पन्न

भदौ २० (२०८०), चौतारा । चौतारा पुरानो बजारस्थित १ सय १५ वर्ष पुरानो ऐतिहासिक एवम पुरातत्विक महत्व बोकेको कृष्ण मन्दिर पुरानै ढाँचामा निर्माण गरिएको छ ।
करिब ६ महिनाकै अवधिमा निर्माण सम्पन्न गरिएको उक्त मन्दिरको निर्वतमान सभामुख अग्नी प्रसाद सापकोटाले विधिवत रुपमा उदघाटन गरेका हुन् । वि.स १९६४ सालमा निर्मित धार्मिक, ऐतिहासिक एवम् पुरातात्विक महत्वको श्रीकृष्ण मन्दिर वि.स २०७२ सालको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षति भएको थियो । त्यसपछि पुरातात्विक विभागको सहयोग तथा श्रीकृष्ण गुठीको समन्वयमा वि.स २०७९ फागुन २ गते शिल्यान्यास गरी पुननिर्माण थालिएको थियो ।
श्रीकृष्ण जन्माअष्टमीको अवसर पारेर आज उक्त मन्दिरको उदघाटन सापकोटाले रिवन काटेर गरेका थिए । मन्दिर उदघाटन पछिको मन्तव्यलाई सम्बोधन गर्दै सापकोटाले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्व बोकेका जिल्लाका अन्य मन्दिरहरुको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरुलाई संरक्षण, सम्वद्र्धन गर्नु पर्ने धारणा राख्दै सापकोटाले भने, ‘सस्कृति भनेको हाम्रो आत्म हो, परम्परा संस्कृतिलाई जोगाईराख्नु आवश्यक छ ।’ जनताका आ–आफनै पराम्परा संस्कृति रहेको कारण तिनीहरुलाई जोगाई राख्न आवश्यक रहेको उनले औंल्याए । यस्तै कार्यक्रमलाई सम्बोधन गदै चौतारा सागाचोकगढि नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिकाले आफ्ना नगरभित्र रहेका पुरातात्विक सम्पदाको संरक्षणमा सधै लागिरहने बताए । ‘यो हाम्रै सम्पत्ति हो, यसको जगेर्ना हामी आफैँले गर्नुपर्दछ,’ सापकोटाले भने ।
छोटो समयमै ऐतिहासिक पुरातात्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्व बोकेको यो मन्दिर पुनःनिमार्ण भएकोमा खुसी व्यक्त गर्दै निर्माण कार्य सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागी पर्नुहुने सम्पुर्णमा धन्यवाद समेत व्यक्त गरे । लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवम् पुरातात्विक महत्व भएका सम्पदाहरूलाई पुनःजीवन दिनु जरुरी भएको उनकोृ तर्क छ । निकै लामो समय पछि कृष्ण मन्दिर बनेपछि स्थानीय खुशी भएका छन् । पुरातत्त्व विभाग काठमाडौँद्वारा २ करोड लागतमा मन्दिर बनेको हो ।
मन्दिर निर्माणमा प्रयोग गर्ने सामाग्री र मन्दिरको शैली पुरानो डिजाइनकै छ । प्यगोडा शैलीको मन्दिर रहेको छ । हरेक कृष्ण जन्माष्टमीको अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । यसवर्ष पनि बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।