शिक्षक छनौटमा लिसंखुपाखरको नयाँ अभ्यास, भनसुनले हैन, योग्यतालाई पहिलो प्राथमिकता

दिनेश दुलाल
माघ ७, लिसंखु (सिन्धुपाल्चोक) । सरकारी होस वा निजी, अझैपनि दल वा नेताहरुको प्रभावमा राम्रा मान्छे होईन हाम्रा मान्छे राख्ने परिपाटी छ । यो समस्या शिक्षा क्षेत्रमा पनि व्यापक देखिन्छ । क्षिक्षक छनौट गर्दा राजनीति पँहुचको आधारमा भर्ति गर्ने कुरा सामान्य भईसक्यो । तर जिल्लाको लिसंखुपाखर गाउँपालिकाले भने शिक्षक छनौटमा नयाँ अभ्यासको थालनी गरेको जनाएको छ । उसले शिक्षक छनौटलाई भनसुनले होईन योग्यतालाई पहिलो प्राथमिकता राखिने जनाएको छ ।

शिक्षक सेवा आयोगको परिक्षामा वैकल्पिक तथा अस्थायी करार योग्यताक्रमको सुचिमा रहेका उम्मेदवारहरुलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखि स्वच्छता र प्रतिस्पर्धाको अनुशरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मंगल विष्टले सिन्धुज्वालालाई बताए । गाउँपालिकामा करारका कर्मचारी छनौट गर्दा नेताका मान्छे राख्ने प्रवृत्तिको निराकरण गरिएको उनको दावी छ । ‘ शिक्षक सेवा आयोगको परिक्षामा वैकल्पिक तथा अस्थायी करार योग्यताक्रमको सुचिमा रहेका उम्मेदवारहरुलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेको छ’, प्रमुख प्रशासकीय अधिकृत विष्टले भने ।

उनका अनुसार गाउँपालिकाले करार सेवामा शिक्षक पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गरेर शिक्षा सेवा आयोग सानोठिमी भक्तपुरले पौष २० गते प्रकाशित गरेको माध्यमिक तह तृतीय श्रेणी पदको बागमति प्रदेश करार योग्यताक्रम सूचिमा रहेका विज्ञान र गणित विषयका उम्मेदवारहरुलाई आह्वान गरिएको हो ।

आठौं दिनदेखि तोकिएको मितिभित्र निवेदन दिने उम्मेदवारहरु मध्येबाट योग्यताक्रम अनुसार करारमा नियुक्ति दिनको लागि सिफरिस गरिने समेत जारी सूचनामा उल्लेख छ । यदि करार योग्यताक्रम सूचिमा परेका उम्मेदवारहरुको निवेदन पेश हुन नआएमा परिक्षा प्रणालीद्वारा पदपूर्ति गरिने समेत गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । गाउँपालिकाले वुद्वोदय मावि र ककलिङ हरिसिद्वि माविको लागि शिक्षक पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो ।