हेलम्बु पाँचौ राष्ट्रपति रनिङ सिल्डको उपाधि याङग्रीमा आवशीय विद्यालयलाई
फागुन ४, किउल (सिन्धुपाल्चोक) । हेलम्बु गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ सिल्डको प्रथम उपाधि हेलम्बु गाउँपालिकाको शेर्माथान स्थित याङग्रीमा आवशीय माध्यामिक विद्यालयले हात पारेको छ ।
याङग्रीमा आवशीय विद्यालयले १५ स्वर्ण, २ रजत र २ कास्य सहित प्रथम भएको हो । त्यसैगरी नोर्वुलिङ मानेचौर माध्यामिक विद्यालयले ४ स्वर्ण, ९ रजत र ३ कास्य सहित द्वितीय र सरस्वती माध्यामिक विद्यालयले ३ स्वर्ण, ७ रजत र ३ कास्य सहित तृतीय भएको छ ।
समापन कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछाने प्रमुख आतिथ्यता तथा शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत विश्वनाथ भण्डारीको सधाअध्यक्षतामा भएको उक्त कार्यक्रममा विजयी खेलाडी तथा विद्यालयलाई प्रमुख अतिथि लामिछानेले मेडल सहित पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन । पुरस्कार वितरण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै पालिका उपाध्यक्ष लामिछानेले खेलकुद क्षेत्रलाई हेलम्बु गाउँपालिकाले विशेष महत्वका साथ कार्यक्रम आयोजना गरिएको बताईन । मोडेल विद्यालयको अवधारणा ल्याएको हेलम्बुले खेलकुद क्षेत्रलाई विकास गर्न उत्तिकै लगानी गरिने प्रतिवद्वता जनाईन । पालिकाले खेलकुद क्षेत्रका सबै विधाहरुलाई महत्व दिई प्रत्येक विद्यालयहरुमा आगमी वर्ष प्रोत्साहन स्वरुप बजेटको व्यवस्था गरिने पालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईले बचन दिए ।
कार्यक्रम हेलम्बु–४ को मेलम्ची भ्याली क्याम्पसको चिलाउने घारी खेल मैदानमा भएकोे हो । शिक्षा तथा खेलकुद विकास शाखाका अनुसार ३ गतेबाट सुरु भएको प्रतियोगितामा दुई निजी विद्यालय सहित ११ सामुदायिक विद्यालयहरु सहभागी रहेका थिए । जसमा ईचोक मावि, जयबागेश्वरी मावि, सर्वोदय मावि, नोर्वलिङ मानेचौर मावि, गोल्मादेवी मावि, याङग्रीमा आवशीय मावि, सरस्वती मावि, हेलम्बु नमुना मावि, महेन्द्र मावि, भुमेशवरी मावि र ईस्टप्वाईन्ट वोर्डिङ सहभागी भएका थिए ।
खेलकुदका कार्यक्रमहरुमा एथलेटिक तर्फ १००, २००, ४००, ८००, १५०० र ३००० हजार मिटर दौड रहेको थियो । त्यस्तै रिले ४–१००, ४–४०० मिटर, हाईजम्प, लङजम्म, त्रिपलजम्म, ज्याबिङ थ्रो, सटफुट तथा भलिबल गरी एकदर्जन जति विधामा प्रतियोगिता भएको हो ।
खेलकुदको उदघाटन कार्यक्रममा पालिका कार्यवाहक अध्यक्ष दावा ग्याल्जेन लामाको प्रमुख आतिथ्य तथा पालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराईको विशेष आतिथ्यमा भएको थियो ।