
२४ वर्ष पछि फरार अभियुक्त पक्राउ पछि रिहा

पुष १, चौतारा । ठगी मुद्दामा दोषी ठहर गरिएका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पक्राउ गरेको छ । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ गुन्साका ५५ वर्षीय बृषबहादुर गोले तामाङलाई फरार रहेको २४ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालतको २०५५ असार १० गतेको फैसलाले ठगि मुद्दामा जरिवाना ५३ हजार ४ सय २५ रुपैंया सजाँय तोकेको थियो । तर उनी त्यहिबेला देखि फरार रहेका थिए । फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले काठमाण्डौ गोकर्णेश्वर नगरपालिका वडा न.४ स्थित माकलवारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक शिवकुमार बुढाथोकीले जानकारी दिए । पक्राउ परेका अभियुक्त तामाङलाई बिहिबार नै सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएकोमा निजको जरिवाना असुल भएपछि रिहा गरिएको प्रनाउ बुढाथोकीले जानकारी दिए ।